PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

ट्रंक लाइन बिलिङ समस्या समाधानका लागि रुपन्देहीका उद्योगीहरु डेलिगेसनमा



पहिलोपोस्ट

ट्रंक लाइन बिलिङ समस्या समाधानका लागि रुपन्देहीका उद्योगीहरु डेलिगेसनमा

बुटवल : रुपन्देहीको बुटवल-भैरहवा क्षेत्रमा सञ्चालनमा रहेका उद्योगहरुलाई नेपाल विद्युत प्राधिकरणले एकलौटी ढंगबाट ट्रंक लाइन बिलिङ गरेको उद्योगीहरुले गुनासो गरेका छन्। प्राधिकरणले २०७२ सालदेखिको बक्यौता बुझाउन ताकेता गरे पश्चात् उद्योगीहरु अन्यायमा परेको भन्दै रुपन्देही उद्योग संघको नेतृत्व र सम्बन्धित उद्योगीहरु विभिन्न मन्त्रालय र सम्बन्धित निकायहरुमा डेलिगेसन गएको छ।

संघले उद्योगीहरुको कुनै पनि निवेदन, माग र जानकारी बिना नै प्राधिकरणले आफ्नै कारणले भार व्यवस्थापन गर्ने क्रममा ट्रंक लाइनमा परेको भन्दै कुनै उद्योगहरुमा ४ वर्षपछि र कुनैमा २ वर्षपछि एकमुष्ट रुपमा करोडौँ रकम असुल्न पत्राचार गरेको र यस्तो गतिविधिले रुपन्देहीको औद्योगिक वातावरण खल्बलिएको भन्दै सम्बन्धित मन्त्रालय र निकायहरुको ध्यानाकर्षण गराएको हो।

संघका अध्यक्ष बाबुराम बोहोराको नेतृत्वमा गएको टोलीले अर्थमन्त्री विष्णु प्रसाद पौडेल, उर्जा जलश्रोत तथा सिँचाई मन्त्री टोप बहादुर रायमाझी, सार्वजनिक लेखा समितिका सभापति भरत कुमार शाह, नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँण, डेडिकेटेड फिडर र ट्रंक लाइन बक्यौता सम्बन्धमा अध्ययन गर्न गठित उपसमितिका संयोजक मिनेन्द्र रिजाल, विद्युत नियमन आयोगका प्रवक्ता रामप्रसाद धिताल र नेपाल विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक हरराज न्यौपानेसँग भेट गरी रुपन्देहीका उद्योगीहरुको वस्तुगत यथार्थबारे जानकारी गराएको छ।

सो क्रममा संघका अध्यक्ष बाबुराम बोहोराले विगत लामो समयदेखि साधारण लाइन जडान गरी उद्योग सञ्चालन गर्दै समयमै महसुल बुझाउनुका साथै रिबेट सुविधा समेत लिँदै आएका उद्योगहरुलाई एक्कासी एकलौटी ढंगबाट बक्यौता बुझाउन पत्राचार गरिनुले रुपन्देहीका उद्योगहरु अन्यायमा परेको बताए। न्याय दिलाउन सम्बन्धित निकायहरुसँग विगत १५ महिना अघिदेखि पटकपटक अनुरोध गर्दा समेत उद्योगीहरुको गुनासो सुनुवाई नगरिएको भन्दै उनले यस समस्यालाई गम्भिरतापूर्वक समाधान गर्न जोडदार माग गरे।

उद्योगी चन्द्रमान श्रेष्ठले रुपन्देहीका उद्योगहरुको समस्या देशका अन्य क्षेत्रका उद्योगहरुका भन्दा पृथक रहेको, ट्रंक लाइन जडानका लागि उद्योगीहरुले कुनै अनुरोध समेत नगरेको र विगतमा लामो समयसम्म चरम लोडसेडिङ सहनु परेको बताउँदै एकलौटी ढंगबाट बक्यौता उठाउन खोजिनुले उद्योगीहरु निराश बनेको बताए। देशका अन्य क्षेत्रका उद्योगीहरु र रुपन्देहीका उद्योगीहरुको प्रकृति फरक भएका कारण ट्रंक लाइन बिलिङ समस्या तत्काल समाधान गर्नु पर्नेमा उनले जोड दिए।

भेटपछि नेताहरुले रुपन्देहीका उद्योगीहरुले उठान गरेको विषय प्रति आफूहरु गम्भिर रहेको र समस्या समाधानका लागि पहल गर्ने आश्वासन प्राप्त भएको संघका महासचिव जिवकान्त काफ्लेले जानकारी दिए। डेलिगेसन टोलीमा उद्योगीहरु नवराज श्रेष्ठ, ध्रुब कुमार श्रेष्ठ, महेन्द्र श्रेष्ठ, डोलराज अधिकारी, सुमन भुसाल, विकास गोयनका, नरिश्वर पौडेल, लेखनाथ भट्टराई, चेतनारायण गौतम र भेषराज आचार्य थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell