PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

संसदमाथि ओली समूहको अविश्वास, पूर्वसभामुखहरू भन्छन् : अधिवेशन अन्त्य गरेर जनताको मुख थुनियो



प्रकाश भण्डारी

संसदमाथि ओली समूहको अविश्वास, पूर्वसभामुखहरू भन्छन् : अधिवेशन अन्त्य गरेर जनताको मुख थुनियो

काठमाडौं: मन्त्रिपरिषद्को सोमबारको बैठकले प्रतिनिधि सभाको चालु अधिवेशनलाई अन्त्यको सिफारिस गरेसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेशन अन्त्य गरेकी छिन्।

विघटित प्रतिनिधि सभालाई फागुन ११ गते सर्वोच्च अदालतले पुनर्स्थापना गरेपछि फागुन २३ गते हिउँदे अधिवेशन सुरु भएको थियो। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको आयुकै बारेमा प्रश्न उठेको भए पनि उक्त विषय संसदमा प्रवेश हुन नै पाएन। महत्त्वपूर्ण विधेयकहरू समेत प्रस्तुत नहुँदै सरकारले अधिवेशन बन्द गरेको हो। अदालतले जीवित बनाइदिएको संसदले निकास दिन नसक्ने सन्देश दिन सरकारले संसदलाई 'बिजनेस'विहीन बनाउँदै आएको थियो। आज मन्त्रिपरिषद्को निर्माण सुनाउने क्रममा सूचना तथा सञ्चार मन्त्री पार्वत गुरुङले विजनेस नभएका कारण संसद् अधिवेशन अन्त्य गरिएको जानकारी दिए।

यता, आफ्नाविरुद्ध आउन सक्ने अविश्वासको प्रस्ताव छल्न र संसदले निकास दिन सक्दैन भन्ने सन्देश दिन ओलीले प्रतिनिधि सभाको अधिवेशन अन्त्य गरेको पूर्वसभामुख तारानाथ रानाभाटले आरोप लगाए।

'जनताको मुख थुनियो'

रानाभाटले प्रधानमन्त्री ओलीले मुलुकमा राजनीतिक र अरू विभिन्न खालका संकट भएका बेला संसद् बन्द गरेर जनताको मुख थुनेको आरोप लगाए।

'महत्त्वपूर्ण निर्णय गर्नुपर्ने बेलामा, जनताको सुख दु:खका कुरा गर्नुपर्ने बेलामा हाउस बन्द गर्नु भनेको जनताको मुख थुन्नु हो,' उनले भने।

कम्युनिस्ट पार्टीको आन्तरिक कलह र नेपाली कांग्रेस मूकदर्शक बनिरहँदा सरकारको मनपरी चलिरहेको उनको भनाई थियो। सरकारलाई नियन्त्रणमा राखेर निकास खोज्नु पर्नेमा कांग्रेस उल्टै मूकदर्शक बन्द देश 'बन्दी'को अवस्थामा पुगेको रानाभाटको टिप्पणी छ।

'सरकारलाई पारदर्शी बनाउने संस्था त्यही थियो, बन्द गरिदिएपछि अब जसरी पनि चल्छ। कांग्रेसले प्रश्न गर्न सक्थ्यो, त्यो पनि भएन,' उनले भने।

ओली संसदबाट झस्किएर चालु अधिवेशन अन्त्य गरेको उनको आरोप छ। 'जनताका एक-एक समस्या संसदमा उठ्छन्। राष्ट्रिय, अन्तर्राष्ट्रिय रूपमा भएका जालझेलहरूको कुरा पनि संसदमा उठ्छ। जनताका मुखमा बुझो लगायो भने सरकारलाई आनन्दै भयो नि,' उनले भने।

सरकारले संसदलाई कामै नलाग्ने भएको भन्नु लोकतन्त्रका लागि दु:खद् भएको रानाभाटको भनाई छ। सरकारको मातृ संस्था संसद् भएकाले काम गर्न सक्दैन भन्नु कुतर्कबाहेक केही नभएको रानाभाटले बताए।

'संसद् भनेको सरकारको मातृ संस्था हो। जसले सरकारलाई जन्माउँछ। त्यसले काम गरेन भन्नु, छोराले आफ्नी आमाले कामै गरिनन् भन्नु हो। यसरी दोष लाउन मिल्छ? संसदलाई अपमान गरेर अर्कै दृष्टिकोण राख्ने खेल त सरकारबाट हुनुहुँदैन थियो,' उनले भने।

ओलीले सास फेरेको मात्रै हो, टिक्दैनन् : घर्ती

पूर्वसभामुख ओनसरी घर्ती पनि रानाभाटको तर्कसँग सहमत छिन्। उनले संसदलाई छल्न अधिवेशन अन्त्य गरेको आरोप लगाइन्। संसदलाई ओलीले रबर स्ट्याम्प बनाउन खोजेको र त्यो सफल नभएपछि हठात् अन्त्य गरिएको उनको टिप्पणी छ।

'हाउसलाई रबर स्ट्याम्पका रूपमा प्रयोग गर्न खोज्नुभएको थियो। त्यसो नभएपछि स्थगित गरिएको हो। किनभने अब बजेट आउन कति दिन बाँकी छ? हामीले प्रि-बजेटमा छलफल गर्ने चलन छ। जेठ १५ गते त बजेट भाषण गर्नुपर्ने छ। उहाँहरूको यो मनपरी तन्त्र हो,' घर्तीले भनिन्।

संसद्को अधिवेशन अहिले अन्त्य गर्नु अप्राकृतिक भएको उनको भनाइ थियो। सरकारले आफ्नो सुविधाका लागि संसद्लाई बन्धक बनाएको घर्तीले आरोप लगाइन्।

'जसरी हाउस बन्द भएको छ, यो अप्राकृतिक छ। उहाँहरूले सरकारलाई सजिलोका लागि संसद् बन्द गर्नुभयो,' उनले भनिन्।

अविश्वासको प्रस्ताव आउने तयारी भएको र त्यसको जानकारी ओलीले पाएपछि त्यसलाई केही समयका लागि भए पनि छल्न ओलीले अधिवेशन अन्त्य गरेको उनको भनाई छ।

'अविश्वासको प्रस्ताव आउनेवाला छ, उहाँले छल्नु भो। प्रचण्डले बोलेको सुन्नुभएकै होला। कर्णालीमा देखिहाल्नु भयो। लोकतन्त्रको अभ्यास गर्नुभयो भने सत्यको जित हुन्छ,' उनले भनिन्।

प्रधानमन्त्रीका लागि संसद् अधिवेशन अन्त्य गर्नु केही समयका लागि सास फेरेको मात्रै भएको घर्तीको टिप्पणी छ। सरकार धेरै दिन अघि जान नसक्ने उनले दाबी गरिन्।

'यो एक छिनका लागि सास फेरेजस्तो मात्रै हो। अब कति दिन टिक्छ? शासनसत्ता टिकाइराख्न गर्नुभएको होला। जुन खालका तिकडम गर्नुभयो, हाम्रो हितमा छैन,' उनले भनिन्, 'विजनेस छैन भनेर संसदबाट कुनै पनि कुरा अगाडि बढ्न दिनु भएन। उहाँहरूले छलफल नै गर्न दिनुभएको छैन। उहाँहरू अलिकति पनि नैतिक भए केही दिनमै संसद् बोलाउनुपर्छ,' उनले भनिन्।

विगतमा पनि हप्ता दिनमै संसदको अधिवेशन बोलाएको रेकर्ड भएकाले फेरि केही दिनमै अधिवेशन बोलाउनुपर्ने र त्यसका लागि ओलीलाई साहस चाहिने उनको भनाई छ। 'दुई अधिवेशनको बीचमा ग्याप राख्नुपर्ने वाध्यता त हुन्छ। उहाँहरूले हाउस साहसपूर्वक दुई चार दिनमै खोल्ने काम गर्नुपर्छ,' उनले भनिन्।

'ठूलो कुरो होइन, अधिवेशन अन्त्य'

पूर्वसभामुख र विभिन्न राजनीतिक दलका तर्फबाट निर्वाचित भएका सांसदहरूले संसद् अधिवेशन हठात् अन्त्य गरेको आरोप लगाइरहँदा प्रधानमन्त्री ओली र उनी निकट नेताहरूले भने संसद् अधिवेशन अन्त्य गर्नु सामान्य कुरा भएको बताएका छन्। पूर्वसभामुख तथा ओली निकट नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले संविधान अनुसार संसद् बोलाउनु र अन्त्य गर्नु सामान्य भएको बताए।

'संविधान अनुसार सरकारले अधिवेशन बोलाउँछ, अन्त्य गर्छ। यो सामान्य कुरा हो। यति पनि नबुझ्ने कोही हुँदैन,' उनले भने।

सरकाले संसदलाई विजनेस नदिएको भन्नुलाई झुटो आरोप भएको उनले दाबी गरे। बरु सरकाले दिएको विजनेसलाई विपक्षीहरूले संसदमा प्रस्तुत नै हुन नदिएर संसदलाई उल्टै बन्देज लगाएको नेम्वाङको आरोप छ।

'अध्यादेश सुरुकै दिनमा प्रस्तुत गर्ने काम भएको थियो। हामीले दिएको विजनेस प्रस्तुत गर्न दिएन भन्ने सरकारको कुरा छ। एमसीसी धेरै अगाडिदेखि प्रस्तुत गरिएको त्यसलाई ल्याउँदै ल्याइएन,' उनले भने।

तर, राजनीतिक रूपमा अन्योल भएकाले संसदलाई पर्याप्त विजनेस नभएको भने नेम्वाङ स्वीकार्छन्। सत्तारुढ दलमा देखिएको संकटका कारण सबै समस्या उत्पन्न भएको उनको तर्क छ।

'पोलिटिकल अन्योल छ नि त। सत्तारुढ दल दुई चिरामात्रै भएन, दुई भएकोमा पनि विवाद उत्पन्न भयो। यस्तो अवस्थामा सत्तापक्षमा देखिएको अप्ठेरोले निश्चय पनि सरकारले के काम कसरी गर्ने भन्ने प्रश्न त उठ्छन् नै,' नेम्वाङले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell