काठमाडौं: कोभिड-१९ को संक्रमण बढेसँगै सरकारले संक्रमण नियन्त्रणका लागि कडा मापदण्ड जारी गरेको छ। सरकारले जारी गरेको मापदण्ड अनुसार अब काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका महानगरपालिका, नगरपालिकासहितका जोखिमपूर्ण जिल्लामा शैक्षिक संस्था वैशाख मसान्तसम्म बन्द हुने छन्।
सरकारले उपत्यकाका तीन जिल्लाका स्थानीय तहसहित विराटनगर, वीरगञ्ज, भरतपुर र पोखरा महानगरपालिका, इटहरी, धरान, जनकपुर, हटौँडा, बुटवल, घोराही, तुलसीपुर, नेपालगञ्ज र धनगढी उपमहानगरपालिका, तथा मेची नगर, विर्तामोड, दमक, राजविराज, बनेपा, धुलिखेल, सिद्धार्थनगर, वीरेन्द्रनगर तथा भीमदत्तनगर नगरपालिकामा रहेका शैक्षिक संस्था, विद्यालय, इन्स्टिच्युट, तालिम केन्द्रलगायतलाई यही वैशाख मसान्तसम्म भौतिक रुपमा उपस्थित नभइ भर्चुअल तथा वैकल्पिक शिक्षण सिकाइ विधि अपनाई सञ्चालन गर्ने आदेश जारी गरेको गरेको हो।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सङ्क्रामक रोग ऐन, २०२० को दफा (२) बमोजिम आदेश जारी गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए।
सरकारले विद्यालय र कलेजका पूर्वनिर्धारित परीक्षा तथा चिकित्सा शिक्षाका सबै किसिमका प्रयोगात्मक परीक्षा भने जनस्वास्थ्यका मापदण्ड पालना गरी सञ्चालन हुनेछन्।
