PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

अपराधमा 'क्वीन काइँली' : अवैध कारोबारमा यस्तो कनेक्सन्



सविन ढकाल

अपराधमा 'क्वीन काइँली' : अवैध कारोबारमा यस्तो कनेक्सन्

काठमाडौं : ५९ वर्षीय भइन् - काइँली। धेरैले यही नामले चिन्छन् उनलाई। उनको ठेट् नाम खोज्ने हो भने धेरै भेटिन्छ। माया, फूलमाया, देवीमाया आदिआदि। नागरिकताको नाम नै हेर्ने भने पनि फरक फरक। यसैमध्येको एउटा नाम हो, गोपीमाया तामाङ।

घर कहाँ त? पहिलो नागरिकतालाई मान्ने हो भने घर धादिङ रुवी भ्याली। दोस्रो नागरिकताले देखाउँछ नुवाकोट। तर उनी धादिङकै हुन्। विभिन्न नामले चिनिने काइँली वैशाख १ गते बुढानिलकण्ठबाट प्रहरीको फन्दामा परिन्। लागूऔषध नियन्त्रण ब्युरोको टोलीले लागूऔषध कारोबारको अभियोगमा उनलाई पक्राउ गरेको हो।

काइँली नेपाल प्रहरीले मात्र खोजी गरेको सूचीमा थिइनन्। उनलाई श्रीलंका, थाइल्यान्ड, माल्दिभ्सलगायत देशका प्रहरीले खोजी गरिरहेको थियो। उनको कनेक्सन लागूऔषध कारोबार नै हो। खैरो हेरोइनको कारोबारमा नेपालको मुख्य व्यक्ति नै मानिन्छिन्। नेपाल प्रहरीले उनलाई खोजी गरेको लामो समय भएको थियो।

धादिङबाट २०५० सालमा काठमाडौं आएकी उनी ठमेलमा हस्तकलाको सामान बिक्री गर्दैगर्दा लागूऔषधी कारोबारीसँग जोडिन्। तान्जेनियका नागरिकसँग उनको सम्पर्क भयो। सन् २०१४ मा उनले तान्जेनिया नागरिकसँग बिहेसमेत गरेको खुल्न आएको छ। त्यसपछि पाकिस्तानबाट नेपाल हेरोइन पठाउन अनि सप्लाइ गर्ने धन्दामा लागिन्, काइँली।

नेपाल प्रहरीले लागूऔषधको कारोबारमा केही समयअघि तान्जेनियन नागरिकलाई समेत पक्राउ गर्‍यो। यो केसमा काइँलीको नामसमेत मुछियो। त्यसपछि उनी नेपाल छोडेर भागिन्। उनी कता पुगिन् नेपाल प्रहरीले पत्तासमेत लगाउन सकेन।

लागूऔषधी कारोबारमा पक्राउ परेकाहरुले पटकपटक काइँलीको नाम लिने गरेका थिए। तर कहाँ थिइन् भन्ने खुल्दैन थियो। पछिल्लो समय पाकिस्तान हुँदै नेपाल खैरो हेरोइन भित्रिने गरेको देखिएको छ। जसको मुख्य योजना काइँलीकै थियो। र प्रहरीको ठम्याइ रह्यो, उनी नेपालबाट भागेर पाकिस्तान पुगेकी छिन्।

'उसले आफ्नो परिचय नै फेरेर बस्ने गरेको देखियो। उसको नागरिकता नै दुईवटा छ। पासपोर्टमा पनि फरक फरक नाम,' लागूऔषध नियन्त्रण ब्युरोका एसएसपी दिलिप चौधरीले भने।

उनले पहिलो नागरिकता २०५० माघ २२ गते धादिङबाट लिएकी थिइन्। जसमा उनको जन्म मिति २०१८ छ। नाम गोपीमाया तामाङ राखिएको छ। त्यसपछि २०७० कातिक २४ गते अर्को नागरिकता लिएको देखिन्छ नुवाकोटबाट। त्यसमा जन्ममिति भने २०२२ चैत १ गते राखिएको छ। नाम देवीमाया राखिएको छ।

प्रहरीसँग काइँलीको धेरै जानकारी नहुँदा उनी प्रहरीको फन्दाबाट फुत्किरहेकी थिइन्। पाकिस्तानमा बसेर उनले नेपाल, थाइल्यान्ड, माल्दिभ्सलगायत देशहरुमा कारोबार गर्ने गरेको देखिएको छ।

'उनको कनेक्सन विभिन्न देशहरुमा देखिएको छ। धेरै विदेशी मानिसहरुसँग सम्पर्क भएको छ,' ब्युरोका एसएसपी चौधरीले भने।

उनी करिब ४ वर्ष पाकिस्तानमा नै बसेको प्रहरीलाई बयान दिएकी छिन्। त्यस्तै तान्जेनिया नागरिकसँगको वैवाहिक जीवनसमेत टुटेको बताउँछिन्। करिब ढेड वर्षदेखि भने उनी नेपालमा नै बसेर लागूऔषधको धन्दा गर्दै आएको दावी गर्छिन्।

ब्युरोको टोलीले चैत २६ गते पाकिस्तान हुँदै नेपाल भित्रिएको ९ सय ग्राम हेरोइनसहित धादिङ्का ४९ वर्षीय दावा लामा तामाङलाई नियन्त्रणमा लियो। दावाले क्याप्सुल बनाएर पेटभित्र राखेर लागूऔषध ल्याएका थिए। जुन कनेक्सन काइँलीसँग पुगेर जोडियो। परिणामस्वरुप उनै काइँली अहिले नेपाल प्रहरी नियन्त्रणमा पुगेकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell