PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

जितपुरसिमरा गोल्डकप : आर्मीलाई हराउँदै अफ्रिकन रुट्स सेमिफाइनलमा



पहिलोपोस्ट

जितपुरसिमरा गोल्डकप : आर्मीलाई हराउँदै अफ्रिकन रुट्स सेमिफाइनलमा

वीरगंज : अफ्रिकन रुट्स एसोसियसन विश्वकर्मा ११ औँ जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। सिमरा रंगशालामा आइतवार राति भएको खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई २-१ ले स्तब्ध पार्दै पाहुना टोली अफ्रिकन रुट्सले अन्तिम चारको यात्रा तय गरेको हो।

अफ्रिकन रुट्सको जितमा नजिमिले दुई गोल गरे। आर्मीका लागि जर्ज प्रिन्स कार्कीले एक गोल फर्काए। खेलमा आर्मीविरुद्ध लिएको अग्रता जोगाउन नसक्दा अफ्रिकन रुट्सले जितका लागि अतिरिक्त समयसम्म संघर्ष गर्नुपर्‍यो।

पहिलो हाफमा दुवै टिमले गोलरहित बराबरी खेले। वीरगंज युनाइटेड क्लबलाई ४-१ ले पराजित गर्दै अन्तिम आठमा प्रवेश गरेको आर्मीले अफ्रिकन रुट्सविरुद्ध आकर्षक खेल प्रदर्शन गर्न सकेन। सुरुवातदेखि नै दबाबमा देखिएको आर्मीले अफ्रिकन रुट्सविरुद्ध गोलको खासै अवसर सिर्जना गर्न सकेन।

भर्खरै सम्पन्न आहा रारा गोल्डकपको फाइलनसम्मको यात्रा तय गर्दै उपविजेता बनेको अफ्रिकन रुट्सले खेलको पहिलो हाफमा थुप्रै अवसर बनाएपनि गोलका लागि भने दोस्रो हाफसम्म प्रतिक्षा गर्नुपर्‍यो। खेलको ६१ औं मिनेटमा नजिमिले डिबक्समा पाएको बललाई जाली चुमाए। आर्मीका रक्षापंक्तीलाई बिट गर्दै नजिमिले गोल गरेपछि आर्मीको समर्थनका लागि रंगशाला पुगेका घरेलु दर्शक समेत निराश बन्न पुगे।

अफ्रिकन रुट्सको गोलपछि दबाबमा परेको आर्मीले दोस्रो हाफमा केही अवसर बनाएपनि सदुपयोग गर्न सकेन। आर्मीको फिनिसिङ पक्ष कमजोर बन्दा अफ्रिकन रुट्स खेलमा बलियो देखियो। हार नजिक पुगेको आर्मीले खेलको ८९ औं मिनेटमा पेनाल्टी प्राप्त गर्‍यो। अफ्रिकन रुट्सका ए फेब्रिकले डिबक्स भित्र हातले बल रोकेपछि पेनाल्टीको अवसर पाएको आर्मीका लागि जर्ज प्रिन्स कार्कीले गोल गरे। उनले सहजै पेनाल्टीमार्फत गोल गर्दै खेल १-१ को स्थितीमा पुर्‍याएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो।

अतिरिक्त ३० मिनेटको समयमा अफ्रिकन रुट्सले सुरुवातमै आर्मीविरुद्ध अग्रता लियो। अतिरिक्त समयको पाँचौ मिनेटमा नजिमिले गोल गरे। स्मेलको कर्नर बललाई हेड गर्दै नजिमिले गोल गर्दा आर्मी निराश बन्न पुग्यो। अन्तिम समयमा आक्रामक देखिएपनि गोल फर्काउन नसक्दा साविक उपविजेता आर्मी घर फर्कन बाध्य भयो।

अफ्रिकन रुट्सको लागि दुई गोल गरेका नजिमि खेलको म्यान अफ द म्याच घोषित भए। उनले पाँच हजार रुपैयाँ हात पारे। प्रतियोगिता अन्तर्गत सोमवार सशस्त्र प्रहरीको एपीएफ क्लब र वाग्मती ११ सर्लाहीबीच खेल हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell