PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

कल बाइपास गरेको अभियोगमा एक भारतीय सहित दुई जना समातिए



पहिलोपोस्ट

कल बाइपास गरेको अभियोगमा एक भारतीय सहित दुई जना समातिए

काठमाडौं : नेपालमा अवैध भिओआइपी सञ्चालनमा संलग्न रहेको अभियोगमा प्रहरीले एक जना भारतीय नागरिक सहित दुई लाई पक्राउ गरेको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले भारत पन्जाब घर भएका ३१ वर्षीय राना साह र रौतहटका ३३ वर्षीय स्यामुल खान भन्ने मोसलिम मियाँ अन्सारीलाई नियन्त्रणमा लिएको हो। उनीहरूले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा नेपाल सरकारको कुनै पनि निकायबाट अनुमति नलिई गैह्र-कानुनी रूपमा अन्तर्राष्ट्रिय आगमन कल बाइपास (भिओआइपी) सञ्चालन गरेको सूचना आएपछि नियन्त्रणमा लिएको ब्युरोका एसपी श्याम कुमार महतोले जानकारी दिए।

उनीहरूले चन्द्रागिरि नगरपालिका वडा नम्बर २, बसण्डोल स्थित घरको कोठा भाडामा लिई भिओआइपी गरेका थिए। प्रहरीले घरबाट भिओआइपी गर्न आवश्यक उपकरण समेत बरामद गरेको जानकारी दिएको छ। उनीहरू विरुद्ध दूरसञ्चार ऐन २०५३ अनुसार म्याद थप गरेर अनुसन्धान भइरहेको छ।

दूरसञ्चार ऐन, २०५३ को दफा ४७ को उपदफा ५ अनुसार कुनै व्यक्तिले बद्नियतसाथ दूरसञ्चार लाइन, दूरसञ्चार प्रणाली वा यससँग सम्बन्धित अन्य संरचना वा उपकरणमा प्रतिकुल असर पर्ने गरी कुनै काम गरेमा, बिगारेमा वा कुनै किसिमले हानी नोक्सानी पुर्‍याएमा वा त्यस्तो कामको लागि दुरुत्साहन दिएमा वा त्यस्तो काम गर्न उद्योग गरेमा अपराध गरेको ठहर्छ। यस्तो अपराध भएमा वा गरेमा ऐनको सोही दफा अनुसार नै हानी नोक्सानीको बिगो बमोजिम जरिवाना वा ५ वर्ष सम्म कैद वा दुवै सजाय हुने कानुनी व्यवस्था छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell