हेटौँडा : वाग्मती प्रदेशसभाको सातौँ अधिवेशन बैठक अन्त्य गरिएको छ। वाग्मती प्रदेशका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाइले एक सूचना जारी गर्दै मंगलवार रातको १२ बजे देखि प्रदेशसभाको चालु सातौँ अधिवेशन बैठक अन्त्य गरेका हुन्।
उनले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेशसभाको चालु सातौँ अधिवेशन बैठक अन्त्य गरेका हुन्। प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले मुख्यमन्त्री डोरमणि पौडेको जवाफ माग गर्दै संसद् अवरुद्ध गर्दै आएको थियो।
माओवादी केन्द्रले सरकारले बिना मापदण्ड विद्युतीय बस खरिद प्रक्रिया अघि बढाएको, पर्याप्त छलफल बिना नै निजी कम्पनीको समयावधी बाँकी रहँदै सुरुङ्ग मार्ग निर्माणको काम अघि बढाएको, आर्थिक सहायता कार्यविधि नै नबनाई मदन भण्डारी फाउण्डेशनलाई ५० लाख रुपैयाँ सहयोग गरिएकोलगायतका विषयमा मुख्यमन्त्री पौडेलको जवाफ माग गर्दै संसद् अवरुद्ध गर्दै आएको थियो।
त्यस्तै, माओवादी केन्द्रले मुख्यमन्त्री पौडेलले सोमबार आह्वान गरेको सर्वदलीय बैठकसमेत बहिस्कार गरेको थियो। केन्द्रले सर्वदलीय बैठकमा प्रस्तुत हुने एजेण्डाका बारेमा असहमति जनाउँदै बैठक बहिस्कार गरेको थियो।
