
काठमाडौंः अविश्वासको प्रस्ताव दर्ता गरेसँगै मन्त्रिपरिषद् पुनर्गठन गरेर संकट टार्ने प्रयत्न गरेका लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेललाई जनता समाजवादी पार्टी (जसपा) ले झड्का दिएको छ। पोखरेलविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका जसपाका तीनसहित चार सांसदलाई उनले मन्त्रीको जिम्मेवारी दिएका थिए। तर, शपथको केही घण्टामै पार्टीले नवनियुक्त मन्त्रीलाई फिर्ता बोलाएको हो।
पार्टी निर्णय विपरीत मन्त्रीको शपथ लिएको भन्दै फिर्ता बोलाइएको हो। शपथग्रहण गरेकोमा पार्टीले चारै जनालाई २४ घण्टे स्पष्टीकरण समेत सोधेको छ। स्पष्टीकरण चित्त नबुझे कारबाहीको चेतावनी पार्टीले दिएको छ।
जसपा लुम्बिनी प्रदेश सभाका संसदीय दलका नेता सहसराम यादवले पार्टीले फिर्ताको निर्णय गरिसकेको र निर्णय नमाने कारबाहीको प्रक्रिया अघि बढ्ने बताए। यादवले भने, ‘यो पार्टीको आधिकारिक निर्णय हो। उहाँहरुले निर्णय मान्नुभएन भने कानुन अनुसार कारबाहीको प्रक्रिया अघि बढ्छ।’
निर्णय अनुसार पार्टी प्रदेश कमिटी अध्यक्ष अशोककुमार यादवले विज्ञप्ति जारी गर्दै फिर्ता नभएमा सांसद पद नरहने गरी कारबाहीको चेतावनी दिएका हुन्।
आफूविरुद्धको अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने चार जनालाई पोखरेलले सोमबार मन्त्री बनाएका थिए। सोमबार नै पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको थियो।
पोखरेलले सन्तोषकुमार पाण्डेयलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, विजयबहादुर यादवलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, कल्पना पाण्डेयलाई शिक्षा तथा समाजिक विकास मन्त्रालयको जिम्मेवारी दिएका थिए। यस्तै सुमन शर्मा रायमाझीलाई भौतिक पूर्वाधार राज्य मन्त्रीको जिम्मेवारी दिइएको छ।
जसमध्ये शिक्षा तथा सामाजिक विकास मन्त्री पाण्डेयले अविस्वासको प्रस्तावमा हस्ताक्षर गरेकी थिइनन्।
'पदलोलुपताका कारण गए। केन्द्रको लाइन पनि बुझेनन्। मन्त्री खान गएका हुन्। विहान बैठक बसेर निर्णय भएको हो,' जसपा संसदीय दलका नेता यादवले भने, ' संसदीय दलको निर्णय अनुसार नै अविस्वासको प्रस्तावमा हस्ताक्षर पनि गरेका हुन्। तर पद पाएर गए। केन्द्रको लाइन पनि अंगिकार गरेनन्।'
जसपामा केन्द्रमा पनि सरकारमा जाने विषयमा दुई मत छ। पूर्व संघीय समाजवादी पार्टी वैकल्पिक सरकार गठनमा अडिक देखिँदा पूर्व राष्ट्रिय जनता पार्टी (राजपा) ओलीकै सरकारमा जाने पक्षमा देखिन्छ। तर, लुम्बिनी प्रदेशमा भने पूर्व समाजवादीका सांसद नै सरकारमा गएका हुन्। तीन जना संघीय समाजवादीबाट संसद भएका हुन्। एक जना कल्पना पाण्डेय मात्र राजपाबाट सांसद भएकी हुन्।