PahiloPost

Dec 28, 2024 | १३ पुष २०८१

'येँ देय् म्हसीके' पढाउन तयार छन् शिक्षकहरू



सहयोग रञ्जित

'येँ देय् म्हसीके' पढाउन तयार छन् शिक्षकहरू
तस्विर : आनन्‍द के महर्जन

य:मरि च्वामु, उकी दुने हाकु

ब्यूसा माकु, मब्यूसा फाकु

ब्यूम्ह ल्यासे, मब्यूम्ह बुरिकुति।।

काठमाडौं महानगरपालिकाले यही शैक्षिक सत्रदेखि लागू गरेको स्थानीय पाठ्यक्रम 'येँ देय् म्हसीके' को कक्षा १ को पहिलो एकाइमा राखिएको य:मरिबारे प्रचलित गीत हो यो। सुरुमा पाठ्यक्रममा रहेको यो गीत हेर्दा सिर्जना मानन्धरलाई विद्यार्थीलाई कसरी बुझाउन सकिन्छ होला र जस्तो लागेको थियो। तर, अहिले सहायक प्रशिक्षण (स्यनामि) मा छनौट भएर प्रशिक्षण लिइरहँदा भने उनमा य:मरिको बारेमा मात्रै नभइ अन्य एकाइहरूलाई पनि सरल ढंगले बुझाउन सक्ने हिम्मत आएको छ।

केही दिनदेखि दरबार हाइस्कूलको एउटा कोठामा नेपालभाषा सहायक प्रशिक्षकमा छनौट भएकाहरू बिहानै भेला हुन्छन्। र, पाठ्यक्रमको बारेमा छलफल गर्छन्। चार्ट पेपर, किताब कलम बोकेर किताबका हरेक एकाइको प्रयोगात्मक प्रशिक्षण लिन्छन्। नेवार बालबालिकाले नै नेपालभाषा बोल्न कम हुँदै गइरहेको अवस्थामा गैर नेवार बालबालिकाको अगाडि उभिन कसरी तयारी गर्ने भन्ने बारेमा कुराकानी गर्छन्।


बहा: बारे प्रिजेन्टेशन दिँदै सिर्जना मानन्धर


त्यही समूहमा छिन् सिर्जना। करिब २२ वर्षदेखि शिक्षण पेशमा संलग्न उनी यसअघि लखतीर्थस्थित जगत सुन्दर ब्वनेकुथिमा अध्यापन गराउँथिन्। अहिले भने उनी स्थानीष भाषा (नेपालभाषा)मा स्थानीय पाठ्यक्रम पढाउन आफैँ अध्ययनमा जुट्दैछिन्। भाषासेवी गणेश सायमिकी छोरी उनी अब बुबाको सपना पूरा गर्न आफू अघि बढेको बताउँछिन्।

'घरमा छोरा नेपालभाषा त बुझ्छ तर राम्ररी बोल्दैन। मैले प्रयास गर्दागर्दै असफल भएँ। यो देख्दा मन खिन्न हुन्छ। अब नेपालभाषा पढाउन सुरु गरेपछि म जसरी भए पनि उनीहरूलाई थौरै नै सहि शुद्ध भाषा बोल्न प्रयास गराउनेछु,' उनले भनिन्।

दरबार हाइस्कुलमा उनीसँगै करिब ३० जना करिब एक सातादेखि प्रशिक्षणमा व्यस्त छन्। प्रशिक्षणमा गैर नेवार समुदायबाट समेत सहभागी छन्।

तीमध्ये एक हुन् अदृशा चौधरी। थारु समुदायको भए पनि उनको रहनसहन काठमाडौंमा भयो। यहीँको भाषा राम्ररी बुझेकी उनी अहिले नेपालभाषा पढाउन अघि सरेकी हुन्।

'यो एक समुदायको मात्र भाषा होइन। काठमाडौंको भाषा हो। यो बुझेर केही बिग्रिँदैन। अब यो भाषाको जगेर्नामा बल पुग्नेछ,' उनले भनिन्।

हाल दरबार हाइस्कुलसहित अन्य ६ वटा विद्यालयहरूमा नेपालभाषा सहायक प्रशिक्षणमा छनौट भएका करिब १८० जना हरेक दिन पाठ्यक्रमबारे छलफलमा जुटिरहेका छन्। जसमा चौधरी जस्तै नेपालभाषासँग राम्ररी भिजेका गैर नेवारहरू समेत छन्।

नेवा: स्यनामि दबूको प्राविधिक सहयोगमा भइरहेको नेपालभाषा प्रशिक्षण सहायक तालिममा सहभागी भइरहेकाहरू आउने केही दिनमै काठमाडौं महानगरभित्र रहेका सामुदायिक विद्यालयमा पुग्नेछन्। त्यहाँ पुग्दा सबैभन्दा ठूलो चुनौती भनेको नयाँ परिवेशमा पाठ्यक्रम पढाउनु हो।

प्रशिक्षणमा सहभागी भइरहेकी नितु डंगोल भोलि विद्यालय जाने बित्तिकै नेपालभाषामै पढाउने नभइ पहिला नेपालीबाट नै बुझाउने र त्यसपछि बिस्तारै नेपालभाषामा अध्ययन अघि बढाउने बताउँछिन्।

'भोलि जाने बित्तिकै नेपालभाषा पढाउने होइन। पहिला नेपालीमै बुझाउने प्रयास गर्ने हो,' पूर्व मिस नेवा: समेत रहेकी डंगोलले भनिन्, कसरी पढाउने भन्ने बारेमा हामी लेसन प्लान बनाउँदैछौं। पढाउन सकिन्छ जस्तो लाग्छ तर के हुन्छ भनेर त्‍यहाँ गइसकेपछि नै थाहा हुन्छ।'

काठमाडौं महानगरपालिकाले स्थानीय पाठ्यक्रम लागू गरेपछि आलोचना गर्नेहरु पनि नभएको होइन। भाषा लाद्न खोजेको र रञ्जना लिपिमा नै पढाउने भन्ने विरोध गर्नेहरु पनि थिए। तर, 'येँ देय् म्हसीके' नेपालभाषाको भार बोकाउन नभइ स्थानीय विषयलाई स्थानीय भाषालाई माध्यम भाषा बनाएर पढाउन खोजिएको सरोकारवालाहरू बताउँछन्। देवनागरी लिपिमा नै पाठ्यक्रम भएको भन्दै यसले नेपाली भाषालाई समेत टेवा दिने उनीहरू बताउँछन्।

स्थानीय पाठ्यक्रम निर्माण समितिमा रहेका वरुण वैद्य अहिले 'स्यनामि' हरूलाई कक्षामा कसरी प्रस्तुत हुने, प्रयोगात्मक कक्षा कसरी लिने लगायतका विषयमा प्रशिक्षण दिइरहेको बताउँछन्।

'अहिले नेपालभाषा बोल्ने मात्रै होइन, लेख्न पनि हामीले जोड दिइरहेका छैनौं। नेवार भए पनि लेख्ने र पढ्ने संस्कृति विकास भएको छैन। त्यसैले यो किताबमा भाषा एकाइमा बालबालिकाहरूलाई बुझ्ने गरि पाठ्यक्रम विकास गरिएको छ। दोस्रो चरणको तालिमा हामी नेपाल भाषा, बोल्ने लेख्ने पढ्नेबारे बुझाउनेछौं,' उनले भने।

अहिले पाठ्यपुस्तकमा भएको विषयवस्तु कसरी विद्यार्थीहरूलाई 'डेलिभर' गर्ने, के कस्ता वस्तु देखाएर एकाइमा रहेका कुराहरू बुझाउने भन्ने विषयमा नै आफूहरु केन्द्रित रहेको वैद्यले बताए। हाल विद्यालय प्रवेश गर्ने वित्तिकै नेपालभाषामै पढाइहाल्ने अवस्था नरहेको भन्दै उनले अहिले नेपालीमा समेत सहजिकरण गर्दै विस्तारै स्थानीय भाषामा नै पढाउन सुरु हुने बताए।

काठमाडौं महानगरपालिकाले आफू मातहत रहेका सम्पूर्ण सामुदायिक र निजी विद्यालयहरूमा यसै वर्षदेखि उक्त पाठ्यपुस्तक पठनपाठन गर्ने निर्णय गरिसकेको छ। नेपालको संविधानको भाग ३ मौलिक हक अन्तर्गत धारा ३२ को उपधारा (२) र (३) मा मुलुकको हरेक स्थानीय तहबाट आफू मातहत रहेका सामुदायिक र संस्थागत विद्यालयहरूमा स्थानीय पाठ्यक्रमका रूपमा आफैले एक विषय अध्ययन अध्यापन गराउन सकिने व्यवस्था गरिएको छ। काठमाडौं महानगरपालिकाले सोही व्यवस्था अन्तर्गत यस्तो पाठ्यपुस्तक तयार गरेको हो। कक्षा १ देखि ८ सम्म १० वटा विधामा विभिन्न विषय समेटेर पाठ्यपुस्तक निर्माण गरिएको छ।


लिपि प्रशिक्षण दिँदै सुनिता डंगोल र आनन्‍द के महर्जन


काठमाडौं महानगरपालिका क्षेत्र भित्र मानिने चाडपर्व, संस्कार संस्कृति, सीप कौशल, व्यवसाय, नैतिक शिक्षा, भौगोलिक प्राक् स्वरुप, स्वास्थ्य र सरसफाई, रहनसहन, व्यक्तित्व परिचय, भाषा र लिपी जस्ता विषयबारे परिचित गराउने उद्देश्यले उक्त विषयको पठन–पाठन सुरु गरेको काठमाडौँ महानगरपालिकाले जनाएको छ। पाठ्यपुस्तकमा काठमाडौं महानगरभित्र रहेका विभिन्न जात्रा, पर्व, ढुंगेधारा, पाटी, सत्तल, व्यक्ति आदि सम्बन्धी पाठहरू मात्र समावेश गरिएको छ। पाठ्यपुस्तकमा नेवार समुदायको जनजीवन, कला, खानपान, जात्रापर्व, भाषा, लिपि, परम्परागत खेलजस्ता विषय समेटिएका छन्।

बालबालिकालाई सिक्न सजिलो होस भन्ने उद्देश्यले १ देखि ३ सम्म १०० पूर्णाङ्कमा १०० नै अभ्यासगत पठन–पाठन गरिने छ। कक्षा ४ र ५ मा ७५ अभ्यासगत र २५ सैद्धान्तिक पठन–पाठन हुनेछ भने कक्षा ६, ७ र ८ मा भने ५० अभ्यासगत र ५० सैद्धान्तिक पठन–पाठन हुने व्यवस्था गरिएको छ।

काठमाडौं महानगरपालिका शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले महानगरभित्र रहेका प्राय सबै सामुदायिक र संस्थागत विद्यालयले पाठ्यक्रम लगिसकेको बताए। गत वर्षदेखि नै लागू हुनुपर्ने भए पनि कोरोना भाइरस संक्रमणका कारण पाठ्यपुस्तक निर्माणमा केही ढिलाइ भएको भन्दै आउने सत्रदेखि भने कुनै समस्या नहुने उनको दाबी छ।

हाल सहभागी भएकाहरुको प्रशिक्षण सहायक तालिम सकिने बित्तिकै सामुदायिक विद्यालयमा पठाइने उनले बताए। कोभिड १९ का कारण असारसम्म मात्रै यस वर्षको शैक्षिक सत्र रहेकाले जति पढाइ हुन्छ त्यसबाट मात्रै परीक्षामा प्रश्न सोधिने बताए।

'कोरोनाका कारण अहिले अरु विषयहरू समेत प्रभावित भएका छन्। सबै पाठ्यक्रम सकाउन सकिएको छैन। त्यसबाट यो स्थानीय पाठ्यक्रम पनि अछुतो छैन। आउने वर्षदेखि केही समस्या हुँदैन। यो वर्ष मिलाएर गर्ने हो,' उनले भने।

पाठ्यपुस्तकको मूल्य निर्धारण गर्न ढिलो हुँदा संस्थागत विद्यालयमा पाठ्यपुस्तक नपुगेको उनले बताए। महानगर उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ नेतृत्वको समितिले मूल्य निर्धारण गर्ने निर्णय गरिसकेकोले आउने वर्षसम्म त्यसको समस्या पनि हल हुने बताए।

पाठ्यक्रमको भाषा बुझ्नेमात्रै शिक्षक भएको भन्दै उनले हाल पाठ्य पुस्तकभन्दा पाठ्यक्रम नै महत्व दिएको बताए।

'शिक्षकहरू तयार छन्। नेपालभाषा बुझ्ने पढ्नेले पाठ्यक्रमकै आधारमा अहिले कक्षा लिन सक्छन्। अहिले पाठ्‍यपुस्तकभन्‍दा पाठ्यक्रमलाई हामीले महत्व दिएका छौं। किनभने यो धेरै प्रयोगात्मक सिकाइ हो,' उनले भने।

सुवेदीले स्थानीय भाषामा पाठ्यक्रम लागू गर्नु निकै चुनौतिपूर्ण रहे पनि यसले काठमाडौंको भाषामात्रै नभइ यहाँको जीवनशैली, कला, संस्कृति बुझ्ने अवसर दिने बताए। सुरुमा केही कठिनाई देखिए पनि आउने दिनमा यो पाठ्यक्रम सफल हुने उनको विश्वास छ।

'कुनै पनि कुरा सुरूवात गर्ने बेलामा गाह्रो हुन्छ नै। स्थानीय पाठ्‍यक्रम पनि अहिले भर्खरै अघि सर्दैछ,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell