जनकपुरधाम : कोरोना संक्रमणको दोस्रो लहर शुरु भएसँगै जिल्ला प्रशासन कार्यालय धनुषाले कडाइ गर्ने निर्णय गरेको छ। जिल्ला प्रशासन कार्यालय धनुषामा बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले अत्यधिक भिड हुने स्थान हाट बजारमा कडाइ गर्ने निर्णय गरेको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिए।
बैठकमा जिल्लाका विभिन्न स्थानमा रहेका हाट बजारलाई बिहान ७ बजेदेखि १० बजेसम्म र दिउँसो ४ बजे देखि साँझ ७ बजेसम्म मात्र सञ्चालन गर्न दिने निर्णय भएको प्रजिअ बास्तोलाले बताए। यसको अनुगमनको जिम्मा सम्बन्धित स्थानीय तह र नेपाल प्रहरीलाई दिइएको छ।
सरकारी कार्यालयहरुमा अत्यधिक भिड हुने गरेकोले भिडभाड कम गरी संक्रमण जोखिम न्यूनीकरण गर्न अनलाइन प्रणाली लगायत अन्य वैकल्पिक प्रणालीको प्रयोग गर्ने तथा स्थानीय तह अनुसार आलो पालो प्रणालीमार्फत सेवा दिने निर्णय भएको हो।
नेपाल सरकारको निर्णयअनुरुप संक्रमणको विद्यमान अवस्था र जोखिमको विश्लेषण गरी बैशाख मसान्तसम्म विद्यालयहरु बन्द गर्ने तथा परीक्षा शुरु भइसकेको अवस्थामा बैशाख १० गते भित्र सम्पन्न गर्ने व्यवस्था मिलाउन निर्देशन दिइएको प्रजिअ बास्तोलाले बताए।
धनुषाको स्थानीय तहको सीमानाका भारतसँग जोडिएकाले सीमानाकामा अनिवार्य रुपमा हेल्थ डेस्क स्थापना गरी सञ्चालनमा ल्याउने तथा आवश्यकता अनुसार होल्डिङ सेन्टरको व्यवस्था गर्ने निर्णय भएको छ। साथै, उपमहानगरपालिकालाई ३०, नगरपालिकालाई २० र गाउँपालिकालाई कम्तिमा १५ बेडको आइसोलेसन सेन्टर तथा क्वारेन्टाइनको व्यवस्था मिलाउन भनिएको छ।
कोरोना परीक्षणका लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधाममा जनशक्तिको अभाव भएकोले पीसीआर परीक्षणलाई प्रभावकारी बनाउनका लागि कर्मचारी पूर्ति गर्न सामाजिक विकास मन्त्रालयसँग अनुरोध गर्ने निर्णय समेत भएको प्रजिअ बास्तोलाले बताए।
