PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

बागमती प्रदेश प्रहरी कार्यालयको वर्ष दिन, प्रमुख सफलताको सूचीमा ६ वटा अनुसन्धान



निशा गुरुङ

बागमती प्रदेश प्रहरी कार्यालयको वर्ष दिन, प्रमुख सफलताको सूचीमा ६ वटा अनुसन्धान

हेटौंडा : बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले यस कार्यालय र यस मातहातका कार्यालयले एक वर्षको अवधिमा सम्पादन गरको कामको फेहरिस्त प्रस्तुत गरेको छ। शुक्रवार पत्रकार सम्मेलन गर्दै कार्यालका प्रमुख वसन्तकुमार लामाले वर्ष दिनको तथ्याङ्क प्रस्तुत गरेका हुन्। तथ्यङ्कमा ६ वटा प्रमुख अनुसन्धानलाई सफलताको सूचीमा राखेको छ।

यी हुन् प्रमुख अनुसन्धान

चितवनको ७४ वर्षीय बाबाहजुर थापाको हत्यामा संलग्नलाई पक्राउ गर्‍यो। असोज ७ गते थापाको हत्या भएको थियो। घटनाको ५ महिनापछि हत्यामा संलग्न भरतपुर महानगरपालिका वडा नं ९ की शोभा विक पक्राउ परिन्। उनी पुर्पक्षको लागि थुनामा छिन्।

यस अवधिमा नक्कली नोट बनाउने तथा कारोबार गर्ने गिरोह पक्राउ गरेको छ। कातिक ४ गते नारायणगढ पोखरा बसपार्क क्षेत्रमा नक्कली नोट दिई पसलबाट सामान खरिद गरी फरार रहेका व्यक्तिहरुलाई चैत ८ गते प्रहरीले पक्राउ गरेको हो। नक्कली नोट कारोबारमा संलग्न ७ जनासहित ४२ लाख ९ हजार नगद, ल्यापटप, प्रिन्टर, फोटोकपी मेसिनसहित पक्राउ गरेको हो।

त्यस्तै गोपाल गुरुङको हत्यामा संलग्न पक्राउ परेका छन्। फागुन ११ गते ४८ वर्षीय गुरूङ मृत अवस्थामा फेला परेको थियो। १३ दिनपछि घटनामा संलग्न संजय गजुरेल, बिक्रम महतो र रामबहादुर परियारलाई पक्राउ गरी पुर्पक्षको लागि कारागार पठाईएको छ।

मकवानपुरमा सुस्मिता थापा केसीको हत्यामा संलग्न चार जना हाल पुर्पक्षका लागि थुनामा छन्। २०७७ असार ३ सासुससुरा र घर परिवारका आफन्त समेतको संलग्नतामा सुस्मिताको हत्या भएको प्रहरीको दाबी छ।

त्यस्तै अजिता भुजेल हत्यामा संलग्न पक्राउलाई समेत प्रहरीको सफल अनुसान्धानमा राखेको छ। माघ ४ गते भएको भुजेल हत्यामा संलग्न ६ जनालाईपक्राउ गरेको थियो। पक्राउ गरिएका सबै पुर्पक्षमा रहेका छन्।

धादिङमा सान्नानी सार्कीको हत्यामा संलग्न पक्राउ गरेको थियो। ०७७ पुस २४ गते धादिङ धुनिवेशी नगरपालिका ४ बस्ने ७५ वर्षकी सान्नानी सार्की मृत फेला परेको घटनामा ३ महिनापछि हत्यामा संलग्न ५ जनालाई पक्राउ गरेको थियो। २ जना धरौटीमा छुटेको  र ३ जना पुर्पक्षको लागि कारागार थुनामा गएको तथ्याङ्कमा उल्लेख गरिएको छ।

बन्द हड्ताल कम

प्रदेशभर पाँच हजारभन्दा बढी प्रहरीको जनशक्ति कार्यरत छन्। कोरोनाको संक्रमणकाल भएको कारणले पनि प्रहरीमा केही चुनौतीपूर्ण कार्यसमेत आईलागेको प्रमुख लामाले बताए। यस अवधिमा तीनसय ९१ जना प्रहरीमा कोरोना संक्रमण देखियो भने एक जनाको मृत्यु भयो।

यस अवधिमा बन्द, हडताल, चक्का जामजस्ता घटना विगतका वर्षको तुलनामा कम भएको प्रहरीको तथ्याङ्ले देखाउँछ। जसमा नेपाल बन्द – दुई , आमहडताल – एक , चक्काजाम – २४, धर्ना ११, तालाबन्दी २७, बिरोध र्‍याली – तीनसय - १०, मशाल जुलुस – २८, आमसभा/कोण सभा –४७ रहेको तथ्याङमा उल्लेख छ।

एक वर्षमा कार्यालयमा चार हजार दुईसय १८ मुद्दा दर्ता भएकोमा एकहजार चारसय ३९ फर्छौट भएका छन् भने दुईहजार सातसय ७९ मुद्दा बाँकी रहेको कार्यालयको तथ्याङमा उल्लेख छ।

प्रहरी सेवा प्रवाह प्रणालीमा सुधार

गत वर्ष असार महिनाबाट कार्यालयले शुद्धीकरण अभियान संचालन गरेको थियो। प्रहरी कर्मचारीहरुको आचरण व्यवहार सुधार एवं सेवा प्रवाह प्रणालीको सुधारको प्रयास कार्यालयले गरेको थियो। शुद्धीकरण अभियानका क्रममा प्रहरी निरिक्षकदेखि प्रहरी जवानसम्म २८ जनालाई कारबाही गरिएको थियो। त्यस्तै प्रहरीले राम्रो काम गरेको फलस्वरुप तीनसय नौ जना प्रहरी पुरस्कृतसमेत भए। जसमा अन्य कारबाही विवरणमा भने चालु आर्थिक वर्ष भरिमा कुल छ सय ५१ जना प्रहरी कर्मचारीलाई पुरस्कृत गरी दुईसय तीन जनालाई कारवाही गरिएको तथ्याङ्मा उल्लेख छ।

तीन लाख ४५ हजार रुपैयाँ घुस फिर्ता

प्रहरी कर्मचारीले पालना गर्नुपर्ने आचारसंहिता कार्यादेश, २०७७ लागुसमेत गरिएको थियो। उक्त आचारसंहिताबारे प्रहरीलाई प्रशिक्षण प्रदान गरेको तथ्याङ्मा उल्लेख छ। चालु आर्थिक वर्षमा चारसय ४० पटक कार्यालय तथा मातहतबाट अनुगमन गरिएको थियो। प्रहरीलाई आर्थिक प्रलोभन पार्नेलाई कारबाही गर्ने अभियान (घुस फिर्ता) गरिएको थियो। जसमा घुस दिन खोज्ने एक हजार ८ सय ७० सवारी कार्वहीमा परेको थियो र तीन लाख ४५ हजार दुईसय ५० रुपियाँ घुस फिर्ता भएको तथ्याङमा उल्लेख छ। कार्यक्रम अन्तर्गत कारबाही गरी १९ लाख ४५ हजार रुपियाँ राजस्व संकलन गरिएको थियो।

बागमती प्रदेश प्रहरीलाई ४८ नयाँ भवन

यो अवधिमा ४८ वटा नयाँ प्रहरी भवन निर्माण भएका छन्। २१ वटा प्रहरी भवन निर्माणाधीन अवस्थामा छन्। बागमती प्रदेश कानुन मन्त्रालयअन्तर्गत भवनको निर्माणको थालनी भएको हो।

