PahiloPost

Dec 26, 2024 | ११ पुष २०८१

जीतपुरसिमरा गोल्डकप : उपाधिका लागि संकटा र एआरए भिड्दै



राधेश्याम पटेल

जीतपुरसिमरा गोल्डकप : उपाधिका लागि संकटा र एआरए भिड्दै

वीरगंज : विश्वकर्मा ११ औं जीतपुरसिमरा गोल्डकपको उपाधिका लागि संकटा क्लब र अफ्रिकन रुट्स एसोसिएसन (एआरए) भिड्दैछन्। दुई टिमबीचको फाइनल भिडन्त सिमरा रंगशालामा शनिवार हुँदै छ।

जीतपुरसिमरा गोल्डकपको आठौं संस्करणको विजेता संकटा दोस्रो पटक उपाधि जित्ने दाउमा रहँदा पहिलो पटक सहभागिता जनाएको एआरए ईतिहास रच्ने रणनीतिमा हुनेछ। एआरए पाहुना टोलीको रुपमा पहिलो पटक प्रतियोगितामा सहभागिता जनाएको हो।

यसअघिका खेलमा उत्कृष्ट प्रदर्शन गरेका दुवै टिमलाई उपाधिको दावेदारको रुपमा हेरिएको छ। एआरएले आफ्नो पहिलो खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई २-१ र आयोजक नव जनजागृति युवा क्लबलाई २-१ ले पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो। संकटाले भने क्वाटरफाइनलमा विजय युथ क्लबलाई २-१ र सेमिफाइनलमा विभागिय टिम एपीएफ क्लबलाई ३-१ ले पराजित गर्दै उपाधि होडमा आफूलाई उभ्याएको हो।

चालु सिजनमा संकटा र एआरएबीच दुई पटक भिडन्त हुँदा दुवै खेलमा संकटाले जित हासिल गरेको थियो। यसअघि चैतमा सम्पन्न आहा रारा गोल्डकपको उपाधि भिडन्तमा पनि यि दुई टिमको भेट भएको थियो। उक्त भिडन्तमा संकटाले टाईब्रेकमा एआरएलाई ४-३ ले स्तब्ध पारेको थियो।

आहा रारापछि बिराट गोल्डकप पुगेका दुवै टिम एकअर्काविरुद्ध मैदानमा उत्रिए। उक्त खेलमा पनि संकटाले १-० को जित निकाल्यो। यसअघिका दुवै भिडन्तमा जितको नतिजा निकालेको संकटा जीतपुरसिमरा गोल्डकपको फाइनलमा उच्च मनोबलसहित मैदानमा उत्रनेछ।

‘एआरए बलियो टिम हो, तर यसअघिका दुई खेलको नतिजाले हाम्रो मनोबल उच्च छ’, संकटाका कप्तान सुभाष गुरुङले भने, ‘तेस्रो भिडन्तमा पनि हामी उस्तै नतिजा निकाल्नेमा विश्वस्त छौँ।’

यसअघिका दुई खेलमा चुनौती पस्किएकाले तेस्रो भिडन्तको नजिता भने आफ्नो पक्षमा जाने एआरएका कप्तान डिए स्याल्भियोको भनाइ छ।

‘खेलमा हारजित हुन्छ, तर हामीले यसअघि उत्कृष्ट खेल पस्किएका छौँ। संकटाले सहज जित हात पारेको छैन’, स्याल्भियोले भने, ‘यो पटक जित्ने रणनीतिसहित हामी मैदानमा उत्रनेछौँ।’

फाइनलसम्मको यात्रामा दुई टिमबाट उत्कृष्ट खेल प्रदर्शन गरेका दुवै टिमका एक/एक खेलाडीले उपाधि भिडन्त गुमाउनेछन्। एआरएका ए फ्याब्रिक र संकटाका फोडे फोफना फाइनलमा देखिने छैनन्। यसअघिको दुई खेलमा दुवै खेलाडीले पहेलो कार्ड पाएकाले उनीहरुले अन्तिम खेल गुमाउने भएका हुन्।

एआरएलाई पराजित गरे संकटाको यो दोस्रो उपाधि हुनेछ। यसअघि आहारारा गोल्डकपको उपाधि संकटाले जितेको थियो। एआरएको पनि यो दोस्रो उपाधि हुनेछ। एआरएले यसअघि चितवनको विजय स्मृति गोल्डकपको उपाधि जितेको थियो।

प्रतियोगिताको उपाधि विजेताले सात लाख र उपविजेताले तीन लाख ५० हजार प्राप्त गर्नेछ। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल र विधागत उत्कृष्ट भएका खेलाडीले जनही १५ हजार नगद प्राप्त गर्ने क्लबका अध्यक्ष रामचन्द्र लामाले बताए। प्रतियोगितामा १२ टिमको सहभागिता रहेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell