PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

लुम्बिनी प्रदेशमा शंकर पोखरेललाई जसपाको साथ, अविश्वास प्रस्तावमा हस्ताक्षर गरेकालाई मन्त्री पद उपहार



पहिलोपोस्ट

लुम्बिनी प्रदेशमा शंकर पोखरेललाई जसपाको साथ, अविश्वास प्रस्तावमा हस्ताक्षर गरेकालाई मन्त्री पद उपहार

बुटवल : लुम्बिनी प्रदेशमा आफ्नो सरकार जोगाउन मूख्यमन्त्री शंकर पोखरेलले जनता समाजवादी पार्टी (जसपा)ले साथ दिने भएको छ। सरकार विरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी र जनता समाजवादी पार्टीले सोमवार दिउसो १:१५ बजे प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए।

अविस्वासको प्रस्ताव दर्ता भएसँगै मुख्यमन्त्री पोखरेलले नयाँ समिकरणको तयारी गरेका थिए। अब उनले जसपाका सांसदलाई आफ्नो पक्षमा ल्याएर मन्त्री पदको अफर गरेका छन्।

अविस्वासको प्रस्ताव दर्ता गराएसँगै प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बराल र आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले पदबाट राजीनामा दिएका थिए।

योसँगै जनता सामाजवादीका प्रमुख सचेतक सन्तोष पाण्डेयको नेतृत्वमा सरकारमा जाने गरी छलफल सुरु भएको मुख्यमन्त्री निकट स्रोतले भन्यो।

नेकपा (एमाले)का प्रदेसशभाका सचेतक भूमिश्वर ढकालले सरकार नढल्ने दाबी गरे। 'अहिले म यही विषयमा छलफलमा छु। केही समयमा नै रिजल्ट आउँछ,' पहिलोपोस्टसँग ढकालले भने।

यता जसपाका सांसद पाण्डेयले पार्टीको संसदीय दलले आधिकारिक निर्णय नगरेको भन्दै हतारमा प्रस्ताव दर्ता गराइएको टिप्पणी गरे।

'हाम्रो संसदीय दलले निर्णय गरिसकेको छैन। त्यसैले एक जना साथीको हस्ताक्षर छैन,' उनले भने, 'हस्ताक्षर गर्नु कुनै कानुनी कुरा त होइन्। राष्ट्र बैंकको नोट छापेको त होइन त्यो फिर्ता हुन सक्छ।'

उनले सरकारमा जाने नजाने बारे छलफलमै रहेको बताउँदै साँझसम्म टुँगो लाग्ने जानकारी दिए।

माओवादी केन्द्रका दुइजना मन्त्रीले राजिनामा दिएपछि रिक्त रहेका आन्तरिक मामिला तथा कानुन मन्त्रालय र सामाजिक बिकास मन्त्रालयसँ अन्य दुई मन्त्रालयमा नयाँ मन्त्री नियुक्ति गर्न मूख्यमन्त्री पोखरेलले तयारी थालेको स्रोतले जनायो।

स्रोतका अनुसार अविस्वासको प्रस्तावमा हस्ताक्षर गर्ने जसपाका सांसदहरु पाण्डेयसहित विजय यादव र कल्पना पाण्ड र सुमन रायमाझीलाई मन्त्री बनाइँदै छ। कल्पना पाण्डे बाहेक सबैले अविस्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए।

'खोइ कसरी हस्ताक्षर भयो म जान्दिन्। संसदीय दलले निर्णय गरेको छैन,' उनले भनिन्, 'म पनि संसदीय दलमा छु। मेरो नाम त्यहाँ कसरी गयो त्यो थाहा छैन।'

उनले मन्त्री हुने विषयमा गरेको कुरामा अगाडि भनिन्, 'अविश्वासको प्रस्तावमा मेरो हस्ताक्षर छैन। अरु तपाईँले कसरी बुझ्नुहुन्छ त्यसरी नै बुझ्नुस्।'

स्रोतका अनुसार मुख्यमन्त्री पोखरेलले आजै नयाँ मन्त्री नियुक्त गरी सपथ गराउने तयारी गरिरहेका छन्।

८७ सदस्य रहेको लुम्बिनी प्रदेशसभामा एमालेका मात्र ४१ सदस्य छन्। हाल दुई सदस्य निल्मबनमा रहेका कारण कायम रहेको ८५ सदस्यबाट सरकार गठनका लागि ४३ सदस्य आवश्यक पर्छ। ६ सदस्य रहेको जसपाले साथ दिए पोखरेल सरकार जोगिने छ।

माओवादी केन्द्रका कुलप्रसाद केसीलाई मुख्यमन्त्री प्रस्ताव गरी दर्ता भएको अविश्वासको प्रस्ताव जसपाको साथ नहुँदा असफल हुने छ। प्रदेशसभामा माओवादी केन्द्रका १७, काँग्रेसका १९ सदस्य छन्। त्यस्तै राष्ट्रिय जनमोर्चाको १ सदस्य छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell