PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

बन्द रंगशालामा भोलिबाट एनएसएल : खेलाडीलाई कोभिड भए के छ तयारी?



मुकुन्द घिमिरे

बन्द रंगशालामा भोलिबाट एनएसएल : खेलाडीलाई कोभिड भए के छ तयारी?

काठमाडौं: नेपाल सुपर लिग (एनएसएल) को पहिलो संस्करण भोलि (शनिबार) बाट दशरथ रंशगशालामा सुरु हुँदैछ। नेपालमा पहिलोपटक आयोजना हुन गइरहेको फ्रेन्चाइज फुटबल लिग एनएसएलको पहिलो खेलमा काठमाडौं रेजर्स र ललितपुर एफसी आमनेसामने हुनेछन्।

प्रतियोगिताको आयोजक नेपाल स्पोर्टस् एण्ड इभेन्ट म्यानेजमेन्टका सिइओ सुदीप शर्माले प्रतियोगिताको सबै तयारी सकिएको जनाए। प्रतियोगितामा सहभागी हुनै सबै घरेलु र विदेशी खेलाडी सम्बन्धित टिमको क्याम्पमा पुगिसकेको उनले जनाए। राष्ट्रिय खेलकुद परिषद्, सिसिएमसी, खेलकुद मन्त्रालय लगायतको समन्वयमा कोभिड महामारीबीच मापदण्ड पूरा गरेर प्रतियोगिता आयोजना गराउने तयारी रहेको उनले बताए। कोभिडको संक्रमण घट्दै गए सीमित संख्यामा दर्शकलाई रंगशाला प्रवेश गराउने तयारीसमेत रहेको उनले बताए। वैशाख ११ मा सुरु भएर जेठ १ मा सकिने प्रतियोगिताको टेक्निकल सहयोग एन्फाले गरेको छ।

प्रतियोगितामा विराटनगर सिटी फुटबल क्लब, बुटवल लुम्बिनी फुटबल क्लब, धनगढी फुटबल क्लब, एफसी चितवन, काठमाडौं रेजर्स र ललितपुर सिटी फुटबल क्लब गरी ७ फ्रेन्चाइज टोलीको सहभागिता रहने छ।

प्रतियोगितामा सहभागिता जनाउने सबै टिमले पनि तयारी पूरा भएको जनाएका छन्। अधिकांश टिमका प्रशिक्षक र कप्तानले तयारीका लागि छोटो समयमात्र मिलेकाले सोचेजस्तो तयारी हुन नसकेको जनाए।

विजेतालाई ३५ लाख

प्रतियोगिताको विजेताले ३५ लाख र उपविजेताले १५ लाख प्राप्त गर्नेछन्। उत्कृष्ट गोलकिपर, प्रशिक्षक, इमर्जिङ प्लेयरलगायत विभिन्न विधाबाट १ लाख रुपैयाँ प्राप्त गर्नेछन्। इमर्जिङ प्लेयरको सन्दर्भमा ए क्याटेगोरी र विदेशी खेलाडीभन्दा बाहिरका खेलाडीले हरेक खेलमा १० हजार रुपैयाँ प्राप्त गर्नेछन्। त्यस्तै प्लेयर अफ दि म्याचले २५ हजार प्राप्त गर्नेछन्।

कोभिड भए के गर्ने?

प्रतियोगिताका क्रममा खेलाडीलाई कोभिड लागे सबै टिमको कोभिड परीक्षण गराउने तयारी रहेको आयोजकले जनाएको छ। कोभिड गाइडलाइन्सबारे खेलाडीहरूलाई ब्रिफिङ गरिसकिएको र मैदान प्रवेश गर्नुअघि थम्ब स्क्रिनिङ गर्ने यदि त्यसमा तापक्रम बढी देखिए एन्टिजेन परीक्षण गरिने आयोजकले जनाएको छ। यदि एक जना खेलाडीलाई कोभिड भए सबै टिमका खेलाडीको कोभिड परीक्षण गर्ने र टिममा धेरै जना खेलाडीको कोभिड पोजेटिभ देखिए अक्सनमा 'अनसोल्ड' रहेका बी र सी क्याटेगोरीका खेलाडीसँग प्रतिस्थापन गराउने गरी व्यवस्था गरिएको आयोजकले जनाएको छ।

उद्घाटन खेलमा काठमाडौं रेजर्स र ललितपुर सिटी एफसी साँझ सवा ५ बजे भिड्दैछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell