वीरगंज : वीरगंजमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ९ बस्ने वर्ष ४० का पुरुष रहेका छन्।
नारायणी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहँदा उनको शुक्रवार अपरान्ह साढे ४ बजे निधन भएको नारायणी अस्पतालका कोभिड संयोजक डा सरोजरोशन दासले जानकारी गराए। उनका अनुसार गत वैशाख ६ गतेदेखि स्वास्थ्यमा गडबडी देखिएपछि उनी नारायणी अस्पतालमा भर्ना भएका थिए।
बैशाख ८ गते उनको पीसीआर गर्दा उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसपछि एचडियू यूनिट र भेन्टिलेटरमा राखेर उपचार गर्दा पनि बचाउन नसकिएको डा दासले बताए।
योसंगै पर्साको नारायणी अस्पतलामा ७ र गण्डकस्थित नारायणी वयोधा हस्पिटलमा २ गरी कुल ९ जनाको मृत्यु भएको छ। जसमा ५ जना पर्साका, २ जना बाराका, १ जना सर्लाहीका र एक जना भारतीय नागरिक रहेका छन्।
हाल सम्म पर्सा, बारा, सर्लाहीका र भारतीय नागरिक गरी पछिल्लो ११ दिनमा १० जनाको मृत्यु मध्य तराईमा भइसकेको छ।
