वीरगंज : कोरोना महामारीको कारण २०७६ चैत ११ गतेदेखि बन्द रहेका वीरगंजका सिनेमा हलहरू तीन महिना अगाडि मात्रै खुलेका थिए। तर, दर्शकको अभावमा सिनेमा हलहरू अहिले धमाधम बन्द हुन थालेका छन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोनाको कारण भीड नगर्न र सिनेमा हललगायतका स्थानहरू बेलुकी ७ बजेपछि बन्द गर्न वैशाख २ गते सूचना जारी गरे पनि त्यसअघि नै दर्शकको अभावमा वीरगंजका सिनेमा हलहरू प्रभावित भएका हुन्। वीरगंजमा रहेका चारवटा सिनेमा हलमध्ये दुईवटा एक महिनाअगाडिदेखि बन्द छन् भने दुई वटा सञ्चालनमा रहे पनि दर्शक सङ्ख्या न्यून छ।
वीरगंज-११ श्रीपुरस्थित त्रिमूर्ति सिनेमा हल कोरोनापछि तीन महिनाअघि सञ्चालनमा आए पनि दर्शक नहुँदा एक महिना अगाडिदेखि बन्द छ। नेपाली, हिन्दी, भोजपुरी भाषाका चलचित्र प्रदर्शन हुने सिनेमा हलमा तीनैवटै भाषाका चलचित्र गत एक वर्षदेखि रिलिज नभएको र पुरानो चलचित्र हेर्न दर्शकहरू नआउँदा सिनेमा हल बन्द गर्नुपरेको सञ्चालकले बताएका छन्।
वीरगंज-१२ मा रहेको ए-म्याक्स सिनेमा हलका सञ्चालक अनिल सर्राफले दुई साताअगाडिदेखि हलमा दर्शक नआउँदा चलचित्र प्रदर्शन नभएको बताए। उनले कोरोनाको सङ्क्रमण बढेसँगै हल बन्द भएको ९ महिनापछि खुलेको तर दर्शक नआउँदा चलचित्र प्रदर्शनमा समस्या आएको बताए।
उनले कोरोनापछि खुलेका हलमा दुई प्रतिशत पनि दर्शक नआउने गरेको कारण दुई साताअगाडि बन्द गर्नुपरेको बताए। अहिले वीरगंजका श्रीराम पिक्चर प्यालेस र बजरङ्ग टाकिज मात्र सञ्चालनमा छन्। तर, त्यहाँ दर्शक सङ्ख्या १०-२० जनाभन्दा बढी हुँदैन।
कोरोनाअगाडि पनि हलको व्यापार सुस्त भएको थियो। नयाँ प्रदर्शित हुने सिनेमा हेर्न दर्शकहरूको एक/दुई दिन भीड हुने तथा त्यसपछि हल खाली हुने गरेको सञ्चालकहरू बताउँछन। घर-घरमा टिभी, हात-हातमा मोबाइल र इन्टरनेटबाट नयाँ चलचित्रहरू हेर्ने बानी बसाएका दर्शकहरू हलमा धाउन छाडेका थिए। त्यसमा कोरोनाले सिनेमा हललाई थप प्रभावित पारेको हो।
