PahiloPost

Apr 20, 2026 | ७ बैशाख २०८३

२५५९ जनामा कोभिड-१९ संक्रमण पुष्टि हुँदा उपत्यकाका मात्र ९४०, भारतबाट नेपाल आउने ११० जना संक्रमित



पहिलोपोस्ट

२५५९ जनामा कोभिड-१९ संक्रमण पुष्टि हुँदा उपत्यकाका मात्र ९४०, भारतबाट नेपाल आउने ११० जना संक्रमित

काठमाडौं : पछिल्लो २४ घण्टामा थप दुई हजार ५५९ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाबाट गरिएको ८ हजार ७९८ नमूनाको आरटी-पीसीआर परीक्षणका क्रममा दुई हजार ४४९ र ८६६ एन्टिजिन आरडीटी परीक्षणका क्रममा ११० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

योसँगै नेपालमा पीसीआर केस दुई लाख ९४ हजार ६०१ पुगेको छ भने एन्टिजिन केस एक हजार २८४ गरी एक लाख ९५ हजार ८४९ जना संक्रमित पहिचान भइसकेका छन्।  

त्यस्तै पछिल्लो २४ घण्टामा ४१० जना संक्रमित संक्रमण मुक्त हुँदा ५ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ। योसँगै मृत्यु हुने संक्रमितको संख्या तीन हजार १२२ पुगेको छ।

काठमाडौं उपत्यकाका ९४०

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र ९४० जना संक्रमित पहिचान भएका छन्। जसमध्ये ७६० जना काठमाडौं जिल्लाका हुन्। त्यस्तै भक्तपुरका ७४ र ललितपुरका १०६ जना रहेका छन्।

त्यस्तै बाँकेमा ३५४ जनामा संक्रमण पुष्टि हुँदा रुपन्देहीमा २२१ जना संक्रमित पहिचान भएका छन्। सुर्खेतमा ९१ र कैलालीमा ७२ जनामा संक्रमण पुष्टि भएको छ।

भारतबाट आएका ११० जनामा संक्रमण

यसैबीच मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा भारतबाट नेपाल प्रवेश गर्ने ११० जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ।

भारतबाट नेपाल प्रवेश गर्ने ८६६ जनाको सीमास्थित हेल्थ डेस्कमा गरिएको एन्टिजिन परीक्षणका क्रममा ११० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

यसरी संक्रमण पुष्टि हुनेमा सबैभन्दा बढी कञ्चनपुरमा छन्। कञ्चनुपरको त्रिनगर हेल्थ डेस्कमा भएको परीक्षणमा ६५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। त्यस्तै कञ्चनपुरकै गड्डाचौकी हेल्थ डेस्कमा भएको परीक्षणमा २२ जनामा संक्रमण पुष्टि भएको छ।

पर्साको इनरुवा हेल्थ डेस्कमा १२, बाँकेको जमुनाहा हेल्थ डेस्कमा ८ जनामा संक्रमण पुष्टि हुँदा भारतबाट सुनौली नाका हुँदै बेलहीय रुपन्देही आइपुगेका २ जनामा पनि संक्रमण पुष्टि भएको छ। त्यस्तै मोरङको रानी भन्सार नाकाबाट नेपाल प्रवेश गर्ने १ जना पनि संक्रमित पहिचान भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell