काठमाडौं : प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा समूहगत कुराकानीको सुनुवाइ नहुने बताएका छन्।
बल्खुमा पार्टी कार्यालयको शिलन्यास गर्दै ओलीले एक्ला-एक्लै भएका गुनासोमात्रै आफूले सम्बोधन गर्ने बताए। पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसँग बुधवार भएको २ घण्टा लामो वार्तापछि ओलीले यस्तो अभिव्यक्ति दिएका हुन्।
हिजोको भेटवार्तामा पनि ओलीले नेकपा एमाले निकै अघि बढिसकेकाले पछि फर्किने अवस्था नभएको र नेताहरुका ब्यक्तिगत गुनासोको मात्र सुनुवाइ हुने अडान राखेका थिए।
पार्टीमा अब गुट चल्न नदिने ओलीको दावी थियो। 'व्यक्तिगत तहमा कुराकानी हुन सक्छ। व्यक्तिगत तहमा जिम्मेवारी लिने कुरा हुनसक्छ। पार्टीमा गुट बनाउने, मेरो भागमा यति भन्ने अब पार्टीमा चल्दैन। त्यस्तो भयो भने के हुन्छ? पार्टी खोक्रो हुन्छ,' बल्खुमा सम्बोधनका क्रममा ओलीले भने।
नेकपा एमाले र नेकपा माओवादी बिच एकता भए पनि पार्टी सांगठनिक रुपमा सबल नहुँदै विभाजित भएको ओलीले बताए।
'विगत तीन वर्ष हामीले एकता त गर्यौं तर संगठन चलेकै थिएन। संगठन बन्न सकेन,' उनले भने। नेपाल समूहलाई ओलीले आत्मालोचना गरेर पार्टीमा फर्किन आग्रह गरे। साथै पार्टीमा फर्कन गरेको आग्रहलाई कमजोरी नठान्न चेतावनी पनि दिन भ्याए।
'हामी सकेसम्म साथीहरुलाई गल्ती महसुस गरेर अनुशासित भएर पार्टीमा आउन हामीले अहिले पनि चाहिरहेका छौं। त्यसलाई कसैले कमजोरी ठान्यो भने, कसैले पार्टीलाई फेरि बिथोल्न खोज्छ भने अथवा समूहगत रुपमा गुटको कुरा गर्छ भने त्यो कुरा सुनिँदैन,' उनले भने।
