PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

एमाले हाटबजार होइन, स्पष्टीकरण हेरेर पार्टीले कारवाही गर्छ : प्रमुख सचेतक भट्टराई



पहिलोपोस्ट

एमाले हाटबजार होइन, स्पष्टीकरण हेरेर पार्टीले कारवाही गर्छ : प्रमुख सचेतक भट्टराई

काठमाडौं : नेकपा (एमाले)ले संघीय संसदका २७ जना सांसदलाई कारवाहीको तयारी गरेको छ। तयारीस्वरुप एमालेले संघीय संसदका २७ र कर्णाली प्रदेशका चार जनालाई स्पष्टीकरण सोधेको थियो।

स्पष्टीकरण सोधिएका सांसदहरुले बिहीवार नै स्पष्टिकरण बुझाएका छन्। एमालेका संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले माधव नेपाल पक्षधर सांसदहरुले बुझाएको स्पष्टीकरणलाई विश्लेषण गरेर थप कारबाही अगाडि बढाइने बताएका छन्।

बिहीबार न्यूज एजेन्सी नेपाललाई प्रतिक्रिया दिँदै प्रमुख सचेतक भट्टराईले सांसदहरुले स्पष्टीकरण बुझाउन थालेको र प्राप्त स्पष्टीकरणको विश्लेषण गरेर थप कारबाही अगाडि बढाउने बताए। केहीले संसदीय दलको कार्यालयमै उपस्थित भएर त केहीले इमेलबाट स्पष्टीकरण पत्र पठाएको उनले जानकारी दिए।

पार्टीमा समानान्तर गतिविधि गर्ने, सार्वजनिक सञ्चारमाध्यममा पार्टी नेतृत्वलाई खुइल्याउने प्रयास गर्ने र कर्णाली प्रदेशको ह्वीप उलङ्घन गर्ने काममा नेतृत्वदायी भूमिका निर्वाह गरेका कारण सांसदहरुलाई स्पष्टीकरण सोधिएको भट्टराईले दाबी गरे। ‘समानान्तर गतिविधि गर्ने गल्ती भएको छ। सार्वजनिक सञ्चार माध्यममा पार्टी नेतृत्व, सरकारलाई खुइल्याउने प्रयासहरु भएका छन्,' उनले भने, 'कर्णाली प्रदेशको ह्वीप उलङ्घनलाई निर्देशन गर्ने काम भएको छ। हाम्रो पार्टीलाई समाप्त गर्न चाहने केही व्यक्तिहरुसँग पटक पटक उहाँहरुको उठबस हुने, गोप्य बैठकहरु हुने, अध्यारा कोठाहरुमा बसेर पार्टी नेतृत्वलाई समाप्त गर्ने, पार्टी अध्यक्षको नेतृत्वको सरकारको विकल्प खोज्ने र अर्को पार्टीको नेतालाई प्रधानमन्त्री बन्दिनुस् भन्दै हिड्ने काम भएको छ।'

प्रमुख सचेतक भट्टराईले कर्णाली प्रदेशमा पार्टीलाई ह्वीपलाई उलङ्घन गर्दै अर्को राजनीतिक दलको सरकार टिकाउनु संसदीय इतिहासकै कलङ्क भएको भन्दै कर्णाली प्रदेश सभामा फ्लोर क्रस गर्ने सांसदहरुलाई पार्टीले निस्कासन गर्ने बताए।

‘कर्णाली प्रदेशका पाँच जना सदस्यहरुले हाम्रो पार्टीको स्पष्ट बहुमत हुँदाहुँदै बहुमत प्राप्त दलको सरकार गठन गर्ने कुरामा सहयोग गर्नुको बदला हामीले जारी गरेको ह्वीपको उलङ्घन गर्दै अर्को कुनै राजनीतिक दललाई सहयोग गर्ने र उसको सरकार टिकाउने जुन खालको प्रयास गर्नुभयो त्यसका लागि पार्टीले स्पष्टीकरण सोधेको छ। उहाँहरु माथि पार्टीले कारबाही गर्छ। पार्टीले निष्काशन गर्छ। यो पार्टी हाटबजार जस्तो बन्न हामी कुनै हालतमा दिदैँनौ,’ उनले भने।

पार्टीले स्पष्टीकरण सोधेसँगै माधव नेपालपक्षका सांसदहरुले स्पष्टीकरण दिने निर्णय गरेका थिए। हाल सांसदहरुले स्पष्टीकरण बुझाउन थालेका छन्। यता, पार्टीको विवाद समाधानको सम्बन्धमा बुधवार र विहीवार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र माधव नेपालले दुईपटकसम्म भेटवार्ता गरिसकेका छन्।

नेकपा एमालेको महाधिवेशन आयोजक समितिको बैठक १० गते शुक्रवार बस्दै छ। अघिल्लो बैठकले माधव समूहका नेताहरुलाई कारवाही गर्ने तयारीस्वरुप स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। भोलि शुक्रवार बस्ने बैठकले उनीहरुमाथि कारवाहीको निर्णय गर्ने स्रोतले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell