PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

४ घण्टामा नै पीसीआर रिपोर्टः ९ हजार रुपैयाँ तिरेपछि कोरोना भए पनि नभए पनि हातमा नेगेटिभ रिपोर्ट!



पहिलोपोस्ट

४ घण्टामा नै पीसीआर रिपोर्टः ९ हजार रुपैयाँ तिरेपछि कोरोना भए पनि नभए पनि हातमा नेगेटिभ रिपोर्ट!

काठमाडौंः देशभित्र कोरोना संक्रमण बढेसँगै यसले विभिन्न कालाबजारीदेखि ठगीका घटना समेत निम्त्याएको देखिएको छ। कोभिड परीक्षण र रिपोर्टमा समेत यस्ता घटना देखिएका छन्। कोभिड परीक्षण गर्ने ल्याबले नै नक्कली रिपोर्ट बनाउने गरेको समेत खुलेको छ।

जसको पछिल्लो उदाहरण सिनामंगलमा रहेको सुरिया हेल्थ केयर प्रालि। महानगरीय अपराध महाशाखाको टोलीले मंगलबार ल्याबमा छापा मारेको थियो। छापा मार्नुको कारण एउटै थियो -ल्याबले नक्कली रिपोर्ट भन्ने उजुरी। ल्याबले कोरोना भाइरसको परीक्षणको लागि स्वाब नै नलिइ रिपोर्ट नेगेटिभ दिने गरेको भेटिएको छ।

पछिल्लो समय विश्वरभर नै कोभिड संक्रमण देखिएपछि एक देशबाट अर्को देशमा यात्रा गर्न समेत कोभिड १९ परीक्षण रिपोर्ट चाहिन्छ। नभए विदेश यात्रा गर्न पाइँदैन। त्यतिमात्र अन्य केही त्यस्ता क्षेत्रमा समेत कोभिड नेगेटिभ भएको रिपोर्ट पेस गर्नुपर्ने हुन्छ।

सूरियाले स्वाब नै नलिइ रिपोर्ट दिने गरेको खुलेको हो। महाशाखाको छापामा चारवटा नक्कली रिपोर्ट पनि फेला परेको हो।

'स्वाव नै लिइएको छैन। तर रिपोर्टमा नेगेटिभ देखाएको पाइयो,' महाशाखाका डिएसपी दुर्गा रेग्मीले भने।

ल्याबले यसरी रिपोर्ट बनाएकोमा सेवाग्राहीबाट बार्गेनिङ अनुसार रकम लिने गरेको खुलेको छ। मंगलबार फेला परेको नक्कली रिपोर्ट बनाउन प्रहरीले ९ हजार रुपैयाँ समेत लिएको देखिएको छ। ल्याबबाट प्रहरीले चार वटा नक्कली रिपोर्ट फेला पारको थियो। उनीहरुले पैसा बुझाएपछि तीन/चार घण्टामा नै रिपोर्ट दिने गरेको प्रहरीको अनुसन्धानमा देखिएको छ।                         पक्राउ परेका अभियुक्तहरु

'पैसामा कुरा मिलेपछि ३/४ घण्टामा नै नेगेटिभ रिपोर्ट दिने गरेको देखिएको छ। थप अनुसन्धान गरिरहेका छौं,' डिएसपी रेग्मीले भने।

प्रहरीले नक्कली रिपोर्ट बनाएको अभियोगमा ल्याबका ६ जनालाई नियन्त्रणमा लिएको छ। ल्याबका सल्लाहकार तथा एक सञ्चालक समेत रहेका सप्तरीका केपी सिंहलाई समेत नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ। ल्याबका मुख्य सञ्चालक भने भारतीय नागरिक भएको र उनी अहिले भारतमा रहेको खुलेको छ।

पक्राउ पर्नेहरुमा झापा गौरादह नगरपालिकाका ४५ वर्षीय प्रकाश रायमाझी भन्ने चित्र ब.रायमाझी,सप्तरी राजबिराजका ३२ वर्षीय प्रमोद कुमार यादव, महोत्तरी गौशाला नगरपालिका ५० वर्षीय प्रदिप कुमार गिरी,अमन कुमार यादव, मोरङ बिराटनगरका ३२ वर्षीय वजेश पोख्रेल, महोतरीका २२ वर्षीय बादल मिरिङ छिङ, दोलखाका २२ वर्षीय सरोज क्षत्री र सप्तरीका खेलानन्द प्रसाद सिंह रहेका छन्।

यसअघि गत पुस महिनामा पनि प्रहरीले विमानस्थलबाट नक्कली रिपोर्ट लिएर विदेश जान लागेका ७ जना युवालाई नियन्त्रणमा लिएको थियो। उनीहरु फ्लाई दुबईको उडानद्वारा दुबई जान लागेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell