PahiloPost

Dec 26, 2024 | ११ पुष २०८१

मुख्यमन्त्री राउतले सुरक्षा अधिकारी र जनप्रतिनिधिलाई भने, ‘कोरोनामा काम नगर्नेले राजीनामा दिनुपर्छ’



राधेश्याम पटेल

मुख्यमन्त्री राउतले सुरक्षा अधिकारी र जनप्रतिनिधिलाई भने, ‘कोरोनामा काम नगर्नेले राजीनामा दिनुपर्छ’

वीरगंज : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आइतवार वीरगंजमा आकस्मिक छलफल आयोजना गरे। प्रदेश २ मा बढ्दै गइरहेको कोरोना महामारीलाई कसरी अंकुश लगाउन सकिन्छ भन्ने विषयमा जिल्ला समन्वय समितिको सभाहलमा छलफल भयो।

छलफलमा पर्सा, बाराका सुरक्षा प्रमुख तथा जनप्रतिनिधि र राजनीतिक दलका अगुवाहरुको सहभागिता थियो। कार्यक्रममा मुख्यमन्त्री राउतले विपद्को समयमा काम नगर्नेले पद तथा कुर्सीबाट राजीनामा दिनु पर्ने सझुाव दिए।

‘मैले पनि काम गर्न सकिन्न, जनतालाई बचाउन सकिन्न भने मैले पनि राजीनामा दिनु पर्छ’, उनले भने, ‘तपाईहरु पनि काम गर्न सक्नु हुन्न भन्ने राजीनामा दिनुस्। काम छैन, तलब भत्ता खाएर टुलुटुलु हेरेर बसेर।’

मुलुककै मुख्य प्रवेशद्वार वीरगंज भएकोले वीरगंज नाकालाई कसरी व्यवस्थित बनाउनु पर्छ भन्ने बारेमा देशलाई नै सकारात्मक सन्देश दिनुपर्ने भन्दै उनले  सम्पूर्ण सरोकारवालाहरुले आफनो तवरबाट अझै सशक्त र गम्भीर भएर लाग्नु पर्ने समयको माग भएकोले तदारुपता देखाउन आग्रह गरे।

उनले प्रदेश २ ले अघिल्लो वर्ष कोरोना नियन्त्रणमा काम गरे जति सायदै कुनै प्रदेशले गरेको चर्चा गर्दै पोहोरका अनुभवलाई अगाल्दै सकारात्मक सोचका साथ सबै सरोकारवाला निकायले समन्वय र सहकार्य गरी स्रोत साधन परिचालन गरी जनताको सेवामा जुट्नु पर्ने बेला आएको पनि बताए।

‘पोहोरको बजेट अहिलेसम्म खर्च भएको छैन, मैले शव बाहन र एम्बुलेन्स खरिदको लागि पठाएको पैसा विभिन्न बहानामा खर्च भएका छैनन्’, उनले भने, ‘कसरी खर्च भएन, फ्रिज भएर पैसा फिर्ता जान्छ, केके चाहिएको छ, पैसाको अभाव छैन, लेखेर प्रदेश सरकारसँग माग गर्नूहोस्, हामी व्यवस्थापन मिलाउन तयार छौँ।’

प्रदेश २ का मुख्य सचिव गोकर्णमणी दवाडीले कोरोना नियन्त्रणमा नेपाल भारत सीमालाई व्यवस्थित पार्दै टेस्टिङ, ट्र्याकिंङ र ट्रिटमेन्ट अर्थात तीन वटा ‘टी’ को र अन्य स्वास्थ्यका प्रोटोकोललाई पालना गरी जनतालाई सेवा, सुविधा प्रवाह गर्नू पर्ने धारणा राखे। उनले पोहोरको कोरोना महामारीमा कतिपय स्थानीय तहले भुक्तानी लिनु पर्ने बाँकी रहेकोले अबको समयमा स्थानीय सरकार वा सरोकारवाला निकायले गर्ने खर्चको बारेमा कागजात तथा कुन शिर्षकमा कसरी खर्च गरिए, ती समान कहाँ छन् भन्ने बारेमा व्यवस्थित किसिमले अघि बढ्नु पर्ने जरुरी रहेको सुझाव दिए।

वीरगंज महानगरका मेयर विजयकुमार सरावगीले आफूले पर्सा, बारा, रौतहट, सर्लाहीसम्मका संक्रमितको लागि वीरगंजमा कोभिड अस्पताल सञ्चालन, क्वारेन्टाइन, पीसीआर मेसिन खरिद तथा अन्य शिर्षकमा गरेको खर्चमध्ये १० करोड नारायणी अस्पतालले नदिएको आरोप लगाए। उनले संघ सरकारको स्वास्थ्य सचिवले नारायणी अस्पतालमा पैसा पठाइसकिएको तर अस्पतालका मेसु सन्जय ठाकुरले उक्त पैसा भुक्तानी दिन आलटाल गरिरहेको बताए। त्यस कारण यसपालीको कोरोनामा आफ्नो मनोबल खस्केको उनले बताए।

उनले पर्सा बाराका सबै पालिकाले आफ्नो दायित्व पूरा गर्नू पर्ने माग गरे। उनले संघीय नीतिको कारण स्थानीय सरकार थप पीडामा परेको चर्चा गरे।

‘प्रमुख प्रशासकीय अधिकृतको बिना अनुमति मेयरले एक हजार पनि खर्च गर्न पाउँदैनन्’, उनले भने, ‘केन्द्र सरकारले १० लाख भारुभन्दा बढीको एम्बुलेन्स खरिदमा सरकारलाई राजस्व तिर्नु पर्छ, समुदायको लागि खरिद गर्ने सवारी साधनमा पनि देशलाई राजस्व दिने, वीरगंज महानगरले खरिद गरेको एम्बुलेन्स डेढ महिनादेखि भैरहवा भन्सारमा अडकेको छ।’

जसपा पर्साका अध्यक्ष रामनरेश यादवले वीरगंज महानगरको बगहीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई कोभिड अस्पतालको रुपमा सञ्चालन गर्नु पर्ने सुझाव दिए। नेपाली काँग्रेसका पर्सा सचिव श्याम पटेलले सरकारले २५ जनाभन्दा बढीले भीडभाड नगर्न भने तापनि जिल्लामा नेताहरु नै दर्जनौँको भीडभाड हुने कार्यक्रममा देखिएको, बिहेवारीमा सयौँले बिना मास्क लगाएर जन्ती जानु, दैनिक रुपमा भारतबाट मानिस भित्रिदा कोरोना बढेको धारणा राखे।

सुरक्षा अधिकारीहरुले जनशक्ति अभावको कारण स्वाब संकलन, परीक्षण तथा शव व्यवस्थापनमा पनि समस्या हुने गरेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell