PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

सुदूरपश्चिममा फैलिएको कोरोना ‘युके भेरियन्ट’ भएको पुष्टि



एम बम

सुदूरपश्चिममा फैलिएको कोरोना ‘युके भेरियन्ट’ भएको पुष्टि
फाइल फोटो।

कैलाली : सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसको संक्रमण गत चैत महिनायता तीव्र गतिमा उकालो लागेको छ। चैत ३ गते भारतमा कोरोना भाइरसको महामारी तीव्र गतिमा उकालो लागेको थाहा भएपछि सीमानाकामा परीक्षण गरिएको थियो। सोही दिन भारतबाट आउनेमा संक्रमण देखिएको थियो। त्यसयता प्रदेशमा भाइरसको संक्रमण दिन प्रतिदिन बढ्दै गएको छ।

भारतबाट आउनेहरूमा भाइरस संक्रमण बढे पनि कुन भेरियन्टको हो भन्ने विषयमा भने अन्योल थियो। त्यसका लागि हङकङ पठाइएको नमुनामा प्रदेशमा देखिएको कोरोना भाइरसको भेरियन्ट ‘युके भेरियन्ट’ पुष्टि भएको छ। धनगढीस्थित सेती प्रादेशिक अस्पतालका अनुसार भाइरसको प्रकार पत्ता लगाउन विभिन्न जिल्लाका २० जनाको नमुना चैत १५ गते काठमाडौं पठाइएको थियो। त्यसमध्येका तीन जनामा कोरोनाको नयाँ भेरियन्ट पुष्टि हुँदा त्यो भेरियन्टको प्रकार पत्ता लगाउन हङकङ पठाइएको नमुनामा तीन जनामै युके भेरियन्ट पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए।

‘हामी कहाँ त्यसको आधिकारिक प्रमाण पत्र त आइपुगेको छैन’, उनले भने, ‘तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त मौखिक जानकारी अनुसार हङकङ पठाइएकाहरूको नमुनामा ‘युके भेरियन्ट’ पुष्टि भएको हो।’

डोटीको जोरायल गाउँपालिका, कञ्चनपुरको कृष्णपुर नगरपालिका र डडेलधुराको परशुराम नगरपालिकाका एक/एक जनामा युके भेरियन्ट रहेको पुष्टि भएको हो। त्यसपछि भने कसैको पनि नमुनामा भेरियन्ट छुट्ट्याउनका लागि काठमाडौं पठाइएको छैन। तर, एक चिकित्सकका अनुसार सुदूरपश्चिममा फैलिएको कोरोना भारतमा जस्तै युके मात्रै नभएर अन्य मुलुकमा फैलिएको भेरियन्ट पनि पुष्टि हुने संकेत देखिएको छ।

‘अहिले भारतबाट आउने अधिकांशमा कोरोना भाइरसको संक्रमण पुष्टि हुन थालेको छ’, उनले भने, ‘त्यसमा युके मात्रै होइन त्यो भन्दा बढी जोखिमयुक्त भेरियन्टहरू पनि छन्। तर, पर्याप्त परीक्षण हुन सकेको छैन।’

कोरोनाको भेरियन्ट छुट्ट्याउन नमुना नेपाल बाहिर पठाउनुपर्ने बाध्यता छ। सुदूरपश्चिम प्रदेशमा अहिले भारतबाट आउनेसँगै समुदायमा गरिएको परीक्षणमा समेत कोरोना पुष्टि हुने क्रम बढेको छ। चैत ११ गतेसम्म परीक्षणको ३ प्रतिशतमा पुष्टि भएको कोरोना अहिले २७ प्रतिशतले बढेर ३० प्रतिशत पुगिसकेको सेती प्रादेशिक अस्पतालले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell