PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

कीर्तिपुरमा कीर्तिमान बनाउन चुके करण : आउने खेलमा बन्ला त 'फास्टेस्ट फिफ्टी'?



मुकुन्द घिमिरे

कीर्तिपुरमा कीर्तिमान बनाउन चुके करण : आउने खेलमा बन्ला त 'फास्टेस्ट फिफ्टी'?
Photo : CAN

एक खेल अगावै फाइनलमा स्थान सुरक्षित गरिसकेको नेपालले लिग चरणको अन्तिम खेलमा मलेसियालाई हराउँदै शीर्ष स्थानमा रहेर त्रिदेशीय टी २० सिरिजको फाइनल प्रवेश गर्‍यो।

नेपाल र मलेसियाबीचको खेलमा सबैभन्दा रोचक पक्ष थियो करण केसीको ब्याटिङ। उनले १३ बलमा ७ छक्काको सहायतामा ४५ रन बनाए। खेलको एकसमय यस्तो थियो कि उनले युवराज सिंहले टी २० मा बनाएको 'फास्टेस्ट फिफ्टी' विश्वकीर्तिमान भंग गर्ने संघारमा थिए। तर उनी त्यसमा असफल रहे।

अन्तर्राष्ट्रिय क्रिकेटमा १२ बलमा भारतीय खेलाडी युवराज सिंह सर्वाधिक छिटो ५० रन बनाएका थिए।   क्लब क्रिकेटमा भने क्रिस ग्येल र हजरातुल्लाह जाजैले १२ बलमा अर्शशतक बनाएका छन्। अन्तराष्ट्रिय क्रिकेटमा युवराजले बनाएको कीर्तिमानलाई तोड्नका लागि करणको अगाडि एक बल बाँकी थियो। तर उनले अर्धशतक बनाउन सकेनन्।

यद्यपि, आजको खेलमा नेपालको धर्माराउन थालेको ब्याटिङमा उनी आएपछि नै उकासिएको थियो। नेपालले खेलमा २०० रन पनि बनाउन कठिन होला भन्ने अनुमान भइरहेको बेला उनले नेपाललागि सर्वाधिक रन बनाए जसले गर्दा नेपालले २१८ रनको चुनौती प्रस्तुत गर्न सक्यो।

केसी आफ्नो भूमिका फिनिसरको भएकाले आज नेपालको स्कोर २०० रन भन्दा माथि लैजाने लक्ष्यका साथ मैदान उत्रिएको बताउँछन्।

'फास्टेस्ट फिस्टीको कुरा थियो। हामी त्यतिबेला २०० मा पुग्छौं पुग्दैनौ भन्नेमा थियौं। ब्याक टु ब्याक विकेट गएपछि अलि दबाबमा पनि आएका थियौं,' कप्तान ज्ञानेन्द्र मल्लले केसीको ब्याटिङ सम्झँदै भने, 'त्यसपछि करणले छक्काहरु प्रहार गर्न थालेपछि साइकोलोजिकल्ली स्ट्रङ हुँदै गयौँ।'

केसीको ब्याटिङ हेर्दै गर्दा त्यो क्षणमा कीर्तिमान बन्ला भन्ने लागेको सुनाउँछन् मल्ल।

'हामीलाई लागेको थियो फास्टेस्ट फिफ्टी पनि बन्छ र कीर्तिमान पनि बन्छ। यसपटक नभए नि अर्को पटक उसले गर्न सक्छ जस्तो लाग्छ' मल्लले भने।  

उता करण केसी भने बन्न सक्ने कीर्तिमानबारे बेखबर रहेछन्। उनी मैदान उत्रिएका थिए २०० भन्दा माथि टिमको रन बनाउने लक्ष्यका साथ।

'मेरो भूमिका भनेकै हिटिङको हो। गेमलाई फिनिसिङ गर्ने हो। तीन ओभर बाँकी थियो। एउटा बाउन्ड्री चाहीँ सुरुमा लिन्छु भन्ने थियो,' केसीले भने, 'तर त्यसपछि त कनेक्ट भइरह्यो। केही बेला यस्तो हुन्छ कि लागेको लाग्यै गर्छ नि त्यस्तै अनुभुती भइरहेको थियो।'

उनले कीर्तमान बन्दैछ भन्नेबारे भने पभेलियनतर्फबाट आफ्ना टिममेटहरुले 'अब अर्को छक्का' भन्दै कराउँदा भान पाएका रहेछन्। यद्यपि, कीर्तिमान पछि पनि बन्ला भन्नेमा केसी आशावादी सुनिए।

'जहिलेसम्म खेलिन्छ मौका त हुन्छ नै। त्यो भएको भए राम्रो हुने थियो। तर, आज मिस भयो। भविष्यमा पूरा हुन्छ कि?,' उनी भन्छन्।

कीर्तिमान बन्ने संघारमा रहँदा पूरा नभएपनि त्यसबाट आफूलाई नराम्रो नलागेको बताउँछन् उनी।

केसीको अर्को विशेषता नै उनको आक्रमक ब्याटिङ हो। फिल्डमा जम्न सके उनको आक्रामक ब्याटिङ सुरु भइ हाल्छ नत्र चाँडै आउट हुन्छन्। अर्थात कन्सिस्टेन्सीको अभाव देखिन्छ।

'मैले गर्ने भनेको हिटिङ नै हो। सँधै एकैनास त हुँदैन। जुन दिन लाग्छ त्यो दिन नेपाललाई जिताउने गरेर नै खेल्छु,' उनी भन्छन्, 'कोचले ३/४ बल लिनु भन्नु भएको थियो। हिटिङ राम्रो छ त्यसलाई प्रयोग गर भन्नु भएको थियो अस्ति चाँडौ आउट हुँदा।'

टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २१७ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको मलेसियाले १९.१ ओभरमा अलआउट हुँदै १४८ रन बनायो।

सुरुवाती ब्याटिङ गरेको नेपालका लागि आक्रामक ब्याटिङ गरेका करण केसीले सर्वाधिक ४५ रन बनाए। उनले १३ बलमा ७ छक्काको सहायतामा ४५ रन बनाए। त्यस्तै आशिफ शेखले ४२ रन बनाउँदा कप्तान ज्ञानेन्द्र मल्लले ४१ रन बनाए। त्यस्तै दीपेन्द्रसिंह ऐरीले ३३ र कुशल भुर्तेलले १६ रन बनाउँदा कुशल मल्ल १९ रनमा अभिजित रहे।

मलेसियाका लागि फित्री शाम, अनवर रहमान र सइद अजिजले समान २/२ विकेट लिँदा मुहम्मद वाफिकले १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको मलेसियाका लागि अमिनुद्धिन् राम्लीले सर्वाधिक ४१ रन बनाउँदा कप्तान अहमेद फैज ३१ रन बनाए। त्यसबाहेकका ब्याट्सम्यानहरुले ठूलो योगफल बनाउन सकेनन्। बलिङतर्फ नेपालका सन्दीप लामिछाने, कमलसिंह ऐरी र सोमपाल कामीले समान ३/३ विकेट लिँदा शुसन भारीले १ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell