PahiloPost

Dec 16, 2024 | १ पुष २०८१

कोभिड-१९ मा धर्मले विभाजित भारत: मुस्लिम समुदायको जमात मानव बम, कुम्भमा स्नान गर्ने श्रद्धालु!



विधुर ढकाल

कोभिड-१९ मा धर्मले विभाजित भारत: मुस्लिम समुदायको जमात मानव बम, कुम्भमा स्नान गर्ने श्रद्धालु!

काठमाडौं: भारतको कुम्भ मेलाबाट फर्किएका पूर्वराजा ज्ञानेन्द्र र उनकी पत्नी कोमलसहित भ्रमण दलका सदस्यहरुमा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ।  यतिबेला भारतको उत्तराखण्डमा हरेक १० वर्षमा लाग्ने कुम्भ मेला चलिरहेको छ। सो कुम्भ मेलामा लाखौँ मानिस कोभिड-१९ सम्बन्धी स्वास्थ्य मापदण्ड पालना नगरी उपस्थित भएका छन्।

अहिले भारतमा दैनिक दुई लाख बढीमा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। मंगलबार मात्र भारतमा २ लाख ९५ हजार ४१ जनामा संक्रमण पुष्टि हुँदा दुई हजार २३ जनाको मृत्यु भएको छ।

१ अप्रिलबाट हरिद्वारमा सुरु भएको कुम्भ मेलामा ३० अप्रिलमा सकिँदै छ। हरिद्वारको कुम्भ मेलामा १० अप्रिल देखि १४ अप्रिलको पाँच दिनमा मात्र एक हजार ७०१ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको बीबीसी हिन्दीले जनाएको छ।

यतिबेला भारतका मिडिया, सामाजिक सञ्जालमा दुई वटा तस्विर देखिँदै आएका छन्- पहिलो कोभिड-१९ ले आक्रान्त समाज र त्यसले निम्त्याएको पीडा भने अर्को उत्सव जहाँ लाखौँ मानिसहरु धर्मको नाममा गंगामा डुबुल्की मारिरहेका छन्। दोस्रो घटनाप्रति देशका पनि राजनीतिक नेतृत्वलाई कुनै चिन्ता छैन। कोभिड-१९ को महामारी बढ्दै जाँदा संक्रमण फैलाउने डर पनि कसैलाई देखिँदैन। यसलाई उनीहरुले कुनै अपराध मानेका छैनन्। उनीहरु मान्छन् कि यो कुम्भ मेलामा सहभागीमाथि भगवानले आफ्नो कृपा वर्षाइरहेका छन्।

भारतीय सञ्चार माध्यमहरुले पहिलो तस्विरमा मानिसहरुको आँसु देखाइरहेका छन्। अस्पतालमा भरिएका छन्। आम मानिस उपचारका लागि लाइनमा छन्। परीक्षण गर्नेदेखि उपचारसम्म मात्र होइन मृतकका शव पनि मसानघाटमा जल्ने लाइनमा छन्।

आम मानिसहरु मृत्युपछि पनि लाइनमा पर्खिनुपरेको दर्दनाक तस्विर बीबीसी हिन्दीले प्रकाशित गरेको छ। संक्रमित उपचारका लागि आफ्नो गाडीमा अक्सिन मास्क लिएर कुर्दा-कुर्दै मरेका छन्।

वर्षौँसम्म नयाँ चिकित्सक उत्पादनमा योगदान पुर्‍याएका चिकित्सक पनि अन्तिम समयमा अस्पतालमा चिकित्सकीय सेवा नपाइ मृत्युवरण गरेका घटना पनि सार्वजनिक भएका छन्।

देशका विभिन्न ठाउँमा लकडाउनका कारण प्रवासी कामदार पलायन हुन थालेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निर्वाचन क्षेत्रमै मानिस उपचार नपाएर मृत्युवरण गरिरहेका छन्। सोमबार बनारसबाट एउटा तस्विर भाइरल बन्यो जहाँ एउटी वृद्ध आफ्नो छोराको लास इ-रिक्सामा लिएर असाहय प्रस्तुत भइरहेकी थिइन्। कोभिड-१९ संक्रमण पुष्टि भएसँगै उनी छोरालाई इ-रिक्सामा चढाएर अस्पताल अस्पताल पुगिन तर अस्पतालले उपचार गरेनन्। रिक्सामा नै उनका छोराको मृत्यु भयो।

मोदी भने अर्कोतिर पश्चिम बंगालको चुनावी अभियानमा लागिरहेका छन्।

भारतमा देखिएको यो प हिलो दुनियाँ हो। त्यही भारतमै अर्को भारत पनि देखिएको छ। जहाँ 'पवित्र स्नान'का नाममा लाखौँ मानिस गंगामा स्नान गरिरहेका छन्। भारतीय मिडियाहरुले उनीहरुलाई श्रद्धालुको संज्ञा दिइरहेका छन्। उनीहरुले गंगाको पानीमा आफ्नो पाप पखालिरहेका छन् जबकी कोभिड-१९ को संक्रमणको ग्राफले हरेक दिन रेकर्ड तोडिरहेको छ।

उस्तै कथा: एउटा मानव वम, अर्को श्रद्धालुको कुम्भ

गंगा स्नान गर्दै पाप पखालिरहेको यो यही भीडको हिस्सा हो जसले गत वर्ष दिल्लीमा भएको तबलिगी जमातमाथि कोभिड-१९ संक्रमण फैलाउने 'मानव वम' को संज्ञा दिएको थियो। राज्य, शक्ति र सत्ताले कसरी अल्पसंख्यक माथि प्रहार गर्छ? कसरी आरोप लगाउँछ भन्ने उदाहरण हो यो। गत वर्ष भारतको राजधानी नयाँ दिल्लीस्थित निजामुद्दिन मरकज मस्जिदमा आयोजना गरिएको एक धार्मिक सभाबाट कोभिड-१९ को संक्रमण फैलिएको आशंका गरिएसँगै त्यहाँका मिडिया, राजनीतिक कर्मी, सत्तारुढ दल भारतीय जनता पार्टीका नेताहरुले अल्पसंख्यक मुस्लिम समुदायमाथि प्रहार गर्दै सामाजिक बहिस्कार सम्म गरेका थिए। मेनस्ट्रिम मिडियाले मुस्लिम समुदायमाथि 'मानव बम'को संज्ञा दिएका थिए।

बंगलेवाली मस्जिद समेत भनिने निजामुद्दिन मरकजमा आयोजित सभामा दैनिक १ हजार भन्दा धेरै मानिस सहभागी भएको सभामा पुगेका २४ जनामा भाइरसको संक्रमण देखिएपछि उनीहरु माथि तालिवानी भएकोसम्म आरोप लाग्यो।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘जनता कर्फ्यू’घोषणा गरेको अघिल्लो दिन धेरै संख्यामा मानिस मस्जिदमा भेला भएका थिए। भारतीय प्रहरीका अनुसार उक्त सभामा भारतीयसँगै २ सयभन्दा बढी विदेशी नागरिक समेत सामेल भएका थिए। सभामा १९ जना नेपाली नागरिक समेत सहभागी भएका थिए। नेपालसँगै मलेसिया, म्यान्मार, अफगानिस्तानका नागरिक समेत त्यहाँ पुगेका थिए।

तर, कोभिड-१९ को ग्राफ उकालो लाग्दै गर्दा हरिद्वारमा लागेको कुम्भ मेला भने त्यही जमातका लागि श्रद्धालुको भीड बनेको छ। उत्तराखण्डका मुख्यमन्त्री तिरथसिंह रावतले हरिद्वारको कुम्भ मेलालाई गत वर्ष दिल्लीको निजामुद्दिन तबलिगी जमातसँग तुलना गर्न नमिल्ने दाबी गरेको बीबीसीले जनाएको छ।

उनले त्यतिवेला जमातमा सहभागी एउटा बन्द कोठामा रहेको र कुम्भ मेलामा सहभागी खुला आकासमा रहेको भन्दै सुरक्षित रहेको दाबी गर्दै आएका छन्। 'यहाँ त गंगा बगिरहेको छ। मा गंगाको प्रवाह र आशीर्वादले कोरोनाको संक्रमण टाढा रहने छ। मा गंगाले यसलाई फैलिने दिने छैनन्। त्यसैले जमातसँग यसलाई तुलना गर्ने प्रश्न आउँदैन्,' उनले भनेका थिए।

गत साल अप्रिलमा नै कैयौँ मिडियाले दिल्लीको जमातलाई निसाना बनाउँदै ह्यासट्यागको ट्रेन्डिङ चलाएका थिए- कोरोना जिहाद भन्दै।

मार्चको २५ तिर जब भारत भर कोभिड-१९ को संक्रमण २५० को हाराहारीमा थियो त्यतिवेला भाजपाका आइटी सेलका अमित मालवीयले नजामुद्दिनमा तबलिगी जमातमा मानिस भेला हुनु अपराध भएको भन्दै आलोचना गरेका थिए। त्यस्तै १४ अप्रिलमा ट्वीट गर्दै उनले दिल्लीका मुख्यमन्त्रीलाई निसाना लगाउँदै कोभिड-१९ नियन्त्रणमा असफल भएको आरोप लगाएका थिए।

हरिद्वारमा भएको कुम्भ मेलाका दौरान १२ र १४ अप्रिलमा शाही स्नान भयो। त्यहाँ नेपालका पूर्वराजा ज्ञानेद्र 'नेपाल नरेश' को रुपमा शाही स्नानमा सहभागी भएका थिए। तर. त्यस स्नानमा अधिकांशले मास्क लगाएका थिएनन्। न त भौतिक दूरी नै काम गरेका थिए। त्यसैको सिकार अहिले पूर्वराजा परिवारका सदस्य संक्रमित भएका छन्।

भारतमा पाँच अप्रिलमा पहिलोपटक एकैदिन एक लाख बढीमा संक्रमण पुष्टि भएको थियो। त्यसको भोलिपल्ट उत्तराखण्डका मुख्यमन्त्री स्वम कुम्भ मेलामा उपस्थित भए उनले लगाएको मास्क पनि चिउडोसम्म खस्किएको थियो। साथै उनले कोभिड-१९ को नाममा श्रद्धालुलाई कुम्भ मेलामा नरोकिने घोषणा गरेका थिए। 'ईश्वरमाथिको आस्थाले भाइरसलाई खत्तम गरिदिन्छ मलाई यसप्रति पूर्ण भरोसा छ,' उनले भनेका थिए।

यति हुँदा हुँदै पनि भारतीय सञ्चारमाध्यम प्रधानमन्त्री मोदीलाई भ्याक्सिन गुरुको रुपमा ब्याख्या गरिरहे। त्यही उनीहरुले कुम्भ मेलाका श्रद्धालुको तस्विर पनि देखाइरहे। त्यही तस्विरमा स्पष्ट देखिन्छ की उनीहरुले कोभिड-१९ स्वास्थ्य मापदण्डको धज्जी उडाइरहेका थिए। 

वासिङटन पोस्टले भारतमा जारी कुम्भ मेलालाई रोकेर मोदीले आफ्ना भोट बैंकलाई बिच्काउन नचाहेको लेखेको छ।

अल जजिराले पनि प्रधानमन्त्री नरेन्द्र मोदी सरकारले संक्रमण नियन्त्रणका लागि कुम्भ मेलामा पावन्धि नलगाएको आरोप लगाएको छ। हिन्दु बाहुल्य देशमा मोदी सरकार धार्मिक नेताहरुलाई चिड्याउन नचाहेको भन्दै कुम्भ मेला 'सुपर स्प्रिडर'को रुपमा उभिएको समाचारमा उल्लेख छ। सरकारले कोभिड-१९ नियन्त्रणका लागि काम गरिरहेको बताइँरहँदा त्यहाँका अधिकारीहरुले पनि लाखौँ मानिसहरुको परीक्षणका लागि समय, जनशक्ति तथा स्रोत साधन नभएको भन्दै सरकारसँग त्यसका लागि क्षमता नभएको बताएको उल्लेख छ।

अन्तर्राष्ट्रिय मिडियामा कुम्भ मेलालाई लिएर भारतीय सरकारको आलोचना भइरहँदा त्यसतर्फ भारत सरकार सचेत भएको देखिँदैन।

अर्कोतिर केही संख्यामा संक्रमण देखिँदा अल्पसंख्य मुस्लिम समुदायमाथि मानव बमको आरोप लगाइरहेका भारतीय मिडिया लाखौँ संक्रमित बढ्दै जाँदा कुम्भ मेला 'सुपर स्प्रेडर'को रुपमा अगाडि आउँदा अझै उनीहरुलाई श्रद्धालुको नजरमा हेरिरहेका छन्।

माखनलाल चतुर्वेदी युनिभर्सिटीका प्रध्यापक मुकेस कुमार मिडिया भगवाकरण भएको आरोप लगाउँछन्। 'उनीहरुलाई तीब्र रुपमा फैलिरहेको कोरोना भाइरसको गम्भीर अवस्थाप्रति चिन्ता छैन। उनीहरुलाई सिर्फ सत्ताधारी पार्टीको ऐजेण्डालाई अनुसरण गर्नुपर्ने चिन्ता देखिन्छ,' उनले बीबीसीसँग भनेका छन्।  

उनका अनुसार मिडियाले सबै चिचलाई हिन्दु-मुस्लिमको आँखाले हेर्ने गरेका छन्। 'जतिखेर तबलिगी जमातको मामिला बाहिर आएको थियो मिडियाले एक किसिमको हिंसा फैलाउने अवस्था सिर्जना गरेका थिए। पछिल्लो समय पनि कैयौँ धार्मिक मेला आयोजना भएका छन्। तर, धर्म परिवर्तन हुँदा उनीहरुको चश्मा बदलिन्छ। हिन्दुका पर्व आउँदा उनीहरुको बचाउ गर्न लाग्छन्,' उनले भनेका छन्।

कोभिड-१९ संक्रमण फैलाउन तबलिगी जमातको हात भएको भन्ने आरोपलाई अदालतले नै खारेज गरिसकेको छ। फैसला गर्ने बेला अदालतले मिडिया प्रहरीसहितका चेतावनी दिँदै अल्पसंख्य समुदायविरुद्ध प्रोपोगाण्डा फैलाएको टिप्पणी गरेको थियो। सुरुवाती चरणमा कोभिड-१९ संक्रमण फैलिनुमा मुस्लिम अल्पसंख्यकलाई दोष दिएर सरकार उम्किन खोजेको थियो।

कोभिड-१९ संक्रमण फैलिन रोक्नका लागि बोर्ड परीक्षास्थित भएका छन्। कोभिड-१९ को दोस्रो लहर फैलिँदै गर्दा यो पहिले भन्दा खतरनाक भएको चिकित्सकहरुले चेतावनी दिएका छन्। तर, यही हिन्दुको पर्वको सवाल आउँदा सरकार नै सहभागी भएर कुम्भ मेला आयोजना गरेको छ। त्यति मात्र होइन अझै यसलाई पवित्र करार दिन खोजिँदै छ। यो कुम्भ मेला अल्पसंख्यक मुस्लिम समुदायको कुनै सानो धार्मिक भेला पनि हुन्थ्यो त उनीहरु यतिवेला आतकंवादी करार भइसक्ने थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell