PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

थप २४२८ जनामा कोभिड - १९ को संक्रमण, ४८ प्रतिशत काठमाडौं उपत्यकाका



पहिलोपोस्ट

थप २४२८ जनामा कोभिड - १९ को संक्रमण, ४८ प्रतिशत काठमाडौं उपत्यकाका

काठमाडौं : नेपालमा थप दुई हजार ४२८ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। 

देशभरका प्रयोगशालमा भएको १० हजार १ आरटी-पीसीआर परीक्षणका क्रममा दुई हजार ३६५ र ४४७ एन्टिजिन परीक्षणका क्रममा ६३ जना नयाँ संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ। त्यस्तै मन्त्रालयले थप ५ जना कोभिड-१९ संक्रमितको मृत्यु भएकोसमेत पुष्टि गरेको छ। 

यससँगै नेपालमा दुई लाख ९२ हजार १५२ जनामा संक्रमण पुष्टि भइसकेको छ। मृत्यु हुनेको संख्या तीन हजार ११७ पुगेको तथ्यांकमा उल्लेख छ। 

त्यस्तै, पछिल्लो २४ घण्टामा थप २५२ संक्रमित संक्रमण मुक्त भएका छन्। यससँगै नेपालमा संक्रमण मुक्त हुनेको संख्या दुई लाख ७६ हजार २४५ जना पुगेको छ। जुन कुल संक्रमितको ९४.६ प्रतिशत हो। 

४८ प्रतिशत उपत्यकाका 
यसैबिच पछिल्लो २४ घण्टामा संक्रमण पुष्टि भएका मध्ये ४८.३१ प्रतिशत काठमाडौं उपत्यकाका हुन्। काठमाडौं उपत्यकाका तीन जिल्लामा पछिल्लो २४ घण्टामा थप एक हजार १७३ जना नयाँ संक्रमित पहिचान भएका हुन्। 

जसमध्ये काठमाडौं जिल्लाका मात्र ९८७ जना हुन्। त्यस्तै ललितपुर जिल्लामा १०६ र भक्तपुर जिल्लामा ८१ जना संक्रमित पहिचान भएका हुन्। 

पछिल्लो २४ घण्टामा बाँके जिल्लामा २७७ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै, रुपन्देही जिल्लामा १२५, मोरङमा ११३ र पर्सामा ७९ जना संक्रमित पहिचान भएका छन्।

भारतबाट प्रवेश गर्ने ६३ जना संक्रमित 
यसैबिच पछिल्लो २४ घण्टामा भारतबाट नेपाल प्रवेश गर्ने ६३ जनामा संक्रमण पुष्टि भएको छ। नेपाल-भारत सीमा नाकाका ९ स्थानमा सञ्चालित हेल्थ डेस्कमा भएको ४४७ एन्टिजिन परीक्षणका क्रममा ६३ जनामा संक्रमण पुष्टि भएको हो। जसमध्ये सबैभन्दा बढी कञ्चनपुरबाट छन्। त्रिनगर हेल्थ डेस्क कञ्चनपुरमा ५१ जनामा संक्रमण पुष्टि भएको हो। त्यस्तै, पर्सास्थित इनरुवा हेल्थ डेस्कमा ६ र काकडभिट्टा हेल्थ डेस्कमा २ जनामा संक्रमण पुष्टि भएको छ। बेलहैया रुपन्देही, रानी मोरङ, गौर रौतहट र जमनाहा बाँकेमा १/१ जनामा संक्रमण पुष्टि भएको छ।  

हाल संक्रमण पुष्टि भएका मध्ये १२ हजार ६९० जना सक्रिय संक्रमित रहेका छन्। हाल काठमाडौं, ललितपुर, बाँके र रुपन्देहीमा ५०० बढी सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। 

जसमध्ये काठमाडौंमा चार हजार ४५७, ललितपुरमा ९०५, बाँकेमा एक हजार ३६१ र रुपन्देहीमा ६९७ जना रहेका छन्। हाल देश भरका ७७ वटै जिल्लामा कम्तिमा १ जना सक्रिय संक्रमित रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell