काठमाडौं: नेपाल सुपर लिग (एनएसएल) आजबाट सुरु हुँदैछ। नेपाल स्पोर्टस् एन्ड इभेन्ट म्यानेजमेन्टको आयोजनामा हुने नेपालको पहिलो फुटबल फ्रेन्चाइजमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा काठमाडौं रेजर्स र ललितपुर सिटी एफसी प्रतिस्पर्धामा उत्रने छन्। खेल साँझ साढे ५ बजेबाट सुरु हुने छ।
२०७५ मा एन्फा, नेपाल स्पोर्टस र इभेन्ट म्यानेजमेन्टबीच नेपाल सुपर कप आयोजनाका लागि सम्झौता भएको थियो। त्यतिबेला प्रदेशस्तरीय प्रतियोगिता आयोजना गर्ने सहमति भएको थियो। यद्यपि प्रतियोगिता हुन भने सकेको थिएन। आयोजकले त्यतिबेला दशरथ रंगशाला पुनर्निर्माण नभएको र निर्माण भएपछि कोरोना फैलिएकोले लिग आयोजना गर्न नसकिएको दाबी गरे।
यद्यपि यसपटक भने प्रदेश नभएर शहरको हिसाबले आयोजना गर्दैछन्।
प्रतियोगिताको आयोजक नेपाल स्पोर्टस् एण्ड इभेन्ट म्यानेजमेन्टका सिइओ सुदीप शर्माले प्रतियोगिताको सबै तयारी सकिएको जनाए। प्रतियोगितामा सहभागी हुनै सबै घरेलु र विदेशी खेलाडी सम्बन्धित टिमको क्याम्पमा पुगिसकेको उनले जनाए। राष्ट्रिय खेलकुद परिषद्, सिसिएमसी, खेलकुद मन्त्रालय लगायतको समन्वयमा कोभिड महामारीबीच मापदण्ड पूरा गरेर प्रतियोगिता आयोजना गराउने तयारी रहेको उनले बताए। कोभिडको संक्रमण घट्दै गए सीमित संख्यामा दर्शकलाई रंगशाला प्रवेश गराउने तयारीसमेत रहेको उनले बताए। वैशाख ११ मा सुरु भएर जेठ १ मा सकिने प्रतियोगिताको टेक्निकल सहयोग एन्फाले गरेको छ।
प्रतियोगितामा विराटनगर सिटी फुटबल क्लब, बुटवल लुम्बिनी फुटबल क्लब, धनगढी फुटबल क्लब, एफसी चितवन, काठमाडौं रेजर्स र ललितपुर सिटी फुटबल क्लब गरी ७ फ्रेन्चाइज टोलीको सहभागिता रहने छ।
कुन टिमको कस्तो तयारी?
एनएसएलमा सहभागी सबै टिमका प्रशिक्षक र कप्तानको एउटै गुनासो सुनिन्छ, तयारीका लागि पर्याप्त समय मिलेन। त्यस्तै बीचमा गोल्डकपहरु परेकाले सबै खेलाडीहरुलाई एकठाउँ ल्याएर टिम गेम गराउन कठीन भएको समस्या सबै टिमको देखिन्छ।
धनगढी एफसी
धनगढी एफसीका प्रशिक्षक हुन् युगल किशोर राई। त्यस्तै कप्तानको जिम्मेवारी नेपाली राष्ट्रिय टोलिका कप्तानसमेत रहेका किरण चेम्जोङले सम्हाल्ने छन्।
‘छोटो समयको तयारी भएको छ। हामी हाम्रो बेस्ट दिनका लागि हामी तयार छौं। हामी उपाधिकै लागि खेल्ने छौं,’ कप्तान चेम्जोङले भने, ‘टीम एकै ठाउँमा लामो समय हुन नपाएकाले कठिन त हुन्छ। तर हामी हाम्रो उत्कृष्ट दिने प्रयास गर्नेछौं।’
त्यस्तै प्रशिक्षक युगल किशोर राईले छोटो समयमा तयारी राम्रै भएको बताए। यद्यपि बीचमा गोल्डकपहरु परेकाले तयारी प्रभावित बनेको उनको भनाइ छ।
विराटनगर एफसी
विराटनगरले भारतीय लिगमा प्रशिक्षण गराइसकेका यान ल लाई प्रशिक्षकको रुपमा भित्र्याएको छ। तयारीको लागि छोटो समय मिले पनि खेलाडीहरुले राम्रो मेहेनत गरिरहेको उनले बताए।
‘पहिलो पटक नेपाल आउन पाउँदा खुशी छु। समय थोरै छ तर उनीहरुले कडा मेहेनत गरिरहेका छन्। पहिलो सिजनमै च्याम्पियन बन्ने आशा छ,’ प्रशिक्षक ल ले भने, ‘खेलाडीले आवश्यक सबै सुविधा पाइरहेका जुन लेभलमा आइलिगका खेलाडीहरुले समेत पाइरहेका छैनन्।’
त्यस्तै टिमका कप्तान रञ्जित धिमालले तयारी राम्रो भएकाले आफूहरु प्रतियोगिता जित्नकै लागि आएको बताए।
बुटवल लुम्बिनी एफसी
बुटवल लुम्बिनीका प्रशिक्षक सनोज श्रेष्ठले टिम राम्रो भएको र आफूले भित्र्याएको विदेशी खेलाडी पनि राम्रो भएको प्रतिकृया दिए। टिमका कप्तान विशाल श्रेष्ठले तयारी राम्रै भए पनि खेलाडीहरु टिममा आउन ढिला भएकोले समस्या भएको बताए।
‘टिममा राम्रो गरिरहेका छौं। राम्रै होला,’ उनले भने।
एफसी चितवन
‘पहिलो पटक हुन लाग्दा यो लेभलको प्रतियोगिताका लागि पर्याप्त समय भएन। हामी पक्कै पनि टाइटल जित्ने लक्ष्यका साथ आएका छौं,’ प्रशिक्षक मेघराज केसीले भने। उनले तयारी राम्रो भएको भन्दै विदेशी खेलाडी पनि माथिल्लो स्तरको भित्र्याएको प्रतिकृया दिए।
त्यस्तै कप्तान भरत खवासले तयारी राम्रो भए पनि टिमसँग ‘इन्भल्भ’ हुने समय कम भएको बताए। ‘हाम्रो लक्ष्य त च्याम्पियन बन्ने नै होनी,’ कप्तान खवासले भने।
काठमाडौं रेजर्स
काठमाडौं रेजर्सका प्रशिक्षक हुन् अघिल्लो महिना सम्पन्न त्रिदेशीय सिरिजमा नेपाललाई उपाधि दिलाउन सफल प्रशिक्षक बालगोपाल महर्जन। तयारीका लागि पर्याप्त समय नमिले पनि ‘जुन अवस्था थियो त्यहीबाट अघि बढेको’ उनले बताए।
त्यस्तै कप्तान विकेश कुथुले तयारी राम्रो भएको बताए। ‘हाम्रो टिम सेट नै छ। हामी त जित्ने गरी खेल्ने हो,’ उनले भने।
ललितपुर एफसी
ललितपुर एफसीका प्रशिक्षक प्रदीप हुमागाई तयारी राम्रै भएको भन्दै च्याम्पपियन बन्ने लक्ष्यका साथ उत्रने बताए। त्यस्तै कप्तान अञ्जन विष्टले पहिलो खेलको लागि तयार भएको भन्दै ट्रेनिङ राम्रो भएको बताए।
पोखरा थण्डर्स
पोखरा थण्डर्सका प्रशिक्षक हुन् राजेश शाही। प्रतियोगिताका लागि करिव २ हप्ता पोखरामा तयारी गरेको लाभदायी भएको बताउँदै एनएसएलबाट नेपालको खस्किएको फुटबल माथि आउने विश्वास ब्यक्त गरे। त्यस्तै नेपाली राष्ट्रिय टोलीको कप्तानी गरिसकेका अनिल गुरुङ पोखराको कप्तान छन्।
‘तयारी राम्रै भए पनि तयारीका लागि समय पुगेन। अझै एक डेढ महिना समय भएको भए राम्रो हुने थियो,’ उनले भने।
प्रतियोगिताको विजेताले ३५ लाख र उपविजेताले १५ लाख प्राप्त गर्नेछन्। उत्कृष्ट गोलकिपर, प्रशिक्षक, इमर्जिङ प्लेयरलगायत विभिन्न विधाबाट १ लाख रुपैयाँ प्राप्त गर्नेछन्। इमर्जिङ प्लेयरको सन्दर्भमा ए क्याटेगोरी र विदेशी खेलाडीभन्दा बाहिरका खेलाडीले हरेक खेलमा १० हजार रुपैयाँ प्राप्त गर्नेछन्। त्यस्तै प्लेयर अफ दि म्याचले २५ हजार प्राप्त गर्नेछन्।
