PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

मोतिपुर औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्न रातिबाटै लाइन, चुना र डोरीले घेरा हाल्दै धमाधम प्लटिङ पनि सुरु



पूजा पन्थी

मोतिपुर औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्न रातिबाटै लाइन, चुना र डोरीले घेरा हाल्दै धमाधम प्लटिङ पनि सुरु

बुटवल : रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा विभिन्न क्षेत्रबाट मानिसहरु जम्मा भएर जग्गा कब्जा गर्ने तयारीमा लागेका छन्। शनिवार बिहानदेखि आएका स्थानीयलाई प्रशासनको सहयोगमा प्रहरीले दिउँसो २ बजेसम्म लगाएर हटाएको थियो।

तर गए रातिदेखि पुन सयौंको संख्यामा पुगेर आफुहरु जग्गा पाईन्छ भनेर आएको यमकुमारी गाहले बताइन्। मजदुरी गर्ने क्रममा जग्गा बाँड्दैछ भन्ने खबर सुनेर राति नै मोतिपुर आइपुगेको उनले बताइन्। 'कसले बोलाएको हो?' भन्ने बिषयमा भने उनीहरुले अनविज्ञता जनाए।

यता बुटवल औद्योगिक क्षेत्र उद्योग संघका अध्यक्ष हिरामणी भट्टराई भने यो विषयमा कुनै जानकारी नै नभएको तर्क गर्छन्। उनले यस विषयमा सत्यतथ्य छानबिन गरिने बताए।

बुटवल औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका कार्यालय प्रमुख निमेश अधिकारीले मोतिपुरमा बसिरहेका र संघर्ष गरिरहेका नभई अन्यत्रबाट आएर कब्जा गर्न खोजेको बताउछन्। उनले भने, 'हामीले हिजो बिहान आएर कब्जा गर्दैछन् भन्ने थाहा पाएर प्रशासनलाई खबर गर्‍यौं। प्रशासनले सम्झाईबुझाई गरि फर्कायो, फेरि रातिदेखि आएर बसेको खबर आएको छ, हामी प्रशासनसँगै गएर व्यवस्थापन गर्छौ।'

कार्यालय प्रमुख अधिकारीले संघर्ष समितीसँग नियमित सम्पर्कमा रहेको बताउँदै उनले सरकारी जग्गा कब्जा गर्नु गलत भएको बताए।

यता रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले सरकारी जग्गा कुनै पनि हालतमा कब्जा हुन नदिने बताए। उनले अहिलेको अवस्थामा पनि सुकुम्बासीको नाममा जग्गा कब्जा गर्नु गलत भएको बताउँदै उनले मोतिपुर औद्योगिक क्षेत्रजस्तो महत्वपूर्ण क्षेत्र बन्न लागेकोले सबैले यसलाई सहयोग गर्नुपर्ने बताए। उनले आएका व्यक्तिहरुलाइ तत्कालको लागि सम्झाई बुझाई गरेर फर्काउने बताए।

नयाँ गाउँ, बेलवास, गोलपार्क, बुद्धनगर, मजुवा, दिपनगर लगायतका ठाउँबाट आएकाहरुले मोतिपुर करिडोरको बि ब्लकको जग्गामा चुना र डोरीले घेरा हालेर प्लटिङ गरेका छन्।

औद्योगिक क्षेत्रको शिलान्यासका क्रममा यस क्षेत्रमा विवाद भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell