PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

मन्त्रिपरिषदको निर्णयपछि के आज दर्शकले मैदानमै हेर्न पाउँछन् मलेसियासँगको म्याच?



पहिलोपोस्ट

मन्त्रिपरिषदको निर्णयपछि के आज दर्शकले मैदानमै हेर्न पाउँछन् मलेसियासँगको म्याच?
फाइल फोटो

काठमाडौं : नेपाल, नेदरल्याण्ड्स र मलेसियाबिचको त्रिदेशीय टी २० सिरिज शनिवारदेखि कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा चलिरहेको छ। सोही बमोजिम आज नेपाल र मलेशिया आज भिड्दैछन्। दिउँसो सवा १ बजेबाट खेल सुरु हुने तय छ। तर, अघिल्ला दुई खेलमा दर्शकहरुको बाक्लो उपस्थिति भए पनि आज के हुन्छ? के खेल दर्शकसहित हुने हो?

आज बसेको मन्त्रिपरिषदको बैठकले विद्यालय लगायत ठूलो भेला हुने सबैखाले क्षेत्रमा कोरोना भाइरसको जोखिमका कारण निषेध गर्ने निर्णय गरेको छ। २५ जनाभन्दा बढी भेला गर्न नपाउनेगरी निर्देशिका नै जारी गर्दैछ सरकारले। यसो भएमा स्कुलमात्र होइन, रंगशाला, फिल्म हल लगायत भिडभाड हुने क्षेत्रहरु प्रभावित हुनेछन्। साथै सार्वजनिक यातायात समेत व्यवस्थित गर्ने निर्णय सरकारले लिएको छ।

यही त्रासकै बिचमा कीर्तिपुरमा उल्लासका साथ त्रिदेशीय क्रिकेट चलिरहेको छ। अघिल्ला खेलमा दर्शकको उल्लेखनीय उपस्थिति देखिएको थियो। नेपाल प्रतिस्पर्धी हुने खेलमा दर्शकको संख्या अत्याधिक रहँदै आएको छ। त्यसैले सरकारले आज गरेको निर्णय अनुसार के रंगशाला रित्तो गराएर खेल हुन्छ त?

सरकारको आजको निर्णयबारे आफूले खबर नपाइसकेकोले यसै भन्ने अवस्थामा नरहेको क्यानका सचिव अशोकनाथ प्याकुरेलले बताए।

'हामीले जानकारी पाइसकेका छैनौँ। भेला हुन नहुने भयो भने दर्शकको अनुपस्थितिमा खेल होला,' क्यानका प्रवक्तासमेत रहेका प्याकुरेलले भने, 'सरकारको रेस्ट्रिक्सनले दर्शकलाई प्रवेश दिन मिल्दैन भन्ने कुरा भयो भने दर्शक आउनुहुन्न। खेल त चलिरहन्छ।'

छिमेकी देश भारत लगायत विश्वभर नयाँ भेरियन्टको कोरोना संक्रमण फैलिरहँदा नेपालमा पनि केही दिन यता कोरोनाको संक्रमण दर बढ्दै गएको छ। स्वास्थ्य मन्त्रालयले पछिल्लो समय स्वास्थ्य सतर्कता गर्न ताकेता गर्दै आएको थियो। र, कोरोनाको दर बढेपछि सीसीएमसीको सिफारिसमा मन्त्रिपरिषदले स्वास्थ्य मापदण्ड बढाउने निर्णय गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell