PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

पार्टी कार्यालय उद्घाटनमा ओलीले दिएको निम्तो नेपालले गरे अस्वीकार, के आज फेरि होला त दुईजना बिच भेट?



प्रकाश भण्डारी

पार्टी कार्यालय उद्घाटनमा ओलीले दिएको निम्तो नेपालले गरे अस्वीकार, के आज फेरि होला त दुईजना बिच भेट?

काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आन्तरिक छलफललाई तिब्र पारेका छन्। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग बुधवार भएको छलफल र अबको रणनीतिबारे निकटम नेताहरुसँग परामर्शमा जुटेको नेपाल निकट स्रोतले बताएको छ।

बिहीवारको छलफलमा ओलीले गुटगत गतिविधि छोडेर बैठकमै आउन आह्वान गरेपछि नेपालले आफू निकट नेताहरुसँग त्यस विषयलाई लिएर संवाद अगाडि बढाएका हुन्। नेपालले भने २०७७ फागुन २३ गतेको फैसलाले एमालेलाई २०७५ जेठ २ को अवस्थामा पुर्‍याएको भन्दै एकलौटी निर्णय फिर्ता लिनुपर्ने अडान पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसामु राखेका थिए।

मेरियट होटलमा झण्डै दुई घण्टा दुई नेताबिच 'वान अन वान' वार्ता भए पनि कुनै निष्कर्ष भने ननिस्किएको नेपाल समूहका नेताहरुले बताइरहेका छन्। हिजोको भेटमा फेरि आज भेट्ने सहमति भएको ओली समूहका नेता सुवास नेम्वाङले बताए। यद्यपि, आजको भेटबारे अहिलेसम्म कुनै टुंगो भने लागेको छैन।

'हिजोको वार्ताअनुसार आज भेट्ने सहमति हो। तर, आज भेट हुन्छ कि हुँदैन अहिले नै तय भइसकेको छैन,' उनले भने।

थापाथलीमा आज पार्टी उद्‍घाटन र बल्खुमा पार्टी कार्यालयको शिलन्यासमा ओलीले नेपाललाई फोन गरेर डाकेका थिए। तर  नेता नेपालले भने आउन नमानेको नेम्वाङको भनाई छ।

'उहाँलाई बोलाउने भन्ने हिजै कुराकानी भएको हो। तर आउनु भएन,' उनले भने।

लामो समयपछि दुई नेताबिच भएको छलफलले संवादहीनता तोडेको भन्दै दुवै समूहका नेताले भेटलाई सकारात्मक रुपमा लिनुपर्ने तर्क गरिरहेका छन्।

ओलीले नेपाल समूहका ३२ जना सांसदलाई पदबाट हटाउन भन्दै स्पष्टीकरण सोधेका छन्। उक्त स्पष्टीकरण विरुद्ध नेपाल समूह हिजै सर्वोच्च अदालमा उपस्थित भए पनि रिट निवेदन दर्ता भएको छैन। ओलीले नेपाल सहित ४ नेतालाई एमालेबाट ६ महिनाका लागि निलम्बन गरेका थिए।

ओली विरुद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)को एउटा खेमाले प्रतिनिधिसभामा अविश्वासको प्रस्ताव ल्याउन गृहकार्य गरिहेका बेला ओलीले नेपाललाई फकाउने कोसिस गरेका हुन्।

नेपालले भने आफ्नो समूहका नेतालाई ओलीप्रति विश्वास नभएको ब्रिफिङ गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell