काठमाडौं : पछिल्लो २४ घण्टामा थप एक हजार ६६७ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। देशभरका प्रयोगशालाबाट भएको ८ हजार ५५ नमुनाको आरटी-पीसीआर परीक्षणका क्रममा ६२६ महिला र एक हजार ४१ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ।
त्यस्तै, नेपाल प्रवेश गर्ने सीमा नाकामा स्थापित हेल्थ डेस्कमा गरिएको ६८३ एन्टिजिन परीक्षणका क्रममा ६९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। त्यस्तै पछिल्लो २४ घण्टामा थप ११ जना कोभिड-१९ को संक्रमणबाट मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ।
योसँगै नेपालमा कोभिड-१९ संक्रमितको संख्या दुई लाख ८७ हजार ५६७ पुगेको छ। त्यस्तै, मृत्यु हुनेको संख्या तीन हजार १०२ पुगेको छ। पछिल्लो २४ घण्टामा २५१ जना संक्रमित संक्रमण मुक्त भएका छन्। योसँगै संक्रमण मुक्त हुनेको संख्या दुई लाख ७५ हजार ८०६ पुगेको छ।
हाल नेपालमा ८ हजार ६५९ सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।
उपत्यकाका तीन जिल्लामा ६९० जना
यसैबीच, पछिल्लो २४ घण्टामा देशभर पुष्टि भएका संक्रमितमध्ये काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्र ४१.४ प्रतिशत हुन्।
संक्रमण पुष्टि भएकामध्ये काठमाडौं जिल्लामा मात्र ५५० जना छन्। त्यस्तै, ललितपुरमा १०५ र भक्तपुरमा ३५ जना छन्।
पछिल्लो २४ घण्टामा बाँके जिल्लामा २६९ जनामा संक्रमण पुष्टि हुँदा रुपन्देहीमा १०५ र दाङमा ६२ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै, चितवनमा ४६ जना संक्रमित पहिचान भएका छन्। कैलालीमा ४५ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै पर्सामा ६३ र मोरङमा ५७ जना संक्रमित पहिचान भएका छन्।
कञ्चनपुरमा भारतबाट आएका ५६ जना संक्रमित
यसैबीच, पछिल्लो २४ घण्टामा भारतबाट नेपाल प्रवेश गर्ने ६९ जना संक्रमितमध्ये ५६ जना कञ्चनपुरमा पुष्टि भएका छन्। कञ्चनपुरको त्रिनगर हेल्थ डेस्कमा ४८ र गड्डा चौकी हेल्थ डेस्कमा ८ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै, इनरुवा हेल्थ डेस्क पर्सामा १०, कृष्णनगर कपिलवस्तुमा २ र काँकडभिट्टाबाट नेपाल प्रवेश गर्ने १ जनामा संक्रमण पुष्टि भएको हो।
हालसम्म भारतबाट नेपाल प्रवेश गर्ने ९४४ जनामा संक्रमण पुष्टि भएको छ। नेपाल प्रवेश गर्ने १४ हजार ५१२ जनाको सीमा नाकामै एन्टिजिन परीक्षण गरिएको छ।
११ प्रतिशत १९ वर्ष मुनिका
यसैबीच पछिल्लो २४ घण्टामा संक्रमण पुष्टि भएकामध्ये ११.१ प्रतिशत बढी १९ वर्ष मुनिका रहेका छन्। पछिल्लो २४ घण्टामा संक्रमण पुष्टि भएकामध्ये १९३ जना १९ वर्ष मुनिका हुन्। जसमध्ये ४३ जना ९ वर्ष मुनिका र १५० जना १०-१९ वर्षका रहेका छन्।
त्यस्तै, २० देखि २९ वर्ष सम्मका २१.२ प्रतिशत छन्। त्यस्तै, ३० वर्ष देखि ३९ वर्ष सम्मका २३.९ प्रतिशत छन्।
