PahiloPost

May 22, 2024 | ९ जेठ २०८१

नारायणी अस्पतालमा अक्सिजन अभाव, कोरोना संक्रमित र अन्य बिरामीलाई सँगै राखेर उपचार गरिँदै



राधेश्याम पटेल

नारायणी अस्पतालमा अक्सिजन अभाव, कोरोना संक्रमित र अन्य बिरामीलाई सँगै राखेर उपचार गरिँदै

वीरगंज : प्रदेश २ को एक मात्र महानगरपालिका वीरगंजमा कोरोना संक्रमितको उपचारमा समस्या उत्पन्न हुन थालेको छ। वीरगंजमा पछिल्लो समय दिन प्रतिदिन कोरोना संक्रमितको संख्या बढ्न थालेपछि उपचारमा स्वास्थ्य निकाय असफल हुन थालेको चिकित्सकहरुको भनाइ छ।

वीरगंजस्थित सरकारी अस्पताल नारायणी अस्पतलामा अहिले कोरोना संक्रमितलाई भर्ना गरी उपचार गर्ने प्रशासनको तयारी छ। तर, नारायणी अस्पतालले लक्षणसहितका गम्भीर किसिमका कोरोना संक्रमितको उपचारमा लापारवाही गरिरहेको चिकित्सकहरुले बताएका छन्। बुधवार बिहान नारायणी अस्पतालको आकस्मिक विभागमा उपचार गराइरहेका संक्रमितहरुको लागि अक्सिजन अभाव भएको चिकित्सकहरुको भनाइ छ।

‘नारायणी अस्पतालमा पहिलेको जस्तो व्यवस्थापन राम्रोसँग गरिएको छैन, लथालिंग अवस्था छ’, एक चिकित्सकले भने, ‘आज व्यवस्था हुन्छ, भोलि व्यवस्था हुन्छ भनेर मात्र भन्दै आइएको छ, तर चुस्तदुरुस्त सेवा प्रवाह गरिएको छैन।’

नारायणीको ईमरजेन्सी र अब्जरभेशन वार्डका सबै शय्या पूर्ण रुपमा भरिएको छ। कतिपय संक्रमितहरु भुईँमै उपचार गराउन आकस्मिक कक्षमा पीसीआर रिपोर्ट लिएर आइरहेको बताइएको छ। संक्रमित र शंकास्पद तथा अन्य रोगका उपचार गराउन आएका बिरामीहरुलाई पनि एउटै वेडमा तथा नजिकै राखेर उपचार गर्नु परेको अस्पतालका चिकित्सकहरुको भनाइ छ।

यस विषयमा नारायणी अस्पतालका कोभिड सयोजक डा सरोज रोशन दासका अनुसार केस बढी रहेकोले व्यवस्थापन गर्न समस्य थपिएको बताए। उनका अनुसार अक्सिजनको व्यवस्थापनको लागि पहल भइरहेको र उत्पन्न समस्यालाई समाधान गर्न अस्पताल प्रशासन प्रतिबद्ध रहेको प्रतिक्रिया दिए।

नारायणीमा हाल आइसीयू र आकस्मिकमा गरी ३० जना श्वासप्रश्वासका गम्भीर संक्रमितहरु भर्ना भई उपचार लिइरहेका छन्। उनीहरुमध्ये ८० प्रतिशतको स्वास्थ्य अवस्था खराब रहेको बताइएको छ। स्थानीय संकट व्यवस्थापन केन्द्र तथा नारायणी अस्पताल व्यवस्थापनले अझै सशक्त भएर सेवा दिनुपर्ने चिकित्सकहरुको माग छ।

नारायणी अस्पतालका मेसु डा सञ्जय ठाकुरले मोबाइल स्वीच अफ गरेर बसेको पनि चिकित्सकहरुको गुनासो छ।

‘मेसु सरलाई फोन गर्दा प्रायः जसो लाग्दैन, लागे पनि उठ्दैन,’ एक डाक्टरले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell