PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

चैती छठ अन्तर्गत अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य



पहिलोपोस्ट

चैती छठ अन्तर्गत अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य

जनकपुरधाम : मिथिलाञ्चलमा आइतवार चैती छठ अन्तर्गत अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरिएको छ। गत शुक्रवारदेखि शुरु भएको चैती छठ पर्वको तेश्रो दिन आइतवार अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरिएको हो। सोमवार बिहानै उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै पर्वको समापन हुनेछ।

कात्तिक महिनामा मनाईने छठ पर्व जतिको संख्यामा श्रद्धालु भक्तजनहरु नभए पनि विस्तारै चैती छठ पर्व गर्नेहरुको संख्या पनि बढ्दै गइरहेको छ। चार दिनसम्म मनाईने यस पर्वको पहिलो दिन नुहाएर चोखो खाने चलन छ भने पञ्चमीका दिन खरना पर्व मनाईन्छ।

खरनाको अवसरमा ब्रतालुहरुले निराहार उपवास बसी साँझपख खष्ठी देवीलाई प्रसाद चढाई खाने गर्दछन्। प्रसादमा खीर, केरा, दुध एवं विभिन्न प्रकारको फलफुल चढाइने गरिन्छ।

पर्वको तेश्रो दिन अस्ताउदो सूर्यलाई अर्घ्य दिन ब्रतालुहरुले साँझ सूर्य अस्ताउने प्रतिक्षा गर्दछन्। त्यस क्रममा सूर्य अस्ताउनु एक घण्टा पूर्व देखिनै ब्रतालुहरु पोखरीमा प्रवेश गरी षष्ठी माताको ध्यान गर्दै सूर्य देवलाई अर्घ्य दिने गर्दछन्।

अर्घ्यमा मुला, उँखु, भण्टा, ठकुवा, भुसवा, केरा, नरिवल लगायतका सामग्रीहरु चढाउने गरिन्छ। सन्ध्या अर्घ पश्चात रातभर ब्रतालुहरु जागरण बसी भोलि पल्ट चैत सुक्ल सप्तमी तिथीका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिई पर्वको समापन गर्ने परम्परा रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell