PahiloPost

Jul 2, 2024 | १९ असार २०८१

कुशलको कौशल ‘ब्याक टू ब्याक अर्धशतक’, भन्छन् : हार्डवर्क गरेको थिएँ



पहिलोपोस्ट

कुशलको कौशल ‘ब्याक टू ब्याक अर्धशतक’, भन्छन् : हार्डवर्क गरेको थिएँ

काठमाडौं: नेपाल, नेदरल्याण्ड्स र मलेसियाबीचको त्रिदेशीय सिरिज पछिल्लो शनिवारबाट कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जारी छ। सिरिजमा नेपाली टोलीले नेदरल्याण्ड्स र मलेसिया दुबैलाई हराउँदै सानदार जित निकाल्यो। नेपाली टोलीले लगातार जित निकालिरहँदा सबैको ध्यान तान्न सफल भए ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेख।

कुशलले त दुबै खेलमा अर्धशतक प्रहार गरे। हुन पनि नेपाली राष्ट्रिय टोलीको कमजोर पक्षको चर्चा हुँदा सुरुमै ब्याटिङ अनि त्यसपछि ओपनिङ ब्याटिङको चर्चा सुरु भइहाल्छ। त्यसैले त पछिल्ला प्रतियोगितामा ओपनरको एक्पेरिमेन्ट भइरह्यो। धेरै जनालाई एक्सपेरिमेन्ट गरिसक्दा पनि ओपनिङको समस्या ज्युँको त्यूँ रहेको थियो। हुन त केही खेललाई मात्र हेरेर भनिहाल्न चाँडो हुन सक्ला तर उनीहरुले एउटा आशाको किरण भने जगाएका छन्।

खासमा नेपालको ओपनिङमा यो सिरिजमा पनि कप्तान ज्ञानेन्द्र मल्लको जोडी नै खोजिएको थियो। तर पूर्वकप्तान पारस खड्कालाई चोट लाग्यो र समीकरण फेरियो। प्रशिक्षक डेभ ह्वाटमोरका अनुसार कुशल र आशिफ दुबै ओपनिङमा आफ्नो स्थान बनाउनका लागि प्रतिस्पर्धामा थिए। तर जब समीकरण फेरियो दुबै जना ओपनिङमा आउने अवसर जुर्‍यो।

‘मैले महसुस गरेको थिएँ आशिफ र कुशल सुरुमा एउटा ओपनरको स्थानका लागि एकअर्कामाथ प्रतिस्पर्धा गरिरहेका थिए,’ प्रशिक्षक ह्वाटमोरले भने, ‘तर पछि पारसलाई चोट लागेपछि दुबै जना ओपनिङमा आउने अवस्था मिल्यो।’

+++

भुर्तेलले जारी सिरिजको प्रदर्शनलाई लिएर आफू खुशी भएको भन्दै सबैभन्दा ठूलो कुरा टिमले जित्नु भएको बताउँछन्।

‘एकदम खुशी लागेको अघिल्लो खेलमा पनि जितिएको थियो। आजको खेलमा पनि जित्दा खुशी नै लागिरहेको छ। ठूलो कुरा त टीमले जितिरहेको छ,’ भुर्तेलले भने, ‘अस्ति डेब्यु खेल थियो खासै प्रेसर थिएन मलाई। यसैको लागि भनेर मैले हार्डवर्क गरिरहेको थिएँ नि त। यो एउटा अवसर भयो यसलाई मिस नगर्ने भन्ने थियो। यही लिएर खेलिरहेको छु।’

भुर्तेलले ओपनिङमा आउन तयारी गरेको केही वर्ष नै भइसक्यो। इमर्जिङ कपको समयदेखि नै आफूले ओपनिङको तयारी अघि बढाएको उनी बताउँछन्। त्यसपछि घरेलु क्रिकेटहरुमा पनि उनी ओपनरकै रुपमा अघि आए। यद्यपि ओपनिङको भूमिकालाई उनी कठिन मान्दैनन्, यसैमा इन्जोए गर्छन्।

‘दुईतीन साल भयो ओपनिङ गर्न थालेको। सजिलो नै छ। त्यस्तो गाह्रो छैन,’ उनले भने, ‘एउटा रोल दिनुभएको छ टीममा। म कसरी खेल्ने र आशिफ कसरी खेल्ने भनेर। त्यही अनुसार हामी खेलिरहेको छौं।’

मलेसियासँगको खेलबारे भुर्तेलले भने: आशिफ र मेरो प्लान नटआउट रहँदै इनिङ अगाडि बढाउने योजना थियो।

नेपाली टोलीको प्रशिक्षक डेभ ह्वाटमोर सिरिजका खेलहरु अपेक्षा अनुरुप नै अघि बढिरहेको बताउँछन्।

‘हाम्रो तयारी पनि राम्रै थियो। जब कुनै कम्पिटिसनाम खेलिँदैन तबसम्म राम्रो आइडिया हुँदैन। दुईवटा खेलमा राम्रो प्रदर्शन भए।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell