PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

दावाको पेटभित्र ९० लाख बराबरको हेरोइन, विमानस्थलमा समातिएपछि सिटी स्क्यान गर्दा भेटियो ९३ वटा क्याप्सुल



सविन ढकाल

दावाको पेटभित्र ९० लाख बराबरको हेरोइन, विमानस्थलमा समातिएपछि सिटी स्क्यान गर्दा भेटियो ९३ वटा क्याप्सुल

काठमाडौं : प्रहरीको विशेष सूचनाका आधारमा पक्राउ परेका एक युवकको सिटी स्क्यान गर्दा ठूलो परिमाणमा क्याप्सुल आकारमा हेरोइन फेला परेको छ।

गएको चैत २६ गते त्रिभुवन विमानस्थलमा पक्राउ परेका उनी यसअघि पनि लागू औषध कारोबारका क्रममा पक्राउ परिसकेको प्रहरीले जनाएको छ। ५ वर्ष कैद सजाय भुक्तान गरिसकेका धादिङका दावा लामा फेरि उस्तै प्रकरणमा पक्राउ परेका हुन्।

४९ वर्षीय लामालाई पक्राउ गरेपछि सिटी स्क्यान गरिएको थियो। सिटी स्क्यानमा उनको पेटभित्र हेरोइन देखेपछि औषधि प्रयोग गरेर निकालिएको थियो।

उनको शरीरमा भेटिएको क्याप्सुलको संख्या ९३ रहेको नेपाल प्रहरीको लागू औषध नियन्त्रण व्युरोका प्रमुख एसएसपी दिलिप चौधरीले जानकारी दिए। उनका अनुसार जफत भएको लागू औषधको बजार मूल्य ९० लाख रुपैयाँभन्दा माथि पर्न आउँछ। कूल ९ सय ग्राम लागू औषध जफत भएको हो।

पाकिस्तानबाट दुबई हुँदै काठमाडौं उत्रिएपछि व्युरोले उनलाई विमानस्थलबाटै नियन्त्रणमा लिएको थियो। उनी काठमाडौंबाट दवई हुँदै पाकिस्तान पुगेर फर्केका थिए। उनले लागू औषध ओसार्दै गरेको सूचना व्युरोले पाएसँगै उनको प्रतीक्षा गरेर बसेको थियो।  
पक्राउ परेका दावा २०६५ सालमा पनि यस्तै प्रकरणमा पक्राउ परेको प्रहरीले जनाएको छ। 

उनीसँगै प्रहरीले लागु‍औषध कारोबार अभियोगमा अन्य दुई जनालाई समेत पक्राउ गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell