PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

ओलीले डाके महाधिवेशन आयोजक कमिटी बैठक, नेपाल पक्षका नेताहरुमाथि कारवाही अघि बढाइने!



प्रकाश भण्डारी

ओलीले डाके महाधिवेशन आयोजक कमिटी बैठक, नेपाल पक्षका नेताहरुमाथि कारवाही अघि बढाइने!

काठमाडौं : प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दलको महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएका छन्। आज दिउँसो १ बजेका लागि उनले बालुवाटारमा बैठक बोलाएका हुन्।

बैठकमा ओलीले पछिल्लो परिस्थितिमा सरकार कसरी अघि बढ्दा ठीक होला भन्ने विषयमा सदस्यहरुबाट राय लिने बताइएको छ। त्यसैगरी बैठकले विभिन्न स्थानमा पार्टीलाई असहयोग गर्ने नेताहरुलाई कारबाही अघि बढाइने पनि तयारी गरेको स्थायी कमिटी सदस्य तथा संसदीय दलका उपनेता सुवाष नेम्बाङले जानकारी दिए।

विषेश गरी कारवाहीका लागि सिफारिस भएका नेताहरुमाथि आजको बैठक केन्द्रीत रहने उनले बताए। 'कारवाहीका लागि सिफारिस भएका नेता र अरु केही नेताहरुमाथि कारवाही हुन्छ,' नेम्वाङले भने, 'पार्टीका विभिन्न निकाय गठन गर्नुपर्ने छ। त्यसको बैठको सामान्य मिति तोक्ने र अब कसरी अगाडि बढने भन्ने एउटा साझा धारणा पनि बनाउनु छ।'

कर्णालीमा फ्लोर क्रस गरी पार्टीको ह्विप उल्लंघन गरेका चार जना सांसदलाई यसअघि एमालेले कारवाहीका लागि सिफारिस गरेको थियो। उनीहरुले फ्लोर क्रस गर्दा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद जोगिएको थियो।

प्रदेशसभामा एमाले एक्लैका २० सदस्य रहे पनि एमालेका माधव नेपाल समूहका चार सदस्यले पार्टीको ह्विप उल्लंघन गर्दै मुख्यमन्त्रीको विश्वासको मतको पक्षमा मतदान गरेका थिए।

मुख्यमन्त्री शाहीको पक्षमा एमालेका वरिष्ठ नेता माधव नेपाल खेमाका प्रकाश ज्वाला, नन्द सिंह बुढा, अमर थापा, कुर्मराज शाही छन्।

शाहीले तीन जनालाई प्रदेश मन्त्री पद उपहार दिइसकेका छन्। बुढालाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीको जिम्मेवारी दिइसकेका छन्। यस्तै थापालाई भौतिक पूर्वाधार विकास मन्त्रीको जिम्मेवारी दिइएको छ। शाहीले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीको जिम्मेवारी पाएका छन्।

ओलीले यसअघि गठन गरेको २६४ जना सदस्य रहेको कमिटी बैठक आज बस्न लागेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell