PahiloPost

Dec 24, 2024 | ९ पुष २०८१

नेपाली फिल्म किन हुन्छन् फ्लप? राजा वीरेन्द्रसँग २८ देश पुगेका साउन्ड इन्जिनियर प्रदीपको नजरमा यस्ता छन् कारण



लक्ष्मी बलायर

नेपाली फिल्म किन हुन्छन् फ्लप? राजा वीरेन्द्रसँग २८ देश पुगेका साउन्ड इन्जिनियर प्रदीपको नजरमा यस्ता छन् कारण

भारतको अलाहवादमा एघार पास गरेर नेपाल फर्किए उनी। वीरगंजको ठाकुरराम क्याम्पसमा आएस्सी। वीरगंजमा पढ्दापढ्दै उनको झुकाव राजनीतितिर बढ्यो। त्यो पनि वामपन्थी विचारधारातिर। उनका बुवालाई छोराको यो ताल पटक्कै मन पराएनन्। छोरो बिग्रिन्छ भन्ने लागेर होला उनलाई फेरि भारत नै पठाइयो। फेरि अलाहवाद पुगेका उनी इलेक्ट्रोनिक इन्जिनियरिङमा डिप्लोमा सकाएर नेपाल फर्के।

२०३२ सालमा नेपाल फर्केका उनै प्रदीपकुमार उपाध्यायले २ वर्ष दुरसञ्चारमा काम गरे। त्यसपछि पुल्चोक इन्जिनयर कलेजमा इलेक्ट्रोनिक विषय पढाउन थाले। यही यात्राका क्रममा एउटा सूचनाले साउन्ड इन्जिनियर बन्ने यात्रा तय भयो प्रदीपको। 'पुल्चोक क्यापसबाट गाडीले आरएनएसीसम्म छोडिदिन्थ्यो,' उनी सम्झन्छन्, 'एकदिन नेपाल-भारत मैत्री लाइब्रेरी बाहिर टाँसिएको सूचना देखें। भारतीय दूतावासले साउण्ड इन्जियर पढ्ने विद्यार्थी पो मागेको रहेछ।'

इलाहवादमा इन्जिनियरिङ पढाईको अन्तिम वर्ष अवलोकन भ्रमणका क्रममा पुनेको आइटीआई (फिल्म एण्ड टेलिभिजन इन्सिच्युट अफ इण्डिया) पुगेका थिए उनी। तर, घण्टौँ कुर्दासमेत उनीहरुलाई भित्र जाने अनुमति दिइएन। त्यहीबेला देखि प्रदीपलाई उक्त कलेजमा पढ्न रुचि जागेको थियो। लाइब्रेरी बाहिर टाँसिएको सूचनाले आइटीआई पस्ने सपना ब्युँताइदियो। 'केही नसोची खुरुखुरु फारम भरें,' प्रदीपले भने।

छात्रवृतिमा पाउनेमा उनको नाम आयो। पुनेमा पढ्न जान पाउने भए। तर श्रीमती सुत्केरी हुने दिन नजिकिँदै थियो। निकै दोधारमा परे उनी। श्रीमतीलाई बुवाआमाको भरमा छोडेर उनी हिँडे साउण्ड इन्जिनियर बन्ने सपना बोकेर पुनेतिर।

पुनेमा रहेको एफटीआइ फिल्म, टेलिभिजन र गीतसंगीतको पठनपाठन हुने उत्कृष्ट ठाउँ हो। एफटीआइमा पढ्दै गर्दा प्रदीपले बाल्यकालमा सुन्ने गरेको ग्रामो फोनलाई निकै सम्झिन्थे। उनको बुवाआमाको बिहेमा ग्रामो फोन उपहार आएको रहेछ। सानो हुँदा प्रदीपलाई भुलाउन होस् या सुताउन ग्रामो फोनबाट नै गीत बजाइन्थ्यो। अलि ठूलो हुँदा प्रदीप दशैँमा पाएको दक्षिणाले गीतका रेकर्डहरु किनेर त्यसैमा गीत सुन्थे। अहिलेसम्म उनले उक्त ग्रामो फोन सम्हालेर राखेका छन्।

'त्यही बच्चैमा कानमा भिजेको आवाजले मलाई ध्वनितिर लोभ्यायो। त्यसैले त्यो ग्रामो फोनलाई म गुरु मान्छु,' उनले भने।

म्युजिक, फिजिक्स र इन्जिनियरिङको संयोजनले साउण्ड इन्जिनियरिङ सम्भव हुने बताउँछन् उनी। साउण्ड इन्जिनियरिङमा डिप्लोमा गरेर उनी नेपाल आए। त्यतिखेर नेपालमा साउण्डतिर खासै काम भएको थिएन।

सफलताको यात्रातिर

पढाई सकेर फर्केपछि काम गर्ने ठाउँ उनले रोजे रेडियो नेपाल। जापान सरकारले अत्याधुनिक स्टुडियो बनाउने कुरा सुनेपछि मख्ख हुँदै रेडियो नेपाल पुगे। साउण्ड इन्जिनियर पढेको भएर आफूले काम पाउने कुरामा ढुक्क थिए। 'रेडियो नेपाल गएर म्यानेजरलाई भेटे। त्यहाँ साउण्ड इन्जिनियरको कुनै पद पो छैन, यता रेकर्ड गर्ने काम त पिए र पालेले नि गर्छ भनेर फर्काइदियो,' उनी सम्झन्छन्।

रेडियोमा साउण्डबिना प्रसारण सम्भव हुँदैन। आकाशमा जाने नै साउण्ड हो। रेडियो नेपालको म्यानेजरको कुराले मन खिन्न भयो उनको। यद्यपि केही दिनपछि शाही नेपाल चलचित्र संस्थानबाट उनलाई जागिरको अफर आयो। शाही नेपाल चलचित्र संस्थानबाट घरमै गाडी लिन आएको रहेछ। त्यसपछि उनको सफलताको यात्रा सुरु भयो २०३८ सालबाट।

प्रदीपले 'बदलिँदो आकाश' चलचित्रमा मुख्य सहायक निर्देशकको काम गरी चलचित्र क्षेत्रमा प्रवेश गरेका थिए। बदलिँदो आकाशको पार्श्व गीतको रेकर्ड नेपालमै गराउन सफल भए उनी। फिल्मको टाइटल बदलिँदो आकाश बोलको गीत हो। त्यसैले पहिलोपटक नेपालमा फिल्मको लागि गीत रेकर्डिङ् गर्ने क्रेडिड नै प्रदीपलाई नै जान्छ।

फिल्म 'बासुदेव' मा ध्वनी नियन्त्रक अर्थात साउण्ड इन्जिनियरको रुपमा आफूलाई स्थापित गराए। पछि दुई दर्जनभन्दा बढी फिल्ममा ध्वनी नियन्त्रकको भूमिका निभाए। यसअघि चलचित्रको गीत रेकर्ड गर्न भारत जानुपर्ने बाध्यता थियो।

नेपालमा धमाधम रेकर्डिङ् स्टुडियो खुल्न थाले। नेपालमै गीतसंगीत रेकर्ड हुन थाल्यो। नेपालमै पहिलो पटक फिल्ममा ध्वनी सम्बन्धीको काम पनि उनकै सहभागितामा भएको थियो। फिल्म 'प्रतिक्षा' मा नेपालमा पहिलोपटक रि-रेकर्डिङ (मिक्सिङ) को कामसमेत गरे। नारायण पुरीको शंकर र रगत फिल्ममा डिजिटल प्रविधीबाट रिरेर्कडिङ तथा मिक्सिङसमेत गरेका थिए उनले।

शाही नेपाली चलचित्र संस्थानमा ७ वर्षसम्म काम गरेका उनले म्युजिक नेपाल लगायतका रेकर्डिङ स्टुडियोमा समेत काम गरेका छन्।

स्वरसम्राट नारायण गोपालका धेरै गीतहरुमा पनि ध्वनीको काम गरे। चोट फिल्मको 'यो मुटुलाई' बोलको अन्तिम गीतका समेत प्रदीपले नै ध्वनीको काम गरेका थिए। नेपाल टेलिभिजन खुल्दा ध्वनीको तालिम प्रदीपले नै दिएका थिए। 'झुमा' फिल्ममा निर्देशकको काम गरेका उनी 'भाग्यरेखा' मा निर्मातासमेत रहे।

सन् १९८५ ताका उनी राजा वीरेन्द्रसँग राजकीय भ्रमणमा गएका थिए। विदेश जाँदा राजाले मिडियाका मान्छेहरु लगायत साउण्ड इन्जियरलाई आफूसँगै लग्थे। जुन भ्रमणमा प्रदीपले अस्ट्रेलिया, जापानलगायत आठ देश घुम्न पाएका थिए। भन्छन्, 'विदेशमा राजाको अन्तर्वार्ता हुँदा रेकर्ड गनुपर्थ्‍यो। जहाजमा राजाहरुको सिट अलगै हुन्थ्यो। जहाजमा फर्किँदा उहाँले इशारा गरेर बोलाउनुहुन्थ्यो। मैले बोलेको कस्तो छ एकचोटि सुनाउ भनेर भन्नुहुन्थ्यो।' शाही चलचित्र संस्थानमा छँदा आफु राजा वीरेन्द्रसँग २८ देश पुगेको सम्झिन्छन् उनी।

नेपाली फिल्म किन फ्लप?

अहिलेका धेरै रेकर्डिङ स्टुडियोहरु विना ज्ञानका खुलेको उनको भनाइ छ। सबैभन्दा ध्यान दिनु पर्ने कुरा साउण्ड भए पनि ध्यान दिने नगरेको गुनासो छ प्रदीपको। भन्छन्, 'फिल्ममा मान्छे देखिएको छ तर आवाज छैन भने खल्लो हुन्छ। दृश्य छैन श्रव्य मात्र छ भने बुझ्न सकिन्छ तर आवाज र ध्वनी बिना केहि बुझ्न सकिदैन।'

उनको नजरमा नेपाली सिनेमामा सबैभन्दा हेपिएको पाटो नै साउण्ड हो। भन्छन्, 'नेपालमा आवाजलाई खासै ध्यान दिइँदैन। निर्देशक नै दक्ष छैनन्। निर्माताले अलि पैसा हालेको छ भने उस्कै इशारामा चल्छन्। नेपाली सिनेमामा नै क्वालिटी छैन। जसकारण यता राम्रा भनिएका फिल्म पनि अन्तर्राष्ट्रिय रुपमा चल्दैनन्।'

प्राविधिक पक्ष फिल्मको महत्वपूर्ण पाटो मान्ने प्रदीप साउण्डलाई निर्देशकको कान भन्न रुचाउँछन् अनि क्यामेरालाई आँखा। नेपालको फिल्ममा कथाभन्दा पनि प्राविधिक पक्ष कमजोर रहेको उनको बुझाइ छ। उनी भन्छन्, 'कथा त चारैतिर छ। फिल्ममा श्रव्यदृश्य निकै आवश्यक छ। ध्वनीले कथालाई जीवन्त बनाउँछ। तर नेपाली फिल्मको साउण्ड बेकार छ। नेपाली फिल्म राम्ररी सुन्ने र क्वालिटी खोज्ने हो भने चर्पीमा बस्या जस्तो साउण्ड आउँछ। अनि त्यस्ता फिल्म कसरी अन्तर्राष्ट्रिय क्षेत्रमा जान सक्छन् त?'

ध्वनीको क्षेत्रमा राम्रो गर्न पढेर र तालिम लिएर आउन सुझाउँछन् उनी। नेपालमा वार्षिक एक सय वटा फिल्म रिलिज गरिन्छ तर किन ४/५ ओटा मात्रै चल्छ। जसको कारण प्रविधि र प्रस्तुति गलत भएको बताउँछन् प्रदीप। केही फिल्म कमेडी भएका कारण दर्शकले रुचाएका लाग्छ उनलाई। तर ति फिल्म प्राविधिक रुपले खत्रा भएर चलेका भन्ने कुरा मान्दैनन् उनी।

उनी नेपालबाट ओस्करको साउण्डको जजमेन्टमा बसेका थिए। 'नेपालमा चलेका फिल्ममा पनि साउण्डमा निकै गल्ती भेटिन्छन्। साउण्डमा दक्ष मान्छे नआएसम्म अन्तर्राष्ट्रिय क्वालिटी आउँदैन। जसकारण नेपाल फिल्मले अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सकिरहेको छैन,' उनले सुनाए।

नेपाली फिल्म विदेशमा रिलिज हुनुलाई फिल्ममा अन्तर्राष्ट्रियकरण भएको मान्दैनन् उनी। नेपाली फिल्म बाहिर गए पनि केही नेपाली दर्शकले मात्रै हेर्ने गरेको उनले दाबी गरे। भन्छन्, 'नेपाली फिल्म भनेपछि विदेशमा रहेका नेपालीमा एक किसिमको निकटता हुन्छ। ह्या २० डलर त हो भनेर माया गरेर फिल्म हेरिदिन्छन्। विदेशमा फिल्म रिलिज गर्दैमा र अवार्ड समारोह गर्दैमा चल्यो र राम्रो भन्नु गलत हो।'

गीतसंगीतमा पनि खासै राम्रो अवस्था नरहेको बताउँछन् उनी। तर अहिले प्रविधिले सजिलो बनाए रेकर्डिङ गर्दा गायकको स्वर राम्रो बनाउन मिल्छ। तर त्यही कलाकार स्टेजमा जाँदा आवाज ध्वस्त सुनिने उनको तर्क छ। साउण्डमा गुणस्तर ल्याउन पहिले रेकर्ड सिक्नुपर्ने बताउँछन्। साउण्ड लिप्सिङ्भन्दा फरक हुँदा मृतआत्माले गरेको जस्तो देखिने उनको भनाई छ।

नयाँ पुस्तालाई ज्ञान दिन पाइयोस् भनेर उनले आफ्नै स्टुडियो खोलेका छन्। जहाँ फिल्म र गीतको रेकडिङ, साउण्ड डबिङ र मिक्सिङको कामसमेत हुन्छ। यसका साथै उनी कान्तिपुर सिटी कलेज र ओस्करमा अध्यापनसमेत गरिरहेका छन्। अडियोग्राफी सम्बन्धी अध्यायपनमा सक्रिय उनले राष्ट्रिय पुरस्कार तथा पदकबाट पनि सम्मानित भइसकेका छन्। यसवर्ष '१० ‌औं नेफ्टा अवार्ड'मा उनी 'लाइफ टाइम एचिभ्मेन्ट'बाट समेत सम्मानित भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell