PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

कुम्भ मेलामा स्नान गरि फर्किए पूर्वराजा शाह, क्वारेन्टाइन बस्लान्?

कुम्भ मेलामा स्नान गरि फर्किए पूर्वराजा शाह, क्वारेन्टाइन बस्लान्?

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं: पूर्वराजा ज्ञानेन्द्र शाह भारतको उत्तराखण्ड राज्यस्थित हरिद्वारको कुम्भ मेलामा सहभागी भएर स्वदेश फर्किएका छन्। हरिद्वारमा पूर्वराजा शाहले अप्रिल १२ अर्थात चैत ३० गते शाही स्नान गरेका थिए। त्यसपछिका केहीदिन नयाँ दिल्लीमा बसेर पूर्वराजा शाह आज काठमाडौं फर्किएका हुन्। उनी २६ गते नेपालबाट नयाँदिल्ली हुँदै हरिद्वार पुगेका थिए।

पूर्वराजा शाहको कुम्भ शाही स्नानको प्रबन्ध उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले गरेका थिए। हरिद्वारका वरिष्ठ स्वामी आचार्य महामण्डलेश्वर कैलाशानन्द गिरीले पूर्वराजा शाहलाई हरिद्वारमा स्वागत गरेका थिए। राजाकै हैसियतमा रथारोहण गराउँदै शाही स्नान गराएका थिए।

भारतीय सञ्चारमाध्‍यमका अनुसार कुम्भ मेला अहिले कोरोना भाइरस संक्रमणको केन्द्र बनेको छ। हजारौंको संख्यामा साधु सन्त र श्रद्धालु संक्रमति भइरहेका छन् भने एक जना अखिल भारतीय श्री पंच निर्वाणी अणिका महामण्डलेश्वर कपिल देवदासको मृत्यु भएपछि परीक्षणलाई तीव्र बनाइएको छ भने कुम्भमा सहभागी साधु सन्त तथा भक्तजनलाई क्वारेन्टाइनमा राखिएको छ। कुम्भ समुदायमा संक्रमण फैलिने माध्यम बनेको जनस्वास्थ्यविदको निष्कर्ष छ। कुम्भ मेलाबाट फर्किनेहरुलाई धेरैजसो राज्यले अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने नियम ल्याएको छ।

हरेक राज्यमा कुम्भबाट आएकालाई भारतमा क्वारेन्टाइनमा राखेका बेला पूर्वराजा शाहलाई भने भव्य स्वागत गरिएको छ। उनको स्वागतमा राजसंस्था पक्षधरहरु विमानस्थल पुगेका थिए। पहिला भन्दा पूर्वराजाको सुरक्षामा कडाइ गरिएको थियो। त्यसो त पूर्वराजा शाहको कुम्भ स्नानको प्रबन्ध मिलाउने उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथलाई कोभिड १९ संक्रमण भइसकेको छ। पूर्व राजा क्वारेन्टाइनमा बस्छन् या बस्दैनन् त्यो प्रस्ट भइसकेको छैन।



ट्रेन्डिङ पोस्ट

Ncell