PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

प्रदेश २ का प्रत्येक स्थानीय तहमा १/१ वटा आइसोलेसन सेन्टर बनाइने



पहिलोपोस्ट

प्रदेश २ का प्रत्येक स्थानीय तहमा १/१ वटा आइसोलेसन सेन्टर बनाइने

जनकपुरधाम : प्रदेशस्तरीय कोरोना भाइरस संकट व्यवस्थापन समन्वय समितिको बैठकबाट हरेक स्थानीय तहमा कम्तिमा १/१ वटा आइसोलेसन सेन्टर बनाउनका लागि स्थानीय तहहरुलाई आग्रह गर्ने निर्णय गरिएको छ।

जनकपुरधाम-१४ मुजेलियामा रहेको मणिपाल कलेजको भौतिक संरचनालाई कोरोना अस्पतालको रुपमा विकास गर्नका लागि प्रक्रिया शुरु गर्ने र यसका लागि आवश्यक बजेट आर्थिक मामिला तथा योजना मन्त्रालयले मागका आधारमा निकासा दिने निर्णय समेत बैठकले गरेको सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले जानकारी दिए।

बैठकले कोरोनाको रोकथाम, उपचार तथा नियन्त्रणलाई प्रभावकारी बनाउन अस्पताल तथा प्रयोगशालाका लागि आवश्यक पर्ने जनशक्ति पहिचान गरी जिल्ला कोरोना भाइरस संकट व्यवस्थापन समितिको सिफारिश सहित व्यवस्थापनका लागि सामाजिक विकास मन्त्रालयमा पठाउने र जनशक्ति पहिचान गर्दा यसअघि काममा लगाइएका जनशक्तिलाई प्राथमिकता दिने निर्णय समेत गरेको छ।

कोरोनाको रोकथाम, उपचार र नियन्त्रणलाई प्रभावकारी बनाउनका लागि स्रोतको कमी हुन नदिन कोरोना भाइरस रोकथाम, उपचार र नियन्त्रण कोषमा सामाजिक विकास मन्त्रालयको मागका आधारमा आर्थिक मामिला तथा योजना मन्त्रालयले रकम निकासा गर्ने निर्णय पनि गरिएको छ।

बैठकबाट बढ्दै गइरहेको कोरोना संक्रमणको नियन्त्रण तथा रोकथामका लागि साबुन पानीले हात धुने, स्यानिटाइजर प्रयोग र भौतिक दूरी कायम गर्ने लगायतका मापदण्ड पालना गर्न सम्बन्धित निकायलाई जनचेतनामूलक कार्यक्रम गर्न लगाउने सहितका ५ बुँदे निर्णय भएको छ।

कोरोना भाइरस संक्रमणको दर ह्वातै बढ्दै गएपनि प्रदेश सरकार गम्भिर नबनेको आरोप लाग्दै आइरहेको अवस्थामा सरकारले यस्तो निर्णयहरु गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell