PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

वीरगंजमा विज्ञान तथा प्रविधि विश्वविद्यालयको स्थापना गर्न सम्पूर्ण तयारी पूरा : मुख्यमन्त्री राउत



पहिलोपोस्ट

वीरगंजमा विज्ञान तथा प्रविधि विश्वविद्यालयको स्थापना गर्न सम्पूर्ण तयारी पूरा : मुख्यमन्त्री राउत

वीरगंज : मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ सरकारले वीरगंजमा विज्ञान तथा प्रविधि विश्वविद्यालयको स्थापना गर्न सम्पूर्ण तयारी पूरा गरेको बताएका छन्। वीरगंजमा स्थापना हुने विश्वविद्यालयसम्बन्धी अन्तक्र्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले उच्चस्तरीय जनशक्ति तयार गर्न प्रविधि एवं नवप्रवर्तनको अध्ययन तथा अनुसन्धानलाई समयसापेक्ष व्यापक तथा व्यवहारिक बनाउन विश्वविद्यालयको स्थापना हुन लागेको बताए।

प्रदेश सरकारले यसअघि जनकपुरमा स्वास्थ्य प्रतिष्ठान, राजविराजमा कृषि विश्वविद्यालय तथा वीरगंजमा प्रविधि र विज्ञान विश्वविद्यालय स्थापना कार्य शुरू गरिसकेको उनले बताए। उनले सामान्य सहकार्य हुन नसक्दा काम रोकिने तर प्रदेश सरकार विश्वविद्यालय सम्बन्धी विधेयक २०७७ समेत तयारी गरिसकेको बताए। मुख्यमन्त्री राउतले ठाकुरराम बहुमुखी क्याम्पसकै हाताभित्र विश्वविद्यालय सञ्चालन गरे उत्तम हुने बताए।

वीरगंज महानगरका प्रमुख विजय सरावगीले आवश्यक पर्ने सम्पूर्ण व्यवस्थापन गर्न महानगर तयार रहेको बताए। कृषि औजार कारखानाको जग्गा वा अन्य ठाउँ पनि रहेको र सो ठाउँमा प्रदेश सरकारले लगानी गर्न चाहे विश्वविद्यालय सञ्चालनमा अवरोध नहुने उनले बताए। राजनीतिक हस्तक्षेप नभए आफूले सक्दो सहयोग गर्ने उनले बताए।

कार्यक्रममा सहभागी उद्योगी, व्यापारी, प्राध्यापकहरूले तीस वर्षदेखि वीरगंज विश्वविद्यालयको अवधारणा आएको भए पनि साकार नभएकोमा दुःख व्यक्त गरे। प्रदेश सरकारसँग उचित जनशक्ति, आर्थिक समस्या रहेकोले विश्वास गर्ने वातावरण नरहेको उनीहरुले बताए। प्रदेश सरकारले ल्याएको योजना सराहनीय रहेको र वीरगंजवासीले सो योजनालाई स्वीकार्ने उनीहरुको भनाइ थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell