PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

त्रिदेशीय सिरिजको फाइनलमा नेपाल र नेदरल्याण्ड्स भिड्दै, यस्तो छ नेपालको तयारी



पहिलोपोस्ट

त्रिदेशीय सिरिजको फाइनलमा नेपाल र नेदरल्याण्ड्स भिड्दै, यस्तो छ नेपालको तयारी

काठमाडौं : नेपाल, नेदरल्याण्ड्स र मलेसिया सम्मिलित त्रिदेशीय टी २० सिरिजको फाइनलमा आज नेपाल र नेदरल्याण्ड्स भिड्दै छन्। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा खेल सवा १ बजे खेल सुरु हुनेछ।

जारी प्रतियोगितामा नेपालले ४ खेलमा ३ जित र १ हार ब्यहोर्दै ६ अंक जोडेर शीर्षस्थानमा रहँदै फाइनल यात्रा तय गरेको थियो भने नेदरल्याण्ड्सले ४ खेलमा २ जित र १ बराबरी खेल्दै ५ अंक जोड्दै फाइनलमा स्थान सुरक्षित गरेको हो। त्यस्तै तीन खेलमा पराजय र एक खेलमा बराबरी खेलेको मलेसिया प्रतियोगिताबाट बाहिरियो।

जारी सिरिजमा नेपाल र नेदरल्याण्ड्सबीचको यो तेस्रो भेट हो। सिरिजको पहिलो खेलमा नेपालले नेपालले ९ विकेटले जित निकालेको थियो भने दोस्रो भेटमा नेदरल्याण्डसले ३ विकेटले जित निकालेको थियो।

नेपाली टोलीका कप्तान ज्ञानेन्द्र मल्ल मैदानको विकेट राम्रो भएकाले ब्याटिङमा जतिसक्दो रन बटुल्नुपर्ने अवस्था रहेको बताउँछन्।

'विकेट राम्रो छ। सबै जनाले विकेट पनि देखिसकेको छ। ग्राउण्ड पनि विकेटको अनुसारले अलि सानो लागि रहेको छ,' कप्तान मल्लले भने, 'ब्याटिङ गर्दा जतिसक्दो रन कलेक्ट गर्नुपर्छ जस्तो लाग्छ र बलिङ गर्दा डट बल र बाउन्ड्री कम खायो भने चाहीँ राम्रो हुन्छ। यसैमा फोकस गरेर अघि बढ्नुपर्ला।'

त्यस्तै खेलमा केही सुधारको आवश्यकता रहेको पनि मल्लले स्वीकारे। खास गरी फिनिसिङमा अझै कमजोरी देखिएको उनले बताए।

'ब्याक टु ब्याक विकेट गइरहेको छ त्यसलाई अलि कन्ट्रोल गर्नुपर्छ। अलिल्लो समय नेदरल्याण्ड्सँग खेल्दा पनि अन्तिम दुई ओभरमा राम्रो फिनिस गर्न सकेनौ,' मल्लले भने, 'लास्ट २/३ ओभरमा विकेट हातमा धेरै भयो भने अझ राम्रो हुन्छ। बलिङचाहिँ यो कन्डिसनमा अझ युज्ड टु हुनुपर्छ जस्तो लाग्छ।'

नेपाल र नेदरल्याण्ड्सबीचको पछिल्ला पाँच खेललाई हेर्न हो भने नेपाल अघि देखिन्छ। पछिल्लो खेलमा नेदरल्याण्ड्सले यही सिरिजमा नेपाललाई हराएको थियो भने त्रिदेशीय सिरिजकै पहिलो खेलमा नेपालले ९ विकेटको जित निकालेको थियो। यसअघि २०१९ को अक्टोबरमा ओमन पेन्टाङ्गुलर सिरिजमा नेपालले ४ विकेटको जित निकालेको थियो। त्यस्तै २०१८ मा एमसीसी टुरमा खेल नतिजाबिहीन भएको थियो। त्यस्तै २०१५ मा नेदरल्याण्ड्समा सम्पन्न खेलमा नेपालले ३ विकेटको जित निकालेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell