PahiloPost

Dec 26, 2024 | ११ पुष २०८१

पर्सामा जनगणनाको लागि ७३० कर्मचारी खटाइने



राधेश्याम पटेल

पर्सामा जनगणनाको लागि ७३० कर्मचारी खटाइने

वीरगंज : राष्ट्रिय जनगणनाको लागि पर्सामा दुई चरण गरि ७३० जना कर्मचारी खटाइने भएको छ।

यसअघिका जनगणनामा धेरै संख्यामा सरकारी शिक्षकलाई खटाउने गरिएकोमा यसपटक भने केन्द्रीय तथ्याङ्क विभागले खुला प्रतिस्पर्धाबाट जनगणनामा खटिने गणक र सुपरिवेक्षकको छनोट गरी खटाउने तयारी गरेको जिल्ला जनगणना कार्यालय पर्साका निर्देशक केशव ज्ञवालीले जानकारी दिए।

उनका अनुसार यसपटक शिक्षकलाई प्रशिक्षकको काममा मात्र केही दिनको लागि खटाइने छ। अन्य समयमा विद्यालयको पठनपाठन प्रभावित नहोस भन्ने उदेश्यका यस्तो निर्णय गरिएको हो। साथै बेरोजगारले अवसर पाउन भन्ने उदेश्यले खुल्ला प्रतिस्पर्धा मार्फत कर्मचारी नियुक्त गर्ने प्रकृया अघि बढाएको उनले बताए।

पर्सामा १४० जना सुपरिवेक्षक र ५९० जना गणकको लागि केन्द्रीय तथ्याङ्क विभागले यसअघि अनलाइन आवेदन माग गरेको थियो। जसमध्ये सुपरिवेक्षको लागि २ सयजना सर्टलिस्टमा परेका थिए। उनीहरुको अन्तर्वार्ताको माध्यमबाट छनोट प्रक्रिया भइरहेको ज्ञवालीले बताए।

बैशाख २ गतेदेखि १० गतेसम्म सुपरिवेक्षक छनोट गरी ११ देखि १५ गतेसम्म नियुक्तिपत्र दिने, १६ गतेदेखि २२ गतेसम्म सुपरिवेक्षकको तालिम आयोजना गर्ने, वैशाख २६ गतेदेखि घरपरिवार सूचीकरण तथा वडा कार्यालयमा गएर सामुदायिक प्रश्नावली संकलनमा खटाउने कार्यालयको तयारी छ।

त्यसैगरी वैशाख १५ गतेसम्म गणकहरुको सर्टलिस्ट आएपछि उनीहरुको पनि छनोट गरिनेछ।

मुख्य जनगणना जेठ २५ देखि असार ८ गतेसम्म गरिने कार्यक्रम रहेको छ। असार ७ गतेसम्म घरदैंलोमा पुगेर जनगणना गरिन्छ भने असार ८ गते घर नभएका, असहाय लगायतको जनगणना गरिने कार्यक्रम छ।

ज्ञवालीका अनुसार पर्साको वीरगंज महानगरपालिकाको लागि जनगणना सम्पन्न गराउन जनगणना कार्यालय (तथ्याङ्क कार्यालय पर्सा) ‘क’ केन्द्र र स्थानीय जनगणना कार्यालय परवानीपुर ‘ख’ केन्द्र (भोजभगत माविको पुरानो भवन), तेस्रो कार्यालयको रुपमा पर्सागढीको बढनिहारमा, चौथोमा जीराभवानीको सेढवामा, पाँचौं विन्ध्वासिनीको बहुअर्वाभाठा र छैठौमा कालिकामाई गापाको विरञ्चीबर्वामा जनगणना कार्यालय स्थापना गरी नजीकका पालिकाहरुको जनगणना गर्ने लक्ष्य राखिएको छ ।

जनगणना कार्यालय वीरगंज र परवानीपुरको कार्यालयले वीरगंज महानगरको ३२ वटा वडा, बहुअर्वाभाठाको कार्यालयले बहुदरमाई नपा, पोखरिया नपा, विन्ध्यवासिनी गापा, सेढवाको कार्यालयले जीराभवानी, ठोरी, पटेर्वासुगौली, जगरनाथपुर गापा, कालिकामाईको विरञ्चीबर्वाको कार्यालयले कालिकामाई, धोबिनी, छिपहरमाई, पकाहामैनपुर गापा र बढनिहारको कार्यालयले पर्सागढी र सखुवाप्रसौनी गापाको जनगणना गर्नेछ ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell