वीरगंज : सशस्त्र प्रहरीको एपीएफ क्लबलाई पन्छाउँदै संकटा क्लब सिमरामा जारी ११ औँ जीतपुरसिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। एपीएफमाथि ३-१ को सहज जित निकाल्दै संकटाले उपाधि भिडन्तका लागि क्यामरुनको अफ्रिकन रुट्स एसोसिएसनसँगको भेट पक्का गरेको हो।
क्यामरुन यसअघि नै आयोजक नव जनजागृती क्लब सिमरालाई हराउँदै फाइनल प्रवेश गरिसकेको छ। खेलमा फितलो प्रदर्शन गरेको एपीएफको पोष्टमा संकटाले लगातार तीन गोल गर्यो।
संकटाको जितमा प्रकास बुढाथोकीले दुई गोल गरे। टिमका लागि अर्को एक गोल अफ्रिकी खेलाडी फोफाना फोडेले गरेका थिए। बुढाथोकीले खेलको २२ औँ मिनेटमा टिमका लागि पहिलो गोल गरे।
लगत्तै बुढाथोकीले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई २-० को अग्रता दिलाए। ३७ औँ मिनेटमा एपीएफका सन्तोष कटुवालले संकटाका सुभाष गुरुङलाई लडाएपछि पाएको फ्रिकिकको सदुपयोग गर्दै प्रकाशले गोल गरेका थिए।
पहिलो हाफमा २-० ले पछि परेको एपीएफले दोस्रो हाफमा थप एक गोल खान पुग्यो। ६१ औँ मिनेटमा संकटाका फोडे फोफानाले गोल गर्दै टिमलाई ३-० को अग्रता दिलाए।
खेलको अन्तिम समयमा एपीएफका प्रदिप लामाले सान्त्वना गोल गरे। ९० औं मिनेटमा संकटाका सुमन बिकले डि बक्सभित्र हेण्ड गर्दा पाएको पेनाल्टीमार्फत लामाले सान्त्वना गोल फर्काएका थिए।
खेलको म्यान अफ द म्याच संकटाका प्रकाश बुढाथोकी घोषित भए। जितसँगै गत चैतमा सम्पन्न आहा रारा गोल्डकपको विजेता समेत रहेको संकटाले ११ औँ जीतपुरसिमरा गोल्डकपको उपाधिका लागि शनिवार अफ्रिकन रुट्स एसोसिएसनसँग खेल्नेछ।