अपराध रोकथामका लागि गरिएका क्रियाकलापहरु

२०७७ साल वैशाखदेखि चैतसम्म तीन हजार १० पटक सामुदायिक गतिविधि संचालन गरी ९० हजारभन्दा बढी लाभान्वित भएको प्रहरीको दाबी छ। त्यसैगरी सचेतनामुलक विद्यालय सम्पर्क कार्यक्रम दुईसय ४६ पटक संचालन गरी १२ हजारभन्दा बढी लाभान्वित भए।  लागूऔषध विरुद्धको सचेतनामुलक सडक नाटक तथा संगित थेरापी १० जिल्लामा संचालन गरी आठ हजार लाभान्वित भएको कार्यालयको तथ्याङमा उल्लेख छ। विभिन्न किसिमका अभियानहरु संचालन लागु औषध बरामद, घरेलु मदिरा नष्ट,सेफ्टी पिन क्याम्पेन अवधारण जस्ता कार्यक्रमहरु सञ्चालनमा आएका थिए। अपराध अनुसन्धान सहायता टिम गठनसमेत यो अवधिमा भएको थियो।

अपराधको अवस्था

यो अवधिमा बागमतीमा कर्तव्य ज्यान मुद्दा ६५, आत्महत्या दुरुत्साहनमा १२, आत्महत्या एकहजार ९९, सवारी ज्यान दुईसय ४०, सवारी अंगभंग २२, संगठित अपारध एक, लागूऔषध दुईसय १४ ठगी ३८, ज्यान मार्ने उद्योग एकसय १० रहेको तथ्याङमा उल्लेख छ। त्यस्त शारीरिक सम्बन्धको कसुर छ सय ६७, जबरजस्ती करणी तीनसय सात, बाल विवाह/बहुबिवाह ८५, बोक्सीको आरोप १२, मानव वेचबिखन छ र जबरजस्ती करणी उद्योग ८९ मुद्दा दर्ता भएका थिए।

ट्राफिक व्यवस्थापनमा प्रहरी

प्रहरीले ट्राफिक व्यवस्थापनमा जनचेतना मुलक कार्यक्रम ल्याएको छ। तर पनि चेतनामुलक कार्यक्रम अनुसारको भने सवारी दुर्घटनामा कमी आउन सकेको छैन। यो एक वर्षको अवधिमा एकहजार ६७ सवारी दुर्घटना भएकोमा दूई हजार दुईसय ६७ घाईते भए भने दुईसय ६४ जनाको मृत्यु भयो। जथाभावी ओभरटेक र लेन अनुशासनको उल्लंघन गर्नले दुर्घटनामा कमी आउन नसकेको प्रहरीको भनाई छ। त्यस्तै यस अवधिमा दुई लाखभन्दा बढी सवारी कारबाहीमा परेका छन् भने त्यसबाट १९ करोड २५ लाख ६२ हजार राजश्व संकलन भएको छ।

प्रदेश प्रहरी कार्यालयमा बहुउद्देशीय भवन निर्माण समुदाय प्रहरी साझेदारीमा १ करोडभन्दा बढी लागत छुट्टिएको छ। त्यस्तै हरेक स्थानीय तहमा गुनासो एवं सुझाव संकलन पेटिका स्थापना भएको थियो। जसमा १० जिल्लाको ९८ वटा स्थानीय तहमा हाल पेटिका राखिएको छ। रातोमाटेमा डिजिटल चेक प्वाईन्ट स्थापनाको कार्य शुरुवात हुने क्रममा रहेको छ। त्यस्तै सुरक्षा संवेदनशिल रहेका २४ स्थानमा गरी ५९ वटा सिसिटिभि जडानको कार्य प्रारम्भ गर्ने भएका छन्। उक्त सिसिटभी प्रदेश कार्यालबाट मोनिटर गर्ने योजना रहेको तथ्याङमा उल्लेख गरिएको छ। अपराध अनुसन्धानमा सादा पोसाकमा खटिने प्रहरीलाई छुट्टै पोशाक वितरण, प्रहरी कर्मचारी उत्प्रेरणा अभिबृद्धिको विभिन्न गतिविधि संचालन गरिएको तथ्याङ्कमा उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell