PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

जितपुर सिमरा गोल्डकप : आयोजक नव जनजागृति सेमीफाइनलमा



राधेश्याम पटेल

जितपुर सिमरा गोल्डकप : आयोजक नव जनजागृति सेमीफाइनलमा

वीरगंज : हिमालयन शेर्पाविरुद्ध जित हात पार्दै आयोजक नवजनजागृति यूवा क्लब विश्वकर्मा ११औं जीतपुरसिमरा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ।

शनिवार साँझ सम्पन्न खेलमा सिमराको जितका लागि अफ्रिकी स्ट्राइकर लुइस भिडाल, सकल रेग्मी र डोना थापाले गोल गरे। हिमालयन शेर्पाका लागि पूर्ण गुरुङ र रवि रानाले गोल गरे।

घरेलु दर्शकको समर्थन पाएको सिमरा विरुद्ध लिएको शूरुवाती अग्रता जोगाउन नसक्दा हिमालयन शेर्पा क्वाटरफाइनलबाटै बाहिरीयो। तुलनात्मक रुपमा कमजोर सिमराविरुद्ध खेलको १९ औं मिनटमा पूर्ण गुरुङको गोलमा हिमालयन शेर्पाले अग्रता बनाएको थियो।

खेलमा १–० ले पछि परेको सिमराले आक्रामक खेल प्रस्तुत गर्दै पाँच मिनेट भित्रै हिमालयन शेर्पाविरुद्ध  दुई गोल गरेर अग्रता बनायो। खेलको २४ औं मिनटमा अफ्रिकी स्ट्राइकर लुइस बिडालले गोल गरे। लगतै २५ औं मिनटमा डोना थापाले गोल गर्दै शेर्पालाई दबाबमा राख्यो।

६३ औं मिनटमा सिमराका सकल रेग्मीले गोल गर्दै सिमराको अग्रता फराकिलो पारे। लुइस बिडालको सुन्दर पासलाई डिबक्स बाहिरबाट सकलले गरेको पहिलो प्रहार हिमालयन शेर्पाका गोल रक्षक छिरिङ लामाले बचाएपनि सम्हाल्न नसक्दा रिवाउण्ड बललाई सकलले गोलमा परिणत गरे।

अन्तिम समयमा सिमराविरुद्ध आक्रामक बनेको हिमालयन शेर्पाका लागि रवि रानाले ८८ औं मिनटमा फ्रिकिक गोल गरे। हिमालयन शेर्पाका पूर्ण गुरुङलाई सिमराका अफ्रिकी खेलाडीले फाउल गरेपछि पाएको फ्रिकिकलाई झण्डै २५ यार्डबाट रविले गोलमा परिणत गरेपनि टिमको हार टार्न सकेनन्।

दोश्रो हाफमा हिमालयन शेर्पाले बनाएका केही राम्रा अवसर गोलमा परिणत हुन  सकेन। ५४ औं मिनटमा हिमालयन शेर्पाका पूर्ण गुरुङको प्रहारलाई सिमराका डिफेण्डर रोहन तामाङ क्लिएर गरे। डिबक्स भित्र किपर समेत विट भइसकेको अवस्थामा गोललाइनबाट रोहनले बल क्लिएर गर्दै हिमालयन शेर्पालाई बराबरी गोल गर्नबाट रोके।

६४ औं मिनटमा हिमालयन शेर्पाले अर्को सुन्दर अवसर गुमायो। पूर्ण गुरुङको क्रसपासमा कमल थापा मगरले डिबक्स बाहिरबाट गरेको सशक्त प्रहार सिमराका गोलरक्षक सुवास बलले उत्कृष्ट बचाउ गरे। ८९ औं मिनटमा कैलाश बस्नेतको प्रहार पोष्ट नजिकबाट बाहिरीयो त्यस लगतै खेलको ९० औं मिनटमा हिमालयन शेर्पाले पाएको अर्को अवसरपनि खेर गयो। डिबक्स भित्रैबाट वर्तमान राईले गरेको सशक्त प्रहार सिमराका गोलरक्षकले बचाए।

खेलको म्यान अफ दि म्याच सिमराका गोलरक्षक सुवास बल घोषित भए। उनले पाँचहजार नगद र ट्रफी प्राप्त गरे। आइतबार हुने दोश्रो क्वाटरफाइनलमा त्रिभूवन आर्मी क्लबले अफ्रिकन रुट्स एशोसिएसन क्यामरुनको सामना गर्दैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell