PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

८ महिनापछि मात्रै सर्वसाधारणको लागि खुल्ला हुनेछ आधुनिक धरहरा टावर, सुनधारामा आउला पानी?

८ महिनापछि मात्रै सर्वसाधारणको लागि खुल्ला हुनेछ आधुनिक धरहरा टावर, सुनधारामा आउला पानी?

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : २०७२ सालको भूकम्पले ढलेको धरहरालाई हरियो कपडाले छोपेर राखिएको छ। त्यसको अगाडि भने नयाँ धरहरा ठडिएको छ। सिमेन्ट, फलाम लगायत आधुनिक प्रविधिको प्रयोग गरेर बनाइएको यो टावरको उद्घाटन वैशाख ११ गते हुने भएको छ।

उद्घाटनको दिन नजिकिँदै गर्दा अहिले धरहा परिसरमा धमाधम काम भइरहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले ११ गते ११ बजे उद्घाटन गर्ने कार्यक्रम रहेकाले त्यहाँ अन्तिम चरणको काम जोडतोडका साथ चलिरहेको हो। नेपाल पुनर्निर्माण प्राधिकरणका सम्पदा विज्ञ इन्जिनियर राजुमान मानन्धरका अनुसार धरहरामा हाल टावरको करिब ९७ प्रतिशत काम सकिएको छ। ११ गते अघि नै तयार पार्ने गरी कामलाइ गति दिएको उनको दाबी छ।

धरहरा निर्माणको काम सम्पन्न भइनसक्दा बैशाख १२ गते अघिको साइतमा उद्घाटन गर्न लागिएको हो। त्यसैले धरहरासँगै निर्माण हुने भनिएको अन्य परियोजनाको काम सम्पन्न नहुँदै उद्घाटन गर्न लागिएको हो।

प्रधानमन्त्री ओलीले बैशाख ११ गते उद्घाटन गरेपनि यो सर्वसाधरणको लागि खुला भने हुनेछैन। किनभने धरहराको आसपास अन्य संरचनाको काम सकिएको छैन। करिब ८ महिनापछि मात्रै धरहरा टावर सर्वसाधरणका लागि खुल्ला गर्ने तयारी गरेको पुनर्निर्माण प्राधिकरणले जनाएको छ।

अहिले बनाइएको धरहराको पछाडी रहेको पुरानो धरहराको बांकी भग्नावशेष संरक्षण नभएको भन्दै पटकपटक आवाज उठ्दै आएको छ। त्यस्तै, सँगै रहेको सुनधारा संरक्षण र उपाकु मार्गको व्यवस्थापन नभएको भन्दै विरोध हुँदै आएको छ। हाल यी सबै कामहरुलाई पूरा हुन बांकी हुँदापनि धरहराको नयाँ स्वरुपमात्रै उद्घाटन गर्न लागिएको हो। धरहराको नवनिर्माणको काम सुरु भएपनि सुनधाराको काकाकूल दृश्यमा सरकारको आँखा पुगेको थिएन। अलपत्र परेको सुनधारासँग जिवन्त संस्कारहरु जोडिएको भन्दै त्यसलाई सार्वजनिक नै राखिनुपर्ने माग बढेपछि यसमा चासो देखाइएको थिएन। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निर्माणको क्रममा रहेको धरहरासँगै सुनधारामा पानी ल्याउने र व्यवस्थित बनाउने तयारी गरिरहेको छ।

अहिले निर्माणको अन्तिम चरणमा रहेको आधुनिक धरहरा पहिला भन्दा फरक हुनेछ। चुना र सुर्कीले बनेको पुरानो धरहारलाई सिमेन्ट र फलामले बनेको टावरले प्रतिस्थापन गर्नेछ। नयाँ धरहरा नौ तले होइन २२ तलाको हुनेछ।

प्राधिकरणले भने पहिला झै माटो र चुनाको प्रयोग गर्दै धरहरा बनाउन नसकिने भन्दै भूकम्प प्रतिरोधात्मक नयाँ धरहरा बनाउने बताएको छ।

अब बन्ने गजुर सहित २२ तल्ल धरहरा बहुप्रयोजनको हुनेछ। पहिला साढे ४ रोपनीमा फैलिएको धरहरा अब ४२ रोपनीमा फैलिँदैछ। त्यसका लागि त्यहाँ रहेको टक्सार र हुलाकको कार्यालय हटाइएको थियो।

धरहरा क्षेत्रमा वाटर फाउन्टेन पार्क सहित ४०० वटा चार पांग्रे गाडी र हजार वटा दुई पांग्रे गाडीलाई पार्क गर्न मिल्ने गरी पार्किङ स्थल बनाइँदैछ। यससँगै त्यहाँ म्युजियमका साथै नेपालमा उत्पादन हुने सामानहरुको पसलहरु रहने छ। माथि जानलाई दुईवटा लिफ्ट रहनेछन् भने पहिला झै सिँढीको व्यवस्था पनि हुनेछ। अहिले बन्ने धरहरामा भने तल्लैपिच्छे आराम गर्ने व्यवस्था मिलाइने प्राधिकरणले जनाएको छ।

हाल बनिरहेको धरहरा भीमसेन थापाले बनाएको धरहरा जस्तै ऐतिहासिक नहुने भन्दै स्थानीय र अभियन्ताले विरोध गर्दै आएका छन्। अभियन्ताहरुले भने अहिले बनिरहेको धरहरा 'पुनर्निर्माण' नभइ 'नवनिर्माण' मात्रै भएको तर्क गर्दै आएका छन्। त्यसैले यसलाई धरहरा नभइ टावर भन्नुपर्ने भन्दै उनीहरुले विरोध गर्दै आएका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell