वीरगंज : वीरगंजबाट एक जना कोरोना संक्रमितलाई थप उपचारको लागि हेलिकोप्टरबाट काठमाडौं पठाइएको छ। वीरगंज ५ का ५७ वर्षीय एक व्यवसायीलाई बुधवार दिउँसो मनाङ एयरलाइन्सको हेलिकोप्टरबाट काठमाडौंको मेडिसिटी अस्पतालमा पठाइएको हो।
वीरगंजको गण्डकस्थित नारायणी वयोधा अस्पतालमा आकस्मिक ल्यान्डिङ गरी उनलाई काठमाडौं रेफर गरिएको अस्पताल स्रोतले जानकारी गराएको छ। विगत ५ दिनदेखि श्वासप्रश्वासमा समस्या आएपछि उनको उपचार नारायणी वयोधा अस्पतालमा भइरहेको थियो।
उनको छातीमा निमोनिया बढी देखिएको र सुधार नभएपछि उनलाई हेलिकोप्टरबाट काठमाडौं पठाइएको हो। उनको मंगलवार नारायणी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा रिपोर्ट पोजिटिभ आएको थियो। यसअघि सोमवार पनि एक जना संक्रमितलाई थप उपचारको लागि काठमाडौं पठाइएको थियो।
वीरगंजमा दिनदिनै संक्रमित थपिने क्रम बढिरहँदा नारायणी अस्पताल तथा नारायणी वयोधाले मात्र संक्रमितको उपचार गर्न अग्रसरता देखाएका छन्। वीरगंजमा पर्याप्त मात्रामा कोभिड अस्पताल सञ्चालन नहुँदा संक्रमितहरुको उपचारमा समस्या भइरहेको छ।
पछिल्लो समय वीरगंजको अवस्था नाजुक बन्दै गएको चिकित्सकहरुले बताएका छन्। जिल्ला संकट व्यवस्थापन केन्द्र पर्साले नेशनल मेडिकल कलेजको बाबा होटलमा यसअघि सञ्चालनमा आएको कोभिड अस्पताल पुनः सञ्चालन गर्न स्वीकृतिको लागि स्वास्थ्य मन्त्रालयमा पत्राचार गरे तापनि हालसम्म त्यसबारे कुनै जवाफ नआएको पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले जानकारी दिए।
