PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

मरिसकेका व्यक्तिलाई 'ज्युँदो' बनाउँदै जग्गा कीर्ते : कसरी बन्यो जग्गा बेच्नेसम्मको प्रपञ्च?



पहिलोपोस्ट

मरिसकेका व्यक्तिलाई 'ज्युँदो' बनाउँदै जग्गा कीर्ते : कसरी बन्यो जग्गा बेच्नेसम्मको प्रपञ्च?

काठमाडौं : मरिसकेको मानिसको नाममा रहेको जग्गा कीर्ते गरेर ठगी गरेको अभियोगमा प्रहरीले १० जनालाई पक्राउ गरेको छ।

१ नम्बर प्रदेश प्रहरी, जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनीको संयुक्त टोलीको अनुसन्धानपछि उनीहरूलाई विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको हो।

पक्राउ पर्नेहरूमा झापाका ३९ वर्षीय मङ्गलसिंह राजवंशी, ५२ वर्षीय नवीन कोइराला, ५० वर्षीय लीलाधर राजवंशी, ३७ वर्षीय बलराम विश्वकर्मा, भुपदेव कटुवाल, लेखनाथ खनाल, गोविन्द वान्तवा (मिलन), ७१ वर्षीय देवी प्रसाद पाण्डे, ३३ वर्षीय रञ्जु राई र मोरङका ४८ वर्षीय राजन विश्वकर्मा रहेका छन्। पक्राउ परेका नवीन कोइराला नापी कार्यालयका पूर्व कर्मचारी हुन्। त्यस्तै भुपेदेव कटुवाल नेपाल विद्युत् प्राधिकरण फिक्कल शाखाका कर्मचारी भएको खुलेको छ।

त्यस्तै, अन्य ६ जना फरार रहेको प्रहरीले जानकारी दिएको छ। फरार हुनेहरूमा भूमिसुधार तथा मालपोत कार्यालय, भद्रपुर झापाका अधिकृत चेतन अधिकारी, गौरादह नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष बलराम खरेल, भूमिसुधार तथा मालपोत कार्यालय, भद्रपुर झापाका तत्कालीन नायव सुब्बा हरि तिवारी  लगायत रहेका छन्।

'उनीहरुले लामो समयको योजनामा आवश्यक कागजपत्र किर्ते गरेर जग्गा पास गरेको देखियो,' जिल्ला प्रहरी कार्यालय झापाका एसपी सानुराम भट्टराइले भने।

उनीहरूले झापा बिर्तामोड नगरपालिका वडा नम्बर १ मा रहेको टुंग बहादुर बस्नेतको कित्ता नम्बर ४१८३ को १ कठ्ठा १३.७५ धुर जग्गा कीर्ते गरेर ठगी गरेको प्रहरीले जानकारी दिएको छ। मृत्यु भएका बस्नेतको नागरिकतामा भएको विवरण समावेश भएको नक्कली नागरिकता बनाई गत असोज २८ गते  मङ्गलसिंह राजवंशीको नाममा वारेशनामा बनाएको र उक्त वारेशनामा मार्फत् झापा बिर्तामोडका रञ्जु राईको नाममा राजीनामा पास गरेको खुलेको थियो।

पूर्व कर्मचारी र मालपोत कार्यमा आवतजावत गरिरहने जग्गाको कारोबारमा संलग्न व्यक्तिहरूको मिलेमतोमा ३ वर्ष अगाडिबाट भेला भएर योजना बनाएको खुलेको छ।

उनीहरू विरुद्ध ठगी,सरकारी छाप दस्तखत कीर्ते,आपराधिक लाभ तथा सङ्गठित अपराध मुद्दामा जिल्ला अदालत झापाबाट म्याद थप गरेर अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ। 

कसको भूमिका के ?

मङ्गलसिंह राजवंशी घटनाका एक अभियुक्त हुन्। उनले बलराम बिक र लीलाधर राजवंशीसँगै सुरुङ्गामा आयोजित कोटीहोममा गई धर्मशालामा बसोबास गर्ने वृद्ध देवीप्रसाद पाण्डेलाई पाँच लाख रुपैयाँ दिने प्रलोभन देखाई नक्कली टुंगबहादुर बस्नेतका रूपमा खडा गराए। उनी आफू टुंगबहादुरको धर्मपुत्रको रूपमा उभिए।

नवीन कोइराला नापी कार्यालयका पूर्व कर्मचारी तथा होटेल सञ्चालक। उनको पनि यस घटनामा मुख्य भूमिका रह्यो। सुरु योजना निर्माण कार्यमा सहभागी भई टुंग बहादुर बस्नेतको नाममा रहेको जग्गा पत्ता लगाउने, धनीपूर्जा कीर्ते गर्ने र नागरिकताको विवरण इलामसम्म गई पत्ता लगाई कीर्ते गरी नागरिकता बनाउने कार्यमा ठगी गर्ने गिरोहलाई उनले सहयोग गरेको खुलेको छ।

अर्का अभियुक्त लीलाधर राजवंशी जग्गा कारोबारी। जग्गा कारोबारी भएकै कारण उनको जग्गा सम्बन्धी विषयमा धेरै ज्ञान भएको देखिएको छ। उनले नक्कली टुंगबहादुर बस्नेत खडा गर्ने क्रममा विभिन्न व्यक्तिहरूको सम्पर्क गरेको देखिन्छ। त्यस्तै, मङ्गलसिंह राजवंशीलाई ठूलो रकम फाइदा हुने प्रलोभन देखाइ धर्मपुत्रका रूपमा कार्य गर्न प्रेरित गरेको प्रहरीले जानकारी दिएको छ।

बलराम विश्वकर्मा(सुशील) लेखनाथ खनाल, प्रकाश कार्की, नवीन कोइराला, भुपदेव कटुवाल, गोविन्द बान्तवासँग मिली टुंगबहादुर बस्नेतको जग्गा हत्याउने योजना बनाएका थिए। फरार रहेका वडाध्यक्ष बलराम खरेललाई काठमाडौंसम्म लगि अधिकृत वारेशनामा बनाउने काममा उनकै मुख्य भूमिका रहेको प्रहरीले जानकारी दिएको छ। मालपोत कार्यालयबाट जग्गा पास गर्नको लागि आवश्यक हुने घर बाटो सिफारिस,तिरो तिरेको रसिद गौरादह वडा नम्बर ७ का वडाध्यक्ष बलराम खरेलसँग मिली कीर्ते गरी नक्कली कागजात बनाएका थिए।

यसरी मिलेमतोमा रञ्जु राईकै नाममा जग्गा पास भएको थियो। श्रीमान् गोविन्द बान्तवा लगायत अन्य योजनाकारहरूको सहमतिमा बस्नेतको जग्गा मङ्गलसिंह राजवंशीले पाएको अधिकृत वारेशनामा मार्फत् बेचबिखन गर्न असहज हुने देखी राईकै नाममा राजीनामा पास गराइएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell