PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

एमालेको स्थायी कमिटी : कसको 'एक्जिट' कसको 'इन्ट्री'?



पहिलोपोस्ट

एमालेको स्थायी कमिटी : कसको 'एक्जिट' कसको 'इन्ट्री'?

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (एमाले)को १० औं महाधिवेशन आयोजक कमिटीको बैठकले पार्टीको स्थायी कमिटीमा माधव नेपाल र झलनाथ खनाल समूहका नेताहरुलाई हटाई नयाँ स्थायी कमिटी गठन गरेको छ।

२२ सदस्यीय एमालेको स्थायी कमिटीलाई झारेर १९ पारिएको छ। यसरी गठन भएको स्थायी कमिटीमा पूर्व माओवादी नेताहरुलाई भने समावेश गरिएको छ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले ९ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी हेरफेर गर्दै पदाधिकारी हटाएका थिए। निर्वाचित केन्द्रीय कमिटीमा माधव नेपाल समूहको बाहुल्यता थियो।

को को परे स्थायी कमिटीमा?

यसअघि बसेको एमाले महाधिवेशन आयोजक कमिटीको बैठकले स्थायी कमिटी र पदाधिकारी टुंग्याउने जिम्मेवारी अध्यक्ष ओली र महासचिव ईश्वर पोखरेललाई दिएको थियो। सोही अनुसार आज बसेको बैठकमा स्थायी कमिटीको प्रस्ताव गरिएको हो।

कमिटीमा अध्यक्ष ओली, महासचिव पोखरेलसहित, वामदेव गौतम, रामबहादुर थापा 'बादल', विष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञवली, लेखराज भट्ट, टोपबहादुर रायमाझी, सत्यनारायण मण्डल, विष्णु रिमाल, छविलाल विश्वकर्मा, पृथ्वीसुब्बा गुरुङ, रघुवीर महासेठ, किरण गुरुङ, केशव बडाल, पुष्पराज कँडेल र मणि थापा रहेका छन्।  

यी नेतालाई हटाइयो?

बैठकले वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपालसहित ९ औं महाधिवेशनबाट निर्वाचित उपाध्यक्षहरु युवराज ज्ञवाली, अष्ठलक्ष्मी शाक्य, भीम रावल, उपमहासचिव घनश्याम भुसाल, सचिवहरु गोकर्ण बिष्ट, भीम आचार्य र योगेश भट्टराईलाई हटाइएको हो।

त्यस्तै, मुकुन्द न्यौपान, सुरेन्द्र पाण्डेलाई कमिटीबाट हटाइएको छ। यीमध्ये वरिष्ठ नेता नेपालसहित रावल, भुसाल र पाण्डेलाई एमालेले ६ महिनाका लागि पार्टी सदस्यबाटै निलम्बित गरिसकेको छ।

साथै, स्थायी कमिटीबाट 'एक्जिट' भएका अधिकांश नेताहरुलाई संसदबाट किन नहटाउने भन्दै स्पष्टीकरणसमेत सोधिएको छ।

कसको भयो 'इन्ट्री'?

एमाले स्थायी कमिटीमा पूर्व माओवादी केन्द्रबाट आएका बादल, भट्ट, थापा, रायमाझीले एकाएक स्थान पाएका छन्। त्यस्तै, यसअघि एमालेको स्थायी कमिटीमा नरहेका ओली निकटका नेताहरुलाई पनि स्थायी कमिटीमा प्रवेश गराइएको छ।

यसरी प्रवेश पाउनेमा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, रघुवीर महासेठ,  केशव बडाल, पुष्पराज कँडेल छन्। कँडेल एमालेको केन्द्रीय लेखा परीक्षण आयोगको अध्यक्ष थिए। उनी हाल राष्ट्रिय योजना आयोगका उपाध्यक्ष हुन्। बडाल केन्द्रीय सल्लाहकार परिषदका अध्यक्ष थिए। त्यस्तै, पार्टी एकीकरणपछि बनेको नेकपामा रिमाल र महासेठलाई ओलीले एमालेको तर्फबाट स्थायी कमिटीमा समवेश गराएका थिए। त्यतिबेला रघुजी पन्त, बेदुराम भुसाललाई पनि स्थायी कमिटीमा समावेश गरिएको थियो। उनीहरुलाई भने माधव पक्षीय भन्दै आउट गरिएको छ।

बैठकपछि एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले अहिले नेकपामा स्थायी कमिटी सदस्य रहेका सहित १९ जनाको स्थायी कमिटी गठन गरेको जानकारी दिए।

त्यस्तै, नेकपामा एमालेबाट चार जना आमन्त्रित स्थायी कमिटी सदस्य रहेका थिए। जसमध्ये बडाल र कँडेल स्थायी कमिटीमा प्रवेश गराइएका छन्। त्यहीँ माधव समूहमा रहेका अमृतकुमार बोहोरा, सोमनाथ प्यासी भने बाहिरिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell