PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

अंग्रेजलाई पराजित गरेको किल्लामा विजय उत्सव : यस्तो छ जितगढीको इतिहास



पूजा पन्थी

अंग्रेजलाई पराजित गरेको किल्लामा विजय उत्सव : यस्तो छ जितगढीको इतिहास

बुटवल: नेपाल–अंग्रेज युद्धमा नेपालले जित हासिल गरेको ऐतिहासिक स्थल हो–जितगढी किल्ला। वि.सं.१८७२ वैशाख ७ गते आजकै दिन नेपालले अंग्रेज फौज (इष्ट इण्डिया कम्पनी मातहत) लाई पराजित गरेको थियो। बुटवल उपमहानगरपालिका-१ मा रहेको यो गढी अंग्रेज सरकारका आधुनिक सेनालाई नेपालले परास्त गरेको ऐतिहासिक किल्ला हो।

यो किल्लामा कर्णेल उजिरसिंह नेतृत्वको नेपाली सेनाले अंग्रेज फौजलाई परास्त गरेको थियो। त्यतिबेला इष्ट इण्डिया कम्पनी सरकारको विस्तार विश्वका लगभग सबै मुलुकमा भएको थियो। भारतलाई उपनिवेश बनाएर सयौँ वर्षसम्म उनीहरुले राज गरेका थिए। सोही क्रममा उक्त फौजले नेपालमा आँखा गाडेको थियो र बुटवलको जितगढी लगायतका देशका कैयौँ भागमा आक्रमण गरेको थियो। जितगढीमा अंग्रेज फौज लाई हराएको नेपाल अरु किल्लाहरुमा भने आफै हारेको थियो । जितगढीमा भएको वि.सं. १८७२ वैैशाख ७ गतेको लडाइँमा नेपालसंग हारेपछि अंग्रेज सेना नेपालबाटै फर्किएको बताइन्छ ।

विजय उत्सव दिवसका अवसरमा बुटवल उपमहानगरपालिकाले आज सम्पदा स्थलमा संक्षिप्त कार्यक्रमको आयोजना गर्‍यो। कर्णेल उजिरसिंहको शालिकमा माल्यार्पण गर्दै वीर सहीदहरुको सम्झना र सम्मानमा श्रद्धाञ्जली अर्पण गरेर संक्षिप्त कार्यक्रम गरिएको हो। कोभिड-१९ को महामारीका कारणले यसपटक जितगढीमा सार्वजनिक समारोहको आयोजना नगरिएको उपमहानगरले जनाएको छ।

जितगढीको संरक्षण गर्दै पर्यटनको केन्द्र बनाउने गुरुयोजना किल्लालाई संरक्षण गर्ने योजना उपमहानगरले बनाएको छ। गुरुयोजना अनुरुपका काम अहिले धमाधम भइरहेका छन्। जितगढीको महत्व र गरिमा नयाँ पुस्तालाई बुझाउने गरि बुटवलले स्थानीय पाठ्यक्रममा समेत यो विषयलाई समावेश गरेको छ।

जितगढीमा उतिबेलाकै झल्को दिने खालको कलात्मक गेट, उस्तै पोशाकका कर्णेल उजिरसिंहको पूर्ण कदको शालिक, उनीसंगै लडेका नेपाली सेनाका १२ जना कमाण्डरहरुको अर्धकदको शालिक र छेउमा विशाल राष्ट्रिय झण्डा फहराउने गरि गुरुयोजना अनुरुपका काम अगाडि बढेको उपमहानगरका प्रमुख शिवराज सुवेदीले बताए। साथै त्यतिबेला खनिएको सुरुङको उत्खनन् गरी संरक्षण गर्ने काम भइरहेको छ।

जितगढीलाई बृहत बुटवलको पर्यटन सर्किटको आधार क्षेत्र, नेपाली विरताको ऐतिहासिक केन्द्रका रुपमा लिएर त्यस वरपरका ऐतिहासिक, पुरातात्विक, धार्मिक र सांस्कृत महत्वका क्षेत्रलाई एउटै सर्किटमा जोड्ने गरि गुरुयोजना बनाइएको प्रमुख सुवेदीको भनाइ छ। नेपाल एकीकरणको अभियान (सन् १७४३ बाट) सुरु भएकै बेलामा अंग्रेज र नेपालबीच सीमानामा विवाद सिर्जना भएको थियो। विवाद समाधान गर्न सन् १७४४ मा नेपाली प्रतिनिधिहरु तत्कालीन अंग्रेजको राजधानी मानिएको कलकत्तामा पुगेपनि विवाद समाधान हुन सकेन। सन् १८०४ मा अंग्रेजले भारतको मराठा राज्य आफ्नो अधिनमा लिएपछि नेपालतर्फ अघि बढेको थियो।

सन् १८०४ मा नेपालको एकीकरणका क्रममा पाल्पा राज्य गाभिएपछि नेपालको सीमाना अवधसम्म पुगेको थियो। पाल्पाबाट भागेर गएका राजखलकहरु र भारदारहरुले अंग्रेजको साथ लिएर पाल्पा फिर्ता लिन चाहेका थिए। त्यसैकारण नेपाल र अंग्रेजबीचको सम्बन्ध बिग्रिएको थियो। बिग्रिएको सम्बन्ध अन्ततः युद्धमै परिणत भयो। सुरुका युद्धमा हारेको नेपालले वि.सं.१८७२ वैशाख ७ मा भएको युद्धमा भने तत्कालित अंग्रेजलाई पराजित गर्‍यो।

अमरसिंह थापा (साना) का नाती २० वर्षे उजिरसिंह थापा कर्णेल नियुक्त भएपछि उनैको नेतृत्वमा नेपालले अंग्रेजसँग निर्णायक युद्ध लड्यो र नेपालले जितेको थियो। कर्णेल उजिरसिंह थापाको नेतृत्वमा रहेको नेपाली सेनाले अंग्रेज सेनालाई वि.सं १८७२ वैशाख ७ मा विजय हासिल गरी विजय पताका फहराएको (आजैको दिन) थियो। बुटवल उपमहानगरले विजय भएको दिनको मिति यकिन गर्दै विजय उत्सव दिवस मनाउँदै आएको छ।

 

जितगढी नै पर्यटनको आधार क्षेत्र

जितगढी किल्लालाई बुटवल उपमहानगरपालिकाले पर्यटकीय थलोका रुपमा विकास गर्नेगरि गुरुयोजना बनाएको छ। अहिले गुरुयोजना अनुरुपका काम भइरहेका छन्। जितगढी किल्लासँगै रहेका कभर्ड हल, वडा कार्यालयलगायतका संरचानाहरु हटाइएको छ भने अरु संरचना क्रमश हटाइने छ।

जितगढी किल्ला विश्व इतिहाससँग जोडिएको थलो रहेकाले यसलाई संरक्षण, सम्बर्द्धन र सदुपयोग गर्नेतर्फ उपमहानगर गम्भीर भएर प्रमुख सुवेदीले बताए। उनले जितगढी नै यसक्षेत्रको पर्यटन र इतिहासको आधार क्षेत्र बन्ने दाबी गरे।

‘सारा संसारलाई जित्दै आएको तत्कालिन अंग्रेजले नेपालमा भने हार्नुपर्‍यो, कस्तो ठाउँ रहेछ त त्यो भन्दै अंग्रेजका कोही न कोही सन्तानहरु खोज्दै यहाँसम्म आउनेछन्’ प्रमुख सुवेदीले भने,‘समृद्धिको आधारका रुपमा रहेको पर्यटन क्षेत्रलाई सोही अनुरुप विकास गर्नुपर्छ।’

किल्ला क्षेत्रमा तत्कालीन पहिचान झल्किने वातावरण बनाउन लागिएको उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले बताए। बुटवल उपमहानगरपालिकाले बनाएको जितगढी गुरुयोजनामा अहिले नेपाली सेनाले सहकार्य गरिरहेको र विभिन्न सेनाका शालिकहरु निर्माण भइरहेको उनले बताए। गुरुयोजना अनुसार २ बिगाहा २ कठ्ठा ८.५२ धुरमा पहिलो चरणमा विभिन्न संरचनाहरु निर्माण भइरहेका छन्। जितगढी बटौली युद्ध संग्रहालयको समेत निर्माणकार्य चलिरहेको र गुरुयोजना अनुरुपकै अर्को पाटो रहेको उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले जानकारी दिए।

तत्कालीन मणिमुकुन्दसेनको दरबार, नुवाकोटगढी, रामापिथेकश क्षेत्र हुँदै सहस्रधारा, लक्ष्मीनगर र हिलपार्कसम्म जोडेर पर्यटकीय आकर्षणको स्थल बनाउने बुटवलको योजनामा निजी क्षेत्रको समेत सहकार्य रहेको उपप्रमुख एवम् अनुगमन समिति संयोजक गुमादेवी आचार्यको भनाइ छ।

किल्लाको आसपासमा पर्खाल लगाएर संग्रहालय, पार्क, स्मारकहरु, पुरानो बुटवललाई सांस्कृति सहर बनाउने र तिनाउ किनारमा रात्रीकालीन बजार बनाउनेसम्मका योजना रहेको उपमहानगरका सहरी विकास महाशाखा प्रमुख वरिष्ठ इन्जिनियर सुमन श्रेष्ठले जानकारी दिए। जितगढी नजिकै देखि नुवाकोट गढीसम्म निजी क्षेत्रको लगानीमा केबलकार निर्माणको काम सुरु भएको छ भने तिनाउमा जलपर्यटनको योजना बनिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell