PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

मकवानपुरमा थप ८ जनामा कोरोना पुष्टि, आइसोलेसन र क्वारेन्टाइनको व्यवस्था गरिने



पहिलोपोस्ट

मकवानपुरमा थप ८ जनामा कोरोना पुष्टि, आइसोलेसन र क्वारेन्टाइनको व्यवस्था गरिने

हेटौँडा : हेटौँडामा आज गरिएको २४ जनाको स्वाब परीक्षणमा थप ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। जसमा ५ जना पुरुष र ३ जना महिलामा कोरोना पुष्टि भएको हो। संक्रमण पुष्टि हुनेमा ७ जना हेटौँडा उपमहानगरपालिकाका र १ जना वाग्मती गाउँपालिकाका रहेका छन्।

संक्रमण पुष्टि हुनेहरुमा हेटौँडा ४ की ३५ वर्षीया महिला तथा ४० र ४२ वर्षीय पुरुष रहेका छन्। यसैगरी, हेटौँडा ८ की ३० वर्षीया महिला, हेटौँडा ११ का ३३ वर्षीय पुरुष र हेटौँडा १४ का ३३ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ। यसैगरि, वडा नखुलेको हेटौंडाकी ३२ वर्षीया महिला र वाग्मती गाउँपालिका वडा नम्बर ४ का ३५ वर्षीय पुरुष रहेका छन्।

यसअघि, आज हेटौँडा उपमहानगरपालिका-२ को वनस्खण्डी शहरी स्वास्थ्य केन्द्रमा गरिएको एन्टीबढी परीक्षणमा थप २ जनामा कोरोना पोजिटिभ रिपोर्ट आएको थियो।

पछिल्ला दिनहरुमा मकवानपुरको हेटौँडा उपमहानगरपालिकामा कोरोना संक्रमण तीव्र गतिमा बढेको छ। हिजो पनि मकवानपुरमा ४५ जनाको स्वाब परीक्षण गर्दा थप २१ जनामा संक्रमण देखिएको थियो। योसँगै मकवानपुरमा कोरोना पुष्टि हुनेको संख्या ३ हजार ९ सय ४८ पुगेको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ। मकवानपुरमा हालसम्म कोरोना निको हुनेको संख्या ३ हजार ८ सय ६७ रहेको छ। मकवानपुरमा हालसम्म कोरोनाको कारण ३२ जनाको ज्यान गएको छ।

आइसोलेसन कक्ष र क्वारेन्टाइनको व्यवस्था गरिने

कोभिड-१९ संक्रमण रोकथामका लागि संकट व्यवस्थापन केन्द्र मकवानपुरमा आज बसेको बैठकले हेटौँडा उपमहानगरपालिकाको विभिन्न स्थान र हेटौँडा अस्पताललाई कोभिड-१९ रोग उपचार गर्न आइसोलेसन कक्ष र क्वारेन्टाइनको व्यवस्था मिलाउन जिल्ला स्वास्थ्य मकवानपुरलाई समन्वय गर्ने निर्णय गरेको छ।

उक्त बैठकले स्थानीय निकायको समन्वय र सहकार्यबाट स्थानीय तहमै सञ्चालन भइरहेका विद्यालयलाई कोभिड-१९ को संक्रमणबाट न्यूनीकरण गर्नेतर्फ आवश्यकता हेरी विद्यालय सञ्चालनमा रोक लगाउनुपर्ने निर्णयसमेत गरिएको कोभिड-१९ संक्रमण रोकथाम तथा संकट व्यवस्थापन केन्द्रका अध्यक्ष एवं मकवानपुरका प्रजिअ भरतमणि पाण्डेले बताएका छन्। बैठकले हेटौँडा नगरक्षेत्रमा रहेको मनोरञ्जन सिनेमा हल, होटल, रेष्टुरेण्ट, खेलकुद क्लब दैनिक सञ्चालनमा रोक लगाउने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरका सूचना अधिकारी देवचन्द्र गर्तौलाले जानकारी दिए।

उनका अनुसार, धार्मिक मठमन्दिरलाई पनि भिडभाड नगरी सामान्य पूजाआजा गर्ने र जिल्लामा राजनीतिक दलको तर्फबाट जुलुस, धर्ना, भेला र बैठक सञ्चालन नगर्न अपिल गर्ने निर्णय गरिएको छ। बैठकले आइसोलेसन कक्ष र क्वारेन्टाइनका लागि जिल्लामा आवश्यक दक्ष चिकित्सक, स्वास्थ्यकर्मी र कोभिड-१९ संक्रमित बिरामीको पहिचान गरी संक्रमितलाई स्वास्थ्य उपचारका लागि चितवनको कोभिड अस्पतालमा पठाउन प्रदेश स्वास्थ्य निर्देशनालयलाई सम्बन्धितकर्ताका रुपमा परिचालन गर्ने निर्णय भएको सूचना अधिकारी गर्तौलाले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell