PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

कोरोना दोस्रो लहरको चपेटामा फिल्म क्षेत्र, हल सधैँका लागि बन्द गर्ने अवस्थामा सञ्चालक



लक्ष्मी बलायर

कोरोना दोस्रो लहरको चपेटामा फिल्म क्षेत्र, हल सधैँका लागि बन्द गर्ने अवस्थामा सञ्चालक

काठमाडौं : कोरोना भाइरस महामारीले हरेक क्षेत्रलाई प्रभावित पार्‍यो। आर्थिक रुपमा नमज्जाले थला पार्‍यो फिल्म क्षेत्रलाई पनि। नेपालको हकमा संक्रमण नियन्त्रणका सबैभन्दा अगाडि बन्द हुने र सबैभन्दा पछाडि खुल्यो यस क्षेत्र।

गत पुस १० गतेबाट फिल्म हलहरू सञ्चालनमा आएका हुन्, सरकारको अनुमतिबिना नै। त्यसको ठीक १ सातापछि मन्त्रिपरिषद्को बैठकले सिनेमा हल खोल्न अनुमति दियो। नयाँभन्दा पनि पहिल्यै सार्वजनिक भइसकेका फिल्महरू प्रदर्शमनमा ल्याइएको थियो। हलमा दर्शक नफर्कँदै नयाँ फिल्म 'एउटा यस्तो प्रेम कहानी' रिलिज भएपछि भने यो क्षेत्र पुन: चलायमान हुने आशा धेरैको थियो। तर उक्त फिल्म समीक्षात्मक एवं व्यवसायिक हिसाबमा असफल ठहरियो।

फिल्म नचले पनि हलमा फाट्टफुट्ट दर्शक भने आइरहेका थिए। २०७७ मा जम्मा ४ ‌वटा नेपाली फिल्म रिलिज भए। तीमध्ये गोर्खे र एउटा यस्तो प्रेम कहानीको हालत उस्तै। न दर्शक तान्न सके न त लगानी उठाउन नै। प्रदर्शनरत् श्री र बेस्ट फ्रेन्डको हल रिपोर्ट आइसकेको छैन।

यसैबिच कोरोना भाइरसको दोस्रो लहर ह्वात्तै बढेको छ। जसका कारण प्रदर्शन हुने भनिएका फिल्महरूले समेत रिलिज मिति नै स्थगित गरे। निर्माण युनिटको उक्त निर्णयपछि हल सञ्चालकहरू आर्थिक चपेटामा परेका छन्।

क्युज सिनेमाका सञ्चालक सुमित मैनालीलाई त आजकल फिल्म हलको कुरा गर्नै दिक्क लाग्छ। हल बन्द हुँदा व्यहोर्नु परेको घाटाले निकै पिरोल्छ उनलाई।

‘फिल्महल शतप्रतिशत घाटामा छन्। घाटाको हिसाब नै गरेको छैन। अब के हुन्छ भनेर अनुमानसमेत गर्न सकिरहेको छैन। यस्तै हो भने फिल्म हल नै बन्द गर्नुपर्छ,’ पहिलोपोस्टसँगको कुराकानीमा उनले बताए।

त्यसैगरी २०७६ मा एफ क्युब सिनेमाका व्यवस्थापक रामहरि कोइराला हलमा फिल्म रिलिज हुँदा करौडोको व्यापार गरेको सम्झिछन्। एउटै सिनेमाबाट ४० देखि ६० लाखसम्म पैसा समेत कमाएको उनी बताउँछन्। तर अहिले लगानी त के खर्च समेत उठाउन नसक्ने अवस्था रहेको सुनाउँछन् उनी। कहिले ठुलो फिल्म हलमा रिलिज होला? भनेर कुर्नुबाहेक अरु विकल्प नरहेको मैनालीको भनाई छ।

‘यसबिचमा नेपाली, हिन्दी गरी जम्मा १० वटा फिल्म रिलिज भयो होला। तर कुनैले पनि लगानी उठाउन सकेनन्। हल खोल भनेपछि बन्द गर्न मिलेन। यस्तै हो भने त अब हल सधैँका लागि बन्द गर्नुपर्ने अवस्था आउँछ,’ उनले सुनाए।

सरकारले सिनेमा हल सञ्चालकहरूलाई राहत हुनेगरी केही पनि गर्न नसकेको गुनासो गर्छन् उनी।

‘१३ प्रतिशत कर सरकारलाई, १५ प्रतिशत चलचित्र विकास बोर्डलाई र ५ प्रतिशत प्रदेश सरकारलाई लगाएर ३३ प्रतिशत कर तिर्नुपरेको छ। सरकारले शुरुमा हल नै बन्द गर्न खोजिरहेको छ। हामी निकै मारमा परेका छौँ,’ रामहरिले गुनासो गरे।

क्युएफएक्सका सीइओ रोशन अडिगाले वैशाखदेखि अवस्था सामान्य हुने अनुमान गरेका थिए। त्यसैले पूरानै फिल्म प्रदर्शन गरेर हल चलाए। तर, अब भने हल धान्नै धौधौ परेको बताए उनले।

के भन्छन् चलचित्र विकास बोर्डका अध्यक्ष?

२०७७ चलचित्र क्षेत्रको लागि निकै दुखदायी रहेको बताउँछन् चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल।

चलचित्र पदर्शनमा आउन् भनेर चलचित्र बिकास बोर्डले सहुलियत दिने, फिल्मको प्रचार र छपाइमा पैसा दिएर प्रोत्साहन गरेको दावी गरे। साथै प्रदर्शकहरुलाई स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन, आवश्यक सुरक्षा साम्रागी र सहुलियत पुर्‍याएको बताउँछन् दाहाल।

सरकारले फिल्मक्षेत्रलाई कोरोना अति प्रभावित क्षेत्र घोषणा गरेर राहत दिनु पर्ने उनको तर्क रहेको छ।

कोरोनाकालमा उनले गाह्रो भएका चलचित्रकर्मिहरुलाई राहतको कार्यक्रम अघि सारे। चलचित्रकर्मीलाई सजिलो होस् भनेर चलचित्रकर्मी विपद व्यवस्थापक कोष खडा समेत गरे। विगतका अस्पष्ट कार्यविधिलाई स्पष्ट पारेको उनको तर्क छ। अन्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न गएका फिल्महरूलाई पनि बोर्डले सहयोग गरेको उनले सुनाए।

मौलिक कथामा राज्यको लगानि हुनुपर्छ भनेर स्टोरी बैँकको शुरुवात गरेको समेत उनले जानकारी दिए।

'मौद्रिक नीतिमा पनि चलचित्र क्षेत्रलाई अति प्रभावित भनेर अघि सारेका छौँ। निर्णय गर्ने भनेको राष्ट्रबैँक र अर्थमन्त्रालयले हो। प्रोजेक्ट लोनको अवस्था भयो भने चलचित्र निर्माणमा सहजीकरण हुने थियो। चलचित्र विकास बोर्डले गर्नुपर्ने सबै प्रयास गरिरहेको छ। फिल्मको करमा छुट र विजुलीमा छुट दिनुपर्यो भनेर माग गरेका छौँ अब निर्णय के हुन्छ हेरौँ?,' उनले सुनाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell